Comments Add Comment

एनआरएनए स्विट्जरल्याण्डको पीडा : पदमा बस्देउन !

बार्सिलोना। सधैँ चुनावी रौनक, रस्साकस्सी र खिचातानीले टुंगिने एनआरएनए स्विट्जरल्याण्डको अधिबेशन यसपटक अपत्यारिलो ढंगले टुंगिएको छ। छैटौं अधिबेशनको निर्वाचन प्रक्रियामा ४ जनाको मात्र उम्मेदवारी दर्ता भए। धेरै पदहरु भने खाली नै खाली ।

उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ तर आईसीसी सदस्यसहित नयाँ कार्यसमितिमा ४ जना मात्रै  छन्। संघले अधिबेशनमा यस्तै पीडा भोग्यो, ‘लौ न सदस्य भए नि पदमा बस्देउ न !’

अन्तत: सर्बपक्षीय छलफलबाट भएपनि शिवकुमार सुब्बाको अध्यक्षतामा (२०१९-२०२१) का लागि नयाँ कार्यसमिति चयन भएको छ। तर, अझै पनि सचिव पद ,सह-कोषाध्यक्ष पद र सदस्यहरुको संख्या अपूर्ण नै छ।

उम्मेदवारी दर्ता प्रकृयामा अध्यक्षमा सुब्बासहित आईसीसी सदस्यमा भुमिराज गुरुङ उपाध्यक्ष पदका लागि सन्तोष राई र महासचिव पदका लागि कुलप्रसाद शिवाकोटी (कृष्ण) को मात्र उम्मेदवारी परेको थियो।  तर, छलफल र अनुरोधपछि उपाध्यक्षमा शुभ एल्मर लामा कोषाध्यक्षमा प्रमोद भट्ट, युवा संयोजकमा श्रवण केसी र  महिला संयोजक सम्झना थापा कार्यसमितिमा काम गर्न तयार भए। कार्यसमिति सदस्यमा अमिना श्रेष्ठ र बादल वज्राचार्य मात्र छन्। अन्य सदस्यहरु खोज्न बाँकी नै छ।

यसअघिका अधिबेशनहरुमा दुई प्यानल नै बनेर नछाडमछाड नै हुन्थ्यो। बिभिन्न पदहरुमा चुनाबी प्रक्रियाबाट निर्बाचित भएका दृष्टान्तहरु थिए। तर, यसपटक सर्बसम्मत कार्यसमिति त परको कुरा पूर्ण कार्यसमितिका बन्नका लागि उम्मेदवारी समेत परेन। कतिपयले एनआरएनप्रतिको आकर्षण घटेको आकलन समेत गरेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनले ज्ञान सीप हस्तान्तरण गर्ने भन्दै गत बर्ष मात्रै काठमाडौं विज्ञ सम्मेलन गरेको थियो । बिभिन्न क्षेत्रमा गरी स्विट्जरल्याण्डमा मात्रै २४ जना नेपाली बिज्ञ तथा बैज्ञानिकहरुको टोली छ। उनीहरुको सहभागिता देखिएन। यति धेरै विज्ञहरु रहेको मुलुकमा एनआरएन प्रति आकर्षण घट्नुलाई युरोपका गैर आवासीय अभियन्ताहरुले बेलैमा सोच्न जरुरी देखिएको छ।

एनआरएनसँग मिलेर आर्थिक कुटनीतिको क्षेत्रको काम गर्छौ- राजदूत भट्टराई 

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले एनआरएनसँग मिलेर राजदूतावासले आर्थिक कुटनीतिको क्षत्रमा काम गर्ने बताएका छन्। संघको ११ औ सभा तथा छैटौं अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राजदूत भट्टराईले यस्तो बताएका हुन्। दूतावासले संचालन गरेको आर्थिक कुटनीतिको कार्यक्रममा एनआरएनए स्विट्जरल्याण्डको सहकार्य र साझेदारी महत्वपूर्ण रहेको उनले बताए।

‘सम्बृद्व नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने दिशातर्फ नेपाल सरकार केन्द्रित छ। यसका लागि पनि दूतावास र एनआरएनसँगै मिलेर हातेमालो गर्नेछौ।’ राजदूत भट्टराईले भने।

स्वीस राष्ट्रिय प्रसारण केन्द्रबाट भिजिट नेपाल २०२० को प्रचार सामाग्रीहरुलाई प्रसारण गर्न पाए प्रभावकारी हुने भन्दै राजदूत भट्टराई त्यसतर्फ नयाँ कार्यसमितिको ध्यान केन्द्रित गरे। यसका लागि दूतावासले पनि आफ्नो तर्फबाट सोचीरहेको बारे नेपाली समुदायलाई उनले स्पष्ट पारे।

राजदूत भट्टराईले परराष्ट्र मन्त्रालयले ब्रेन ग्रेन सेन्टरको स्थापना गरेको बारे आँफूले बताउदै आएको भन्दै त्यसमा आवद्व हुनको लागि पुन:आह्ववान गरे। ‘हामीले डेटावेश तयार गर्न सकेमा तपाईँहरुको योग्यता अनुसार मुलुकको हितमा परिचालन गर्न सहयोग पुग्ने छ,’ उनले भने।

कार्यक्रममा निर्वाचन पर्यवेक्षका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बनिन्। उनले एनआरएनएले निर्माण गरेको लाप्रक नमूना बस्तीको बारे जानकारी दिदै त्यसलाई पर्यटकीय गन्तब्य बनाउन सक्ने बारे योजना प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment