+

कुवेत र चाइनिज ताइपेविरुद्धको खेल दशरथ रंगशालामा नहुने

२०७६ साउन  १२ गते १६:३६ २०७६ साउन १२ गते १६:३६
कुवेत र चाइनिज ताइपेविरुद्धको खेल दशरथ रंगशालामा नहुने

१२ साउन, काठमाडौं । विश्वकप फुटबलको दोस्रो राउण्डअन्तर्गत नेपालले कुवेत र चाइनिज ताइपेइसँग खेल्ने भनिएको खेल दशरथ रंगशालामा नहुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकिएको समयभित्र रंगशाला पुनर्निर्माण नसक्ने बताएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तनाव थपिएको हो ।

राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले भदौ १९ गते कुनै पनि हालतमा पुनर्निमाण नसकिने बताए । उनले भने, ‘एन्फाले भदौ १९ गतेको लागि तयार पार्नु भनेको थियो तर, अहिलेसम्म छाना हाल्ने र सिट हाल्ने काम सकिदैन । अरु काम पनि धेरै बाँकी नै छ । त्यसैले हामीले सक्दैनौं भन्यौं ।’

राखेपको जवाफले विश्वकप छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेविरुद्धको खेल तोकिएकै समयमा दशरथ रंगशालामा नहुने प्रष्ट भएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

उनले भने, ‘रशरथ रंगशालामा भित्रको काम अझै बाँकी रहेछ । निर्माण कम्पनीले भदौं १९ गतेको लागि तयारी हुदैन भनिसक्यो । त्यसकारण रंगशालामा खेल हुने देखिएन ।’

अब एन्फा विश्वकप छनोटको दुई देशविरुद्धको होम खेल कहाँ खेलाउने भन्ने अन्योलमा छ ।

एन्फा कम्प्लेक्सको खेल मैदान अन्तर्राष्ट्रिय स्तरको होइन । हलचोकस्थित एपीएफको मैदान पनि उपयुक्त छैन । त्यसैले एन्फाले सुरुमा अवे खेल खेल्ने पक्षमा छ । यो प्रस्ताव एसियन फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) समक्ष राख्ने निर्णयमा एन्फा पुगेको छ ।

एन्फाका प्रवक्ता राईले भने, ‘पहिले हामी अवे खेल खेल्ने कि भन्ने छलफलमा छौ । यो विषयमा सोमबार मंगलबार टुंगो लाग्ला ।’

एएफसी र फिफाले नमाने नेपालले आफ्नो होम म्याच तटस्थ भूमिमा खेलाउनु पर्ने हुन्छ । यो विषयमा पनि छलफल चलिरहेको प्रवक्ता राई बताउँछन् । ‘हामी अहिले होम खेल कहाँ खेलाउने भन्ने विषयमा छलफलमै छौं । नेपालगञ्ज रंगशालाको कुरा पनि आइरहेको छ । अब त्यो कति सम्भव हुन्छ हामी अध्ययन गरिहेका छौं’ उनले भने, ‘ त्यो सम्भव भएन भने हामी न्युट्रल भेन्युमै जानु पर्ने हुन्छ ।’

न्युट्रल भेन्यु भन्नाले नेपालले आफ्नो होम खेल कुनै तेस्रो देशमा गएर खेल्नु पर्ने हुन्छ । प्रवक्ता राई भन्छन्, ‘न्युट्रल भेन्युमा हुने भयो भने नेपाललाई सजिलो हुने देशमै खेलाउने छौं ।’

केहि दिनअघि मात्रै फिफाले सार्वजनिक गरेको विश्वकप छनोटको दोस्रो राउण्डमा नेपालले आफ्नो पहिलो खेल नै घरेलु मैदानमा पाएको थियो ।

होम खेल अन्तर्गत कुबेतविरुद्ध यहि भदौं १९ गते नेपालले प्रतिस्पर्धा गर्दैछ । त्यसपछि नेपालले चाइनिज ताइपेविरुद्ध होम खेल भदौ २४ गते खेल्दैछ । दुबै खेल दशरथ रंगशालामा हुन सक्दैन । तर एन्फाको प्रस्ताव फिफा र एएफसीले मानेको खण्डमा यहि मितिमा नेपालले दुबै देशसँग अवे खेल खेल्नेछ ।

नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्ने तालिका छ भने होम खेल चैत १८ गते खेल्दैछ ।

त्यस्तै, नेपालले आफ्नो अर्को खेलमा जोर्डनसँग असोज २८ गते होम खेल खेल्नेछ भने अवे खेल २०७७ को जेठ २२ गते खेल्ने कार्यतालिका रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय