Comments Add Comment

आजको पत्रिका : मेलम्चीका हाकिम ट्यांकर व्यवसायी

३० असार, काठमाडौं । आजका पत्रिकाहरुले पनि डुबान र बाढी पहिरोसँग सम्बन्धित समाचारलाई प्राथमिकता दिएका छन् । मृतकको संख्या ६० पुगेको, विस्थापितहरु पानीमाथि नै पाल राखेर बस्न बाध्य भएको, एउटै जिल्लामा दुई लाखसम्म पीडित भएको लगायतका समाचारहरु पत्रिकामा छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा भने अलि फरक समाचार छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल आफैं बोतल, जार र ट्यांकरबाट पानी वितरण गर्ने व्यवसायी रहेको समाचारलाई अन्नपूर्णले मुख्य समाचारको रुपमा छापेको छ । कँडेलले पत्नी अञ्जु खड्काको नाममा क्रिस्टल आक्वा सर्भिसेस प्रालिको व्यवसाय गर्दै आएको समाचारमा उल्लेख छ ।

पानीमाथि पालमा डुबान पीडित  

कान्तिपुर दैनिकले भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्र बर्सेनि जलमग्न हुने समस्या सुल्झाउन ६ महिनाअघि संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनमा भारतीय पक्षले चासो नदिँदा यो वर्ष पनि तराईका सयौं बस्ती डुबानमा परेको समाचार लेखेको छ ।

सप्तरीको हनुमाननगर ककांलिनी-७ को एक डुबान पीडित परिवार पानीमाथि नै पाल टाँगेर बसीरहेको तस्वीरसहितको समाचार कान्तिपुरमा छ । यो तस्वीरले पीडितहरुको अवस्था कतिसम्म दर्दनाक छ भन्ने अवस्थालाई देखाउँछ ।

गोरखापत्र दैनिकले बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको समाचार छापेको छ । महोत्तरी जिल्लामा मात्रै दुई लाख जना पीडित रहेको समाचार गोरखापत्रमा छ ।

राजधानी दैनिकले विपद व्यवस्थापनको नाममा पाँच वर्षको अवधिमा आईएनजीओहरुले २५ अर्ब नेपालमा खर्च गरेको तर उपलब्धि नदेखिएको समाचार छापेको छ । विपदको जोखिम घट्नुको साटो बढ्दै गएको समाचारको सार छ ।

प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेँ :  दीप बस्न्यात

नागरिक दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातले अख्तियारमा दिएको वयानको आधारलाई समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा प्रधानमन्त्री निवास विस्तार गुरुयोजना अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा पूर्वमुख्यसचिव लिलामणि पौडेलसँग पनि आयोगले इमेलमार्फत् वयान लिने समाचारमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment