News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका–३ स्थित लामाडाँडा पूर्व–पश्चिम राजमार्गबाट ७ किलोमिटर उत्तरको घना साल वन र स्वच्छ वातावरणका कारण पर्यटकीय गन्तव्य बन्दै गएको छ।
- दैनिक सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र उदयपुरलगायत जिल्लाबाट सयौं मानिस लामाडाँडामा घुम्न, वनभोज गर्न र परिवारसँग समय बिताउन पुग्ने गरेका छन्।
- स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह र गोलबजार नगरपालिकाले पदमार्ग, विश्रामस्थल, पिङ, पिकनिक स्पट र सरसफाइका काम अघि बढाएका छन्।
६ कात्तिक, काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–३ स्थित लामाडाँडा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
कुनै समय लामिडाँडा विमानस्थल निर्माणको महत्वाकांक्षी योजनाका कारण चर्चामा थियो । वर्षौं ओझेलमा परेको यो ठाउँमा अहिले पर्यटकहरू दिनप्रतिदिन बढ्न थालेका हुन् ।
पूर्व–पश्चिम राजमार्गबाट करिब ७ किलोमिटर उत्तरतर्फ रहेको लामाडाँडा चारैतिर फैलिएको घना साल वन, स्वच्छ वातावरण, खुला भू–भाग र प्राकृतिक शान्तिका कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
दैनिक रूपमा सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, उदयपुरलगायत जिल्लाबाट सयौं मानिस यहाँ घुम्न, वनभोज गर्न र परिवारसँग समय बिताउन पुग्ने गरेका छन्।
स्थानीयका अनुसार २०६६ देखि २०७२ सालसम्म विभिन्न मन्त्री, प्राविधिक तथा सरकारी टोलीले यहाँ विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरेका थिए । आवश्यक प्रक्रिया पनि अगाडि बढेको थियो ।
तर राजनीतिक परिवर्तन, नीति तथा प्राथमिकतामा आएको फेरबदलका कारण अन्तिम समयमा योजना कार्यान्वयन हुन सकेन । त्यसपछि लामाडाँडा लामो समयसम्म बेवास्तामा रह्यो ।

तर अहिले त्यही अधुरो सपना बोकेको भूमि पर्यटनको माध्यमबाट नयाँ भविष्य खोज्दै छ ।
करिब ३८९ हेक्टर क्षेत्रफलमा फैलिएको वनलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा गोलबजार नगरपालिकाले संयुक्त रूपमा विभिन्न पूर्वाधार निर्माण गरिरहेका छन् ।
वन क्षेत्रभित्र पदमार्ग निर्माण, विश्रामस्थल, पिङ, पिकनिक स्पट, बस्ने चौतारा, सरसफाइ तथा वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
शहरको व्यस्त जीवनबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि लामाडाँडा उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

लामाडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आनन्द पाखरिनले लामाडाँडाको विकास स्थानीय समुदायको सपना भएको बताए । उनका अनुसार वन संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई जोडेर काम गरिएकाले अहिले यसको सकारात्मक परिणाम देखिन थालेको छ ।
‘एक समय विमानस्थल बन्ने आशामा बसेका थियौं । त्यो सम्भव नभएपछि हामीले यही प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनको माध्यमबाट विकास गर्ने सोच बनायौं,’ उनले भने ।
स्थानीय युवा दीपेश मोक्तानले लामाडाँडाको विकासले स्थानीय युवामा नयाँ उत्साह थपेको बताए । उनका अनुसार पर्यटन विकाससँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि बढ्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
स्थानीय रञ्जित लामाका अनुसार, लामाडाँडाको वास्तविक सौन्दर्य प्रत्यक्ष पुगेपछि मात्र महसुस गर्न सकिन्छ । ‘यहाँको घना साल वन, खुला वातावरण, चराचुरुङ्गीको आवाज र स्वच्छ हावाले सबैलाई लोभ्याउँछ,’ उनी सुनाउँछन् ।
पर्यटक शेर्या योन्जनले पनि लामाडाँडाको प्राकृतिक सौन्दर्यले आफू निकै प्रभावित भएको बताइन् ।
गोलबजार नगरपालिकाका जिन्सी शाखा प्रमुख निरञ्जन शाक्यका अनुसार विगतमा यहाँ आउने पर्यटकले खानेकुरा र पिउने पानीसमेत बजारबाट बोकेर ल्याउनुपर्ने अवस्था थियो । अहिले भने नगरपालिका र स्थानीय समुदायको सहकार्यमा आधारभूत पूर्वाधार विस्तार हुँदै गएको छ ।






प्रतिक्रिया 4