१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् ।
गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले टावर मर्मत गरिए पनि ५ दिनपछि फेरि समस्या आउँदा चार स्थानीय तहका टेलिकमका सेवाग्राहीहरू मर्कामा परेका हुन् ।
नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ।
चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले नेपाल टेलिकमको नेटवर्कमा पटक-पटक समस्या आउँदा नागरिकमा गुनासो बढेको बताइन् ।
यसैगरी सर्केगाड गाउँपालिका-१ जैर बेताल भन्ने स्थानमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सर्केगाड गाउँपालिकाका विभिन्न स्थानका स्थानीयवासीहरू सञ्चारविहीन बनेको वडा नम्बर १ का सचिव पाण्डब बुढाले गुनासो गरे ।
पटकपटक नेपाल टेलिकमको टावरमा समस्या आएपछि हुम्लाका तिन स्थानीय तह सञ्चार बिहिन बनेको बुढाले बताए ।
नेपाल टेलिकम हुम्लाकी प्रमुख रिन्जिन लामाका अनुसार मुगुको सोरुकोटमा रिले टावरमा समस्या भएको बताइन् ।
प्राविधिक टोली पुगेर मर्मतको काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4