Comments Add Comment

रानीपोखरीको मन्दिर शिखर शैलीमा बनाउन लाग्यो ठेक्का

२४ असार, काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब मन्दिर पुनर्निर्माणले गति लिने प्राधिकरणले जानकारी दिएको छ ।

बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणको जिम्मा जेभीले प्राप्त गरेको हो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे । प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ रहेको छ ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनु सुखद् पक्ष रहेको बताए । यो मन्दिर प्रताप मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण हुने उनले उल्लेख गरे । उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेको बताउँदै उनले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा अघि बढ्ने जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्ऽबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए । सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समितिलगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र बगैचा पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले रानीपोखरीमा उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment