+
एनपीएल २०२६ :

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

२०८३ कात्तिक  २६ गते १२:२३ २०८३ कात्तिक २६ गते १२:२३

टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही खेलाडी नै अहिले काठमाडौंबाट फर्किसकेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल तेस्रो संस्करणमा डेभिड वार्नर, आन्द्रे रसेल, मोइन अली र शकिब अल हसनसहितका स्टार विदेशी खेलाडी बीचमै फर्किएका छन्।
  • जनकपुर बोल्ट्समा मोइन अली, सेफ हसन, इफ्तिखर अहमेद र हुनैन शाह बाहिरिँदा टोलीको प्रदर्शन र सन्तुलनमा असर परेको छ।
  • विराटनगर किंग्स, पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजले पनि विदेशी खेलाडी गुमाउँदा प्रतिस्थापन र टिम कम्पोजिसन चुनौतीपूर्ण बनेको छ।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् ।

टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही खेलाडी नै अहिले काठमाडौंबाट फर्किसकेका छन् ।

कोही अन्य लिगका लागि फर्केका छन् भने कोही राष्ट्रिय टिमको ड्युटी र कोही आफ्नै व्यक्तिगत कामका लागि एनपीएल बीचमै छाडेर फर्केका हुन् ।

पहिलो पटक एनपीएल खेल्न नेपाल आएका विश्व चर्चित खेलाडी डेभिड वार्नर देखि आन्द्रे रसेलसम्म, मोइन अली देखि शकिब अल हसन जस्ता विदेशी खेलाडी बीचमै फर्किएका हुन्।

ठूला खेलाडीको अनुबन्ध र आगमनले एनपीएललाई थप प्रतिस्पर्धात्मक र चर्चित बनाउन सहयोग गरेको थियो । तर स्टार विदेशी खेलाडीले बीचमा फर्किएका छन् ।

केही विदेशी खेलाडी प्रतियोगिताको बीचमै आफ्नो टोली छाडेर फर्किएका छन् भने केही खेलाडी अनुबन्ध भए पनि नेपाल नै आएनन् । जसले गर्दा फ्रेन्चाइज टोलीहरुको टिम कम्पोजिसनमा समेत असर गरेको छ ।

जनकपुर बोल्ट्सले पछिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध एकै पटक दुई नयाँ विदेशी खेलाडी रायन बर्ल र हेरी टेक्टरलाई खेलाउँदा राम्रो प्रदर्शन हुन सकेन ।

जनकपुर बोल्ट्सबाट सबैभन्दा धेरै विदेशी खेलाडीले काठमाडौं छाडेका छन् । पाकिस्तानका इफ्तिखर अहमेद र हुनैन शाह प्रतियोगिता अघि नै नेपाल आएपनि एनओसी विवादका कारण कुनै पनि खेल खेल्न पाएनन् र सुरुमै फर्किए ।

यस्तै जनकपुरका मोइन अलीले सुरुवाती चार खेल खेलेर अबुधाबी टी१० लिग खेल्न युएई गए । उनी हुँदा जनकपुरको बलिङ ब्याटिङ सन्तुलित देखिएको थियो । तर पछि उनको स्थान लिने खेलाडी भएनन् । मोइन अलीले १०८ रन बनाए । उनले काठमान्डु विरुद्ध अविजित ५८ रन बनाएका थिए । मोइन अली अबुधाबी टी१० लिगमा अरेबियन एसेसको कप्तानको भूमिकामा छन् ।

यस्तै बंगलादेशका परवेज हुसेन इमोन पनि बंगलादेश ए टिममा अनुबन्ध हुँदा बीचमा प्रतियोगिता छाडे । यस्तै श्रीलंकन विकेटकिपर कुशल परेरा पनि बीचमै प्रतियोगिता छाडेर अबुधाबी टी१० लिग खेल्न गए ।

जनकपुरका लागि राम्रो प्रदर्शन गरिरहेका सेफ हसन पनि पछिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध खेलेनन् । बंगलादेशको राष्ट्रिय टिमबाट तीनवटै फर्म्यटमा खेलिसकेका सेफ हसनले जनकपुरको सुरुवातको ४ खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले काठमान्डु विरुद्ध पहिलो खेलमा अविजित ४० रन बनाएका थिए ।

पोखरा विरुद्ध १ रनमा आउट भएका उनले वारटनगर विरुद्ध सर्वाधिक ७१ रन बनाए । जितका लागि ३रन आवश्यक हुँदा रसेलको बलमा आउट हा जनकपुर २ रनले पराजित भएको थियो । यस्तै लुम्बिनी विरुद्ध २८ रन बनाए ।

एकै टिमका पाँच विदेशी खेलाडी परिवर्तन हुँदा त्यसको स्पष्ट असर टिमको प्रदर्शनमा पनि देखियो ।

विराटनगर किंग्सका लागि खेलेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल पनि प्रतियोगिताको बीचमै फर्किए । आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका कारण चर्चामा रहेका रसेलको बिदाइ पनि विराटनगरका लागि धक्का लाग्यो । उनले विराटनगरलाई दुई खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रसेल विराटनगरका लागि ५ खेल खेले । चार खेल मात्र खेल्ने भनिएपनि नेपाली समर्थकको माया र क्रिकेटप्रतिको लगाव देखेर उनले थप एक खेल खेल्ने निर्णय गरेका थिए । उनले कूल १५८ रन बनाए । जसमा जनकपुर विरुद्धको एक अर्धशतक समावेश थियो । यस्तै कूल ६ विकेट लिए । जनकपुर विरुद्ध नै उनले ४ विकेट लिएका थिए । रसेलकै अलराउण्ड प्रदर्शनमा जनकपुर विरुद्ध सुदूरपश्चिम विरुद्ध जित हात पारेको थियो । रसेल पनि अबुधाबी टी१० लिगमा मोइनकै टोलिमा अनुबन्ध छन् ।

विराटनगर रसेलको स्थानमा श्रीलंकन भेट्रान मिडियम पेसर अलराउण्डर इसुरु उडानालाई भित्र्याएको छ ।

यस्तै काठमान्डु गोर्खाजबाट अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नरले एनपीएल खेलेका थिए । तीन पटकको विश्वकप विजेता वार्नर एनपीएल खेल्ने सबैभन्दा ठूला खेलाडी मध्ये हुन् । काठमान्डु पहिलो खेलमा पराजित भएपनि वार्नर आगमनपछि लगातार चार खेल जितेर शीर्ष स्थानमा उक्लेको थियो । वानर्लरे एक अर्धशतकसहित १२७ रन बनाए । उनले लुम्बिनी विरुद्ध जितमा ६६ रन बनाएका थिए ।

काठमान्डुमै अनुबन्ध भएका भारतीय विकेटकिपर ब्याटर केएस भरत नेपाल नै आएनन् । उनी पनि टी१० लिग खेल्न युएई गएका थिए । उनी इमिरेट्स इगल्समा अनुबन्ध छन् । यस्तै काठमान्डुबाट सुरुवाती दुई खेल खेलेका बंगलादेशका रिपोन मोन्डोल पनि बंगलादेश ए टिममा समावेश हादा बीचमै फर्किए । उनले काठमान्डुका लागि जम्मा २ खेल खेले । जसमा जनकपुर विरुद्ध ९ रन बनाए र १ विकेट लिए । कर्णाली विरुद्ध विकेट लिन सकेनन् ।

पोखरा एभेन्जर्समा अनुबन्ध भएका बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन र पेस बलिङ अलराउण्डर मोहम्मद सैफुद्दिनले प्रतियोगिताको बीचमै साथ छाडे । दुई अनुभवी बंगलादेशी खेलाडीको बिदाइ पोखराका लागि अर्को धक्का बन्यो ।

पोखराबाट खेलेका शाकिब अल हसनले जम्मा ३ खेल खेले । बलिङमा ठीकठाक प्रदर्शन गरेका उनले ब्याटिङमा खासै राम्रो गर्न सकेनन् । ३ खेलमा ४ विकेट लिँदा जम्मा २६ रन मात्र बनाउन सके ।

मोहम्मद सैफुद्दिनले जम्मा १ खेल खेले । जनकपुर विरुद्ध १ ओभरमा १७ रन खर्चेर १ विकेट लिएका उनि ब्याटिङमा खाता नखोली आउट भए । सुरुवाती तीन खेलपछि व्यक्तिगत कारण भन्दै युएई गएका शकिब चितवन विरुद्धको चौथो खेलमा ढिला नेपाल फर्केकोले खेलमा उपलब्ध हुन सकेनन् ।

पोखराले सुरुवाती चार खेल हारेपछि टिमसँग छलफल गरेर नै उनी अबुधाबी टी१० लिग खेल्न युएई गएको पोखरा एभेन्जर्सले जनाएको थियो । शाकिब युनाइटेड टाइगर्समा अनुबन्ध छन् ।

चितवन राइनोज विदेशी खेलाडीका कारण प्रभावित हुने अर्को टोली बन्यो । चितवनले प्रतियोगिताअघि पाकिस्तानका उसामा मिर, हसन अली र मोहम्मद नवाज जस्ता खेलाडी अनुबन्ध गरेको थियो ।

तर एनओसी विवादका कारण उनीहरुले खेल्न पाएनन् । अली र नवाज नेपाल नै आएका थिएनन् । उनीहरुको स्थानमा चितवनले इंग्ल्यान्डका डाविड मलानदेखि डान मोस्ली र टम टेलरलाई अनुबन्ध गरेको थियो ।

साविक विजेता लुम्बिनी लायन्सले एनपीएलको च्याम्पियन बनाउन मद्दत गरेका दोस्रो सिजनकै तीन खेलाडीलाई निरन्तरता दिँदा स्टार खेलाडी अनुबन्ध गरेन । जसले गर्दा तेस्रो सिजनमा अनुबन्ध भएका ६ विदेशी खेलाडी कोही पनि प्रतियोगिताको बीचमै फर्किएका छैनन् । यसले लुम्बिनीका लागि टिम सन्तुलन देखि टिम कम्पोजिसनमा फाइदा पुगेको छ ।

यसैगरी कर्णाली याक्सका चर्चित पाकिस्तानी खेलाडी शाहिबजादा फरहान पनि प्रतियोगिताअघि नेपाल आइपुगेका थिए । तर एनओसी विवाद र त्यसपछि पाकिस्तानको राष्ट्रिय टिममा समावेश हुँदा उनी एक खेल पनि नखेली फर्किए ।

दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले यस पटक वेस्ट इन्डिजका स्टार खेलाडी शेरफान रुथरफोर्डलाई अनुबन्ध गरेको थियो । प्रतियोगिताअघि नै नेपाल आइपुगेपनि उनले प्रभावशाली प्रदर्शन भने गर्न सकेनन् ।

सुदूरपश्चिमका लागि सुरुवाती चार खेल खेलेका शेरफान रथरफोर्डले पनि चमत्कार गर्न सकेनन् । उनले ४ खेलमा जम्मा ३० रन बनाए । लोअर अर्डमा ब्याटिङ गरेका उनी पोखरा विरुद्ध ८ र चितवन विरुद्ध २१ रनमा अविजित रहे । दुवै खेलमा जित रह्यो । ५ ओभरमा घटाएको विराटनगर विरुद्धको खेलमा ओपनिङ रगेका उनी पहिलो बलमै आउट भए । यस्तै लुम्बिनी विरुद्ध पहिलो खेलमा पनि १ रनमा आउट भए । उनी रोएल डिजर्ट च्याम्पियन्सबाट अधुबाधी टी१० लिग खेल्न गएका हुन् ।

एनपीएल तेस्रो संस्करणले आईसीसीको आधिकारिक मान्यता पाउँदा यस पटक विदेशी खेलाडीहरु अनुबन्ध गर्नका लागि सहज अवस्था थियो । एनपीएलका खेलले पनि लिस्ट ए टी२० मान्यता पाएकोले खेलाडीहरुको कीर्तिमान पनि गणना भएको छ ।

आन्द्रे रसेल र रवि बोपारा जस्ता स्टार खेलाडीले एनपीएलकै खेलपछि टी-२० मा दश हजार रन पनि पूरा गरे । कतिपय विदेशी खेलाडीका लागि पनि एनपीएल आफ्नो प्रदर्शन देखाउने राम्रो माध्यम बन्यो ।

तर स्टार विदेशी खेलाडीहरुले बीचमै प्रतियोगिता छाड्दा दर्शक र टिमका लागि केही खल्लो महसुस भएको छ ।

यस्तै विदेशी खेलाडीको उपलब्धता फ्रेन्चाइज टोलीहरूका लागि चुनौतीपूर्ण देखिएको छ । ठूला खेलाडीले बीचमै प्रतियोगिता छाड्दा उस्तै खेलाडी रिप्लेसमेन्ट नपाइने र केही खेलाडी अकस्मात बीचमै टिम छाड्दा यसले टिमको कम्पोजिसन देखि प्रदर्शनमा समेत असर गर्नेछ ।

जसले गर्दा स्टार खेलाडी अनुबन्ध गरेर मात्र नहुने र पूरा प्रतियोगिताभर उनीहरूको उपलब्धता सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण देखिएको छ ।

आगामी संस्करणमा विदेशी खेलाडी अनुबन्ध गर्दा उनीहरुको उपलब्धता र प्रतियोगिताभरको प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ ।

एनपीएल २०२६ एनपीएलमा विदेशी खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय