Comments Add Comment

विष्णु अग्रवाल बने चेक रिपब्लिकको ‘सर्वोत्कृष्ट अवैतनिक राजदूत’

२४असार, काठमाडौं । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत तथा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई चेक रिपब्लिकको विदेश मन्त्रालयले सर्वोत्कृष्ट वाणिज्यदूत अवार्डले विभूषित गरेको छ । नेपाल र चेक रिपब्लिकबीच दुईपक्षीय सम्बन्ध तथा व्यापार–व्यवसाय विस्तारमा महत्वपर्ण भूमिका निभाएको र नेपालको भ्रमणमा रहेका चेक नागरिकलाई निःस्वार्थ सहयोग गरेको भन्दै उनलाई राजधानी प्रागमा आयोजित अवैतनिक वाणिज्यदूतहरुको बैठकमा यो सम्मान दिइएको हो ।

चेक रिपब्लिकको विदेश मामिला मन्त्रालयले विश्वभर रहेका २२५ अवैतनिक वाणिज्यदूतहरुमध्ये उनलाई सर्वोत्कृष्ट वाणिज्यदूतका रुपमा छानेको हो । चेक रिपब्लिकका उपप्रधान तथा उद्योगव्यापारमन्त्री करेल हेभलिस्कले अग्रवाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

मध्य युरोपेली देश चेक रिपब्लिक नेपाल जस्तै भूपरिवेस्टिक मुलुक हो । करिब एक करोड जनसंख्या रहेको यो मुलुक संसारको सातौं सुरक्षित र शान्त मुलुक हो । निकै चर्चित पर्यटकीय गन्तव्य चेक रिपब्लिकमा तीन ऐतिहासिक क्षेत्रहरु बोहेमिया, मोराभिया र चेक सिलेसिया रहेका छन । अहिले यो मुलुक लोकप्रिय शैक्षिक गन्तव्य समेत बनेको छ ।

नेपाल र चेक रिपब्लिकबीच सन १९९४ मा कूटनीतिक सम्बन्धको स्थापना भएको थियो । सुरुमा दुई देशबीचको सम्बन्ध निष्क्रिय रहे पनि पछिल्लो एक दशकमा दुईपक्षीय सम्बन्धले तीव्रता लिएको छ । यसबीच, चेक अर्थ तथा व्यापारमन्त्री तथा संसदीय विदेश समितिका सदस्यहरुको नेपाल भ्रमण समेत भएको छ भने नेपाल र चेक रिपब्लिकका उद्योग परिसंघबीच पनि सम्बन्ध स्थापित भइसकेको छ । यो सबैमा नेपालस्थित चेक रिपब्लिकको अवैतनिक कार्यालयले महत्वपूर्ण भूमिका खेलेको थियो ।

त्यसैगरी, २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चेक जनताले राम्रो मित्रराष्ट्रको भूमिका निभाएको थियो । विपदको समयमा चेक रिपब्लिकबाट ठूलो परिणाममा राहत तथा उद्धार सामग्री र औषधि आएको थियो । नेपालस्थित चेक रिपब्लिकको अवैतनिक कार्यालयले चेक सरकारबाट संचालित सामाजिक परियोजनाहरुको पनि सुपरिवेक्षण गर्दै आएको छ ।

नेपाल भ्रमणमा आउने चेक नागरिकले कुनैखाले समस्या सामना गर्नुपरेको अवस्थामा यसले सहजीकरण गर्दै आएको छ । साथै, दुई देशबीच सांस्कृतिक आदनप्रदान र व्यापारव्यवसाय विस्तारमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यी सबै कुरालाई मध्यनजर गरेर नेपालका लागि चेक रिपब्लिकको अवैतनिक कार्यालयलाई सर्वोत्कृष्ट अवैतनिक वाणिज्यदूत अवार्ड हस्तान्तरण गरिएको चेक रिपब्लिकको विदेश मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment