
९ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेशीमा ओढारमा लुकाएर राखिएको १६ किलो सुन बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, गोरखाले सुनसहित चुमनुब्री गाउँपालिका हुल्चुकका व्यवसायी धनकमल गुरुङलाई पक्राउ गरेको हो ।
गोरखा प्रहरी प्रमुख उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले ढुंगामुनि लुकाएर राखिएको अवस्थामा १६ वटा सुनको विस्कुट बरामद भएको बताए । उनले भने, ‘उनले काठमाडौंतिर सुन लागेका रहेछन् ।’
प्रहरीका अनुसार खच्चडबाट सामान ओसार्ने काम समेत गर्ने गुरुङले तिब्बतबाट उक्त सुन ल्याएका थिए । ‘तिब्बतको छेकम्पारको ङुइला नाका हुँदै सुन ल्याइएको देखिएको छ’, अधिकारीले भने ।
पैसा लुटिएको सूचनाबाट सुनसम्म
प्रहरीले व्यवसायी गुरुङको साथमा भएको पैसा लुटिएको सूचना पाएपछि अनुसन्धान थालेको थियो । तर, गुरुङ गायब थिए ।
अनुसन्धानका क्रममा देखा परेका वस्तुस्थिति र तथ्यले पैसा लुटिएकोतर्फ संकेत गरेको थिएन । बुधबार काठमाडौंमा पक्राउ परेपछि मात्र गुरुङले पैसा नभइ, सुन लुटिएको दाबी गरेका थिए ।
‘तर, सोधपुछका क्रममा उनी आफैंले ओडारमा सुन लुकाएको खुल्यो’, गोरखाका प्रहरी अधिकृत भन्छन्, ‘उनैले ओडारसम्म प्रहरी टोलीलाई पुर्याएका थिए ।’
स्थानीयका अनुसार गोरखा सदरमुकामबाट सुन भेटिएको ठाउँ पुग्न एक दिन लाग्छ । धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म गाडी चल्ने सडक छ । त्यहाँबाट ३ घन्टामा सुन भेटिएको स्थानमा पुगिन्छ ।
‘ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको अवस्थामा सुन भेटिएको थियो’, एसपी अधिकारी भन्छन् । उनका अनुसार बिहीबार साँझ मात्रै सुन जिल्ला प्रहरी कार्यालयसम्म आइपुगेको थियो ।
को हुन् सुन मालिक ?
प्रहरीले सुन र गुरुङलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे पनि सुन मालिकबारे केही बोलिएको छैन । यद्यपि, स्थानीय व्यापारीको पनि यसमा संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
‘जिल्ला प्रहरी कार्यालयमा ढिलो मात्र अभियुक्त आइपुगेकाले बयान लिनै बाँकी छ’, एसपी अधिकारीले अनलाइनखबरसँग भने । प्रारम्भिक सोधपुछमा भने गुरुङले त्यो सुन काठमाडौं लान लागिएको बताएका छन् ।
प्रहरीले पैसाको लोभमा उनी आफैंले सुन लुटिएको नाटक गरेको हुनसक्ने आशंका गरेको छ ।
तस्करीको ट्रान्जिट बन्दै ङुइला नाका
गुरुङले सुन भित्र्याएको भनिएको छेकम्पारको ङुइला नाका पछिल्लो समय सुन तस्करी गर्ने ट्रान्जिट बन्दै गएको छ । गत २३ भदौमा पनि सोही नाका हुँदै अवैध रुपमा ल्याइएको १० किलो सुन बरामद भएको थियो ।
छेकम्पार नाकाबाट आरुघाट आउने क्रममा कुनै भन्सार कार्यालय पनि छैन ।
प्रतिक्रिया 4