+
+

हुवाजिन सिमेन्टको नयाँ जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषद् लगिँदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ साउन ३२ गते ९:३७

३२ साउन, काठमाडौं । गाउँपालिकासँग भाडामा लिएको जग्गा सम्झौता खारेज भएपछि हुवाजिन सिमेन्टले सो जग्गा भाडामा लिन नयाँ प्रक्रिया अगाडि बढाएको छ । यसका लागि उसले बेनिघाट रोराङ गाउँपालिकामा निवेदन हालेको स्रोतले बतायो ।

बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तिमा रहेको १८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिन हुवाजिनले निवेदन गरेको हो । आवश्यकताअनुसार भाडा समयअवधि बढाउन सकिने गरी हुवाजिनले जग्गा मागेको छ ।

हुवाजिनको निवेदनपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जमिनको भाडादर समेत तोकेर सिफारिस गरेको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए । कृषि प्रयोजनको लागि अयोग्य रहेको मालपोत कार्यालय धादिङमा श्रेस्ता कायम जग्गा भाडामा दिन केन्द्र सरकारले निर्णय गर्ने गरी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको उनले जानकारी दिए ।

सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ (संशोधन २०७३) बमोजिम गाउँपालिकाले जग्गा भाडा सिफारिस गरेको जनाएको छ । गाउँपालिकाको सिफारिसअनुसार प्रतिरोपनी ४ लाख ८ हजार २८ रुपैयाँ ५ पैसा वार्षिक भाडामा उद्योगले जमिन पाउनेछ । गाउँपालिकाले गरेको सिफारिसमा वार्षिक रुपमा भाडा रकम ५ प्रतिशतले वृद्धि गर्न सुझाव दिइएको छ ।

गाउँपालिकाको सिफारिसका आधारमा उद्योगले माग गरेबमोजिम जमिन भाडा प्रयोजनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागलाई सिफारिस गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । यसअघि गाउँपालिकाले भाडामा दिन गरेको निर्णय कानुनतः खारेज भएपछि नयाँ सिफारिस गरिएको उनको भनाइ छ ।

उद्योगका लागि जग्गा भाडामा दिन धादिङबाट भएको सिफारिसबमोजिम फाइल आएको तर केही अधुरो भएकाले मन्त्रिपरिषदमा पेश हुन नसकेको भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले जानकारी दिए । ‘सबै प्रक्रिया पुगेपछि फाइल मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेश हुन्छ, आवश्यक थप डकुमेन्ट मागेका छौं,’ गौतमले भने ।

गत साउन २६ गते संसदको सार्वजनिक लेखा समितिले ह्वासिन सिमेन्ट नारायणी प्रालीलाई २०० रोपनी जग्गा भाडामा दिन बेनिघाट रोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । गाउँपालिकाले सो जग्गा सिमेन्ट कम्पनीलाई ५० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगमा १४ अर्ब ४० करोड चिनियाँ लगानी छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?