Comments Add Comment

वडाध्यक्षसँगको त्यो संवाद, जसले खोल्यो १६ किलो सुनको पोल

९ साउन, काठमाडौं । असार दोस्रो साता गोरखाको धार्चे गाउँपालिकाका वडाध्यक्षलाई स्थानीय व्यवसायीको फोन आयो, ‘लुटेराले मसँग भएको पैसा लुटिदिए, मलाई कारबाही हुन्छ कि हुँदैन ?’

बिहान ६ बजे खच्चडमा सामान ढुवानी गर्ने व्यवसायी धनकमल गुरुङको यस्तो फोन सुनेर उनी एकछिन आत्तिए । संयमित हुँदै उनले जवाफ फर्काए, ‘तपाईंलाई किन कारबाही हुन्छ ? प्रहरीलाई चाहिँ खबर गरिहाल्नुस् ।’

तर, वडाध्यक्षको पूरै जवाफ सुन्न नपाउँदै गुरुङले फोन काटिहाले । वडाध्यक्षको मनमा चिसो पसिसकेको थियो । त्यसैले उनले जिल्ला प्रहरी कार्यालय, गोरखामा घटनाबारे खबर गरे ।

गुरुङका अनुसार असार ११ गते राति खच्चड लिएर धार्चे गाउँपालिकाको केन्द्र माछाखोलातर्फ झर्दै गर्दा एक समूहले उनीमाथि लुटपाट गरेको थियो ।

पैसा खोज्दा भेटियो १६ किलो सुन !

वडा कार्यालयबाट आएको सूचनाको आधारमा ११ असार राति भएको ‘डकैती’बारे प्रहरीले अनुसन्धान थाल्यो ।

वडाध्यक्षसँग कुराकानी भएको केहीबेरमै गुरुङको मोबाइल स्वीच अफ हुनुले घटना थप रहस्यमय बन्यो । किनकी, राति नै घटना भएको भए मोबाइल बन्द गर्नुपर्ने कुनै कारण थिएन ।

वडाध्यक्षले सुझाव दिए पनि धनकमलले प्रहरीलाई घटनाबारे बताएनन् । ‘यो कुराले घटनाको विषयमा शंका गर्ने ठाउँ दिएको थियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

एकतर्फी संवादपछि गायब भएका गुरुङको खोजीमा प्रहरी परिचालित भएको थियो । तर, उनी लुकीछिपी बस्दै आएका थिए ।

बुधबार दिउँसो उनी एकाएक काठमाडौंमा भेटिए । ‘अनुसन्धानका क्रममा उनी काठमाडौंमा रहेको सूचना पाएपछि हाम्रो टोली त्यहाँ पुगेको थियो’, जिल्ला प्रहरी कार्यालय, गोरखाका एक अधिकृतले सुनाए, ‘उनलाई पक्राउ गरेर सोधपुछ गर्दा पो पैसा होइन, सुन लुटिएको भन्ने खुल्यो ।’

तर, सुन कसरी लुटियो भन्ने गुरुङले खुलाउन सकेनन् । उनले दिएको बयानका अधिकांश विषय बाझिइरहेका थिए । प्रहरीले लगातार केरकार गरेपछि उनले सुन लुटिएको होइन, लुटेरा समूहबाट जोगाउन ओढारमा लुकाएको खुलाए । प्रहरीले बुधबार राति उनलाई लिएर धार्चेको जंगलमा पुग्यो, त्यहाँ ओढारभित्र उनले सुन लुकाएका रहेछन् ।

प्रहरीका अनुसार ओढारमा ढुंगामुनि भेटिएको झोलाभित्र सुनका १६ वटा बिस्कुट थिए । स्थानीयका अनुसार गोरखा सदरमुकामबाट पैदल हिँड्दा सुन भेटिएको ठाउँ पुग्न एक दिन लाग्छ ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म गाडी चल्ने सडक छ । त्यहाँबाट ३ घन्टामा सुन भेटिएको स्थानसम्म पुगिन्छ ।

सुनको मालिक को ?

सुन बरामद गरेपछि सुनको मालिकको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी ओम अधिकारी भन्छन्, ‘सुन हामी कहाँ आइपुगेको छैन तर, घटना अनुसन्धान थालिसकेका छौं ।’

पक्राउ परेका गुरुङले खच्चडमार्फत गाउँमा सामान ढुवानी गर्थें । ‘गाउँकै कोही व्यापारीको योजनामा सुन ल्याइएको हुनसक्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘पैसाको लोभमा उनी आफैंले लुटिएको नाटक गरेको देखिन्छ ।’

गत वर्ष सरकारी छानविन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको भएको रहस्य सार्वजनिक गर्दै मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित उनको समूहलाई नियन्त्रणमा लिएसँगै संगठित सुन तस्करी रोकिएको दाबी गरिएको थियो ।

गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि संगठित सुन तस्करीको जालो ध्वस्त भएको बताएका थिए ।

तर, दुई दिन नवित्दै गोरखामा ठूलो परिणाममा सुन बरामद भएको छ । यद्यपि, घटनाको अनुसन्धान जारी नै रहेकाले उक्त सुन विमानस्थल वा रसुवा नाकाबाट आएको यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment