Comments Add Comment

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको ट्वीटले नेकपामा खैलाबैला

२२ असार,काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो । यो बहसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ता छन् । केहीले रिमालको ट्वीटको समर्थन गरेका छन् भने केहीले विरोध ।

के लेखेका छन् रिमालले ?

रिमालले ‘छौंडाहरुलाई कसैले छाडेको हो कि आफैं चलमलाएका’ भन्दै आक्रामक ट्वीट गरेका छन् ।

शनिबार संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना हुनु र भोलिपल्ट विहानै रिमालको आक्रामक ट्वीट आउनुले उनको ट्वीटबारे अनेक अड्कलबाजी भइरहेको छ ।

सरकार पछिल्लो समय आफ्नै निर्णयहरुका कारण एकपछि अर्को प्रकरणमा फस्दै जाँदा पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेको बेला रिमालले छौंडा भनेर आफ्नै पार्टीभित्र संकेत गरेको धेरैको अनुमान छ ।

पछिल्लो समय भीम रावल लगायतले सार्वजनिक रुपमा सरकारका कामप्रति तीव्र असहमति जनाइरहेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि नेताहरुले भारतसामू झेकेको हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकारका कामबारहीबारे कुनै अहसमति भए पार्टी बैठकहरुमा राख्न सकिने तर बाहिर सरकारविरुद्ध अभिव्यक्ति दिनु संसदीय मर्यादा विपरित रहेको बताएका थिए । सरकारको काम कारवाही र एकपछि अर्को विवादबारे पार्टीभित्रै केही नेताले चर्को बिरोध गर्दा सरकार अप्ठ्यारोमा परेको उनको गुनासो थियो ।

तर संसदीय दलको बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै विषादी परीक्षण गर्ने निर्णय रोक्न भारतले दबाव दिनु र सरकारले त्यसअनुसार गरेको भन्दै आश्चर्य व्यक्त गरेका थिए । माधवकुमार नेपाल लगायतका नेताहरुले पनि असन्तुष्ट जनाए ।

त्यही बेला प्रधानमन्त्रीका सल्लाहकार रिमालको सांकेतिक तर कटाक्षपूर्ण ट्वीट आउनु संयोगमात्र मान्न सकिन्न ।

सत्तारुढ नेकपा पंक्तिमा पनि खैलाबैला मच्चिएको छ । स्थायी कमिटी सदस्य र सरकार सञ्चालनमा निर्णायक भूमिका खेलेका रिमालाको ट्वीटप्रति शीर्ष नेताहरुले समेत चासो देखाएका छन् ।

पार्टीभित्रैबाट प्रतिवाद

रिमालको ट्वीट भाइरल बनेपछि नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सांकेतिक कटाक्ष गर्दै अर्को ट्वीट गरे । बिष्णु रिमाल सम्झेर आफूलाई गाली आउन थालेको संकेत गर्दै उनी लेख्छन्–मेरो नाम बिष्णु रिजाल हो ।

अर्का केन्द्रीय सदस्य डा. बिजय पौडेल लेख्छन्, विष्णु सर यो अमूर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्याण्डल हो ? हो भने यस्तो नलेख्नुस् । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम है । यस्तो रिस लागेजस्तो नदेखाम् ।

रिमालको ट्वीटमा धेरै नेकपा कार्यकर्ताले प्रतिवाद गरेका छन् । विद्यार्थी नेता अशेष घिमिरे लेख्छन्–सत्ताको केन्द्रमा बस्ने एउटा महत्वपूर्ण पात्र कसरी खतरनाक बन्दै जान्छ, कसरी उसमा विनशीलता, नम्रता नष्ट हुँदै जान्छ, बडो मजासँग सिक्न सकिन्छ । तपाई आजको कालखण्डको ध्यान दिइनपुर्ने उदाहरण हो ।’

अखिलकै पूर्व नेता उषाकिरण तिम्सिना लेख्छिन्–कमरेड तपाईँ पार्टीको स्थायी कमिटी सदस्य र प्रमको सल्लाहकार पदबाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन ।

रिमालको समर्थन गर्नेहरु पनि छन् । विद्यार्थी आरसी लामिछाने लेख्छन्–छौडालाई दौडाउन लागिपर्नेहरु भित्रकै हुन पो भन्छन् हौ । तीर्थ भट्टराई लेख्छन्–विष्णु कमरेडको ट्वीटको अर्थ जसले बुझ्छ, त्यो देशप्रति र जनताप्रति उत्तरदायी रहेछ भन्ने बुझिन्छ । नबुझी बुरुक्क उफ्रिनेहरुले ओली सरकारलाई गरिएको घेराबन्दीबारे बिस्तारै थाहा पाउनेछन् र जनताको सरकारप्रतिको यो प्रहार बिरुद्ध ट्वीट ठिकै रहेछ भन्ने बुझ्नेछन् ।

रिमालको ट्वीटमा उल्लेखित छौंडा शब्द ढाडे विरोलोसँग सम्बन्धित रहेको निकटवर्तीहरु बताउछन् । कसैले छाडेको छौंडाले घर पिरोल्ने र पराइलाई फाइदा पु¥याउने गरेको उनीहरुको भनाइ छ ।

उनीहरु भन्छन्–त्यस्तो ढाडे बिरालो जसल घरको र छिमेकी दुवैतिरको दूध चोरेर खान्छ । गुप्तचरजसरी घर वरिपरि घुम्छ, घरको सदस्य देखेमा म्याउँ पनि गर्छ । तर मुसा चाहिँ छिमेकीको घरमा गएर मार्छ । त्यो छौंडाले घर परिोल्छ छिमेकीको मुसा मारेर सघाउछ ।

के भन्छन् रिमाल ?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले भने ट्वीटमा आफ्नो भावना मात्र व्यक्त भएको भन्दै कसैप्रति लक्षित नरहेको बताएका छन् । नेकपाभित्रै संकेत गरेको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा रिमालले भने, ‘कुनै व्यक्तिप्रति लक्षित होइन, कसैसँग मेल खान गएमा संयोगमात्र हुनेछ । मनको भावना व्यक्त गरेको कुरा पनि समाचार बन्छ र ? यो बिशुद्ध भावनात्मक कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment