
२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन ।
बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।
टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन क्यान्सरको कारण भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।
कार्कीले पहिलो बिहे तेजबहादुर पछाईंकी छोरीसँग र दोस्रो बिहे परीक्षित नरसिंह राणाकी छोरी आवु राणासँग गरेका थिए । हाल कार्कीसँग जेठी श्रीमतीबाट एक छोरी छिन् ।
भोजपुरको देउराली स्थायी ठेगाना भएका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । विगतमा अर्थ र जलस्रोत मन्त्री बनेका कार्की दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।
प्रतिक्रिया 4