
१ भदौ, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन आइतबारदेखि सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नामावली दर्ता गरेर जिल्लामा परिचयपत्र संकलनको सुरुवात गरिएको हो ।
परिचयपत्र विवरण दर्ता गर्न नागरिकता, बसाइसराइ गरेको भए बसाइसराइको सक्कल कागजपत्र चाहिने राष्ट्रिय परिचयपत्र संकलक कम्प्युटर अपरेटर केशव बरालले बताए ।
संकलित विवरण केन्द्रमा संकलन भएर परिचय पत्र बनेर आउन २ देखि ३ महिना लाग्ने अपरेटर बरालले बताए । जिल्ला सदरमुकाम तम्घासमा ३ जना अपरेटरबाट काम सुरु गरिएको छ ।
नागरिकलाई सेवा सुविधा दिन र अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्लामा प्रशासन कार्यालयबाट सुरु गरिएको यो सेवा स्थानीय तहसम्म लगिने उनले बताए ।
परिचयपत्र दर्ता संकलन गर्न गुल्मी पुगेका मन्त्री ज्ञवालीले संविधान र संघीयताको सफल कार्यान्वयन गरेकाले आर्थिक बृद्धिमा पनि सुधार हुने बताए ।
कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधारजस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया 4