
५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो ।
अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । तर, उनको संलग्नता देखिने आधार नभेटिएपछि साधारण तारेखमा छाडिएको छ ।
खनालको घरबाट बरामद दुई थान हतियार र ५० राउण्ड गोलीको विषयमा भने प्रहरीले वैज्ञानिक छानविन थालेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले हतियारको फरेन्सिक जाँचका लागि सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको बताए ।
‘हामीले ब्यालेस्टिक जाँचका लागि पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘ल्याबले रिपोर्ट दिएपछि मात्रै थप विषय खुल्ला ।’
प्रहरीसँग बयानका क्रममा खनालले आफ्नो हतियारबाट गोली चलेको अस्वीकार गरेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानले दूर्घटनावश गोली चलेको हुनसक्ने देखाएको प्रहरीले जनाएको थियो । तर, गोली भेटिएको कोठामा शर्माकी छोरी अध्ययरत् भएकाले घटनापछि कुनै कारण थियो कि भन्नेतर्फ पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रयोगशालाको रिपोर्ट आएपछि गोली कोठामा आएको दिशाबारे पनि खुल्नेछ । त्यसको आधारमा पनि अनुसन्धानको दायरालाई साँघुरो बनाउन सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4