
१७ भदौ, पोखरा । पोखरा महानगरपालिलकाको स्वामित्वमा रहेको सिर्जनाचोकस्थित ३ तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएकोे छ । ५ वर्षका लागि भाडामा लिएको उक्त कम्पनीले गत वर्षदेखि भाडा दिएको छैन ।
भाडा नतिरेपछि महानगरपालिकाले उक्त कम्पनीको १ करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरिसकेको छ । बैंक ग्यारेन्टी जफत गरे पनि कम्पनीले भदौ महिनासम्मको ९४ लाख रुपैयाँ बुझाउन बाँकी रहेको कर अधिकृत शिवहरि शर्माले जानकारी दिए । ‘बैंक ग्यारेन्टी महानगरले जफत गरिसकेको छ । अझै कम्पनीले ठूलै रकम तिर्न बाँकी छ,’ उनले भने, ‘समयमै भाडा नतिरेपछि थप १० प्रतिशत जरिवाना पनि लाग्छ ।’
पटक पटक पत्राचार गरेर सूचना पठाउँदा पनि उक्त कम्पनीले अटेरी गरेको छ । ‘महानगर कडा रुपमा नगएकाले पनि कम्पनीले भाडा तिर्न आनाकानी गरेको हुन सक्छ’ कर अधिकृत शर्माले भने ।
भाडा नतिर्ने कम्पनीलाई नै ठेक्का
जस्ट इन टाइमले पोखरा महानगरको सरसफाइ, घाट सञ्चालन, बाटो निर्माण लगायत ठेक्का लिँदै आएको छ । महाननगरको भवन भाडामा लिएवापत लाखौं रुपैयाँ तिर्न बाँकी हुँदा पनि महानगरले जस्ट इन टाइमलाई कारबाही गर्नुको साटो टेन्डर प्रक्रियामा सहभागी गराइरहेको छ ।
केही समयअघिमात्रै ठेकेदार कम्पनीले पोखरा महानगरको घाट सञ्चालनको टेन्डर पारेको छ । शर्मा स्वीकार्छन्, ‘महानगरलाई तिर्नुपर्ने दायित्व पूरा नगरेपछि टेन्डर प्रक्रियामा सहभागी नगराउनुपर्ने हो । तर, यहाँबाट कारबाही वा कडा ताकेता भइराखेको छैन ।’
महानगरका विभिन्न आयोजनाको ठेक्काको बिल भुक्तानीबाट भाडा रकम कट्टा गर्ने तयारी भइरहेको अधिकृत शर्माले जानकारी दिए । ‘कम्पनीको महानगरसँगको लेनदेन धेरै क्षेत्रमा छ । महानगरबाट बिल भुक्तानी हुँदा प्रत्येक बिलबाट २५ प्रतिशत काटेरमात्रै भुक्तानी गरिरहेका छौं,’ उनले भने ।
तर बिलको २२५ प्रतिशत काट्दा पनि भाडा रकम असुल हुन कठिन भएको राजश्व शाखा प्रमुख छविलाल शर्माले बताए । अधिकृत शर्माले जस्ट इन टाइमले भाडा नतिरेको विषयबारे राजश्व परामर्श समितिमा पठाउने तयारी भइरहेको जानकारी दिए । ‘
९ महिनाको तिर्दिनँ, बाँकी तिर्छु : बस्नेत
ठेकदार कम्पनी जस्ट इन टाइमले ९ महिनासम्मको भाडा छुट गरिदिएमात्रै भाडा तिर्ने अडान राख्दै आएको छ । सम्झौता भएको भवन महानगरले ९ महिनापछिमात्रै हस्तान्तरण गरेकाले त्यस अवधिको भाडा छुट पाउनुपर्ने कम्पनीको तर्क छ ।
‘छुटका लागि महानगरमा पटक पटक निवेदन दिएको छु । घरै ९ महिनापछि पाएँ । त्यसले मलाई लाखौं नोक्सानी भएको छ,’ जस्ट इन टाइमका सुरेन्द्र बस्नेतले भने, ‘छुट मागलाई कुनै पनि प्रक्रियामा लगेका छैनन् । यसमा महानगरको पनि गल्ती छ ।’
‘सम्झौतामा तला थप्ने, रुख काँटछाँट गर्ने थियो । तर महानगरले सम्झौता पूरा गरेको छैन,’ बस्नेतले भने, ‘त्यसमाथि सम्झौता भएको ९ महिनापछि बल्ल हस्तान्तरण गर्यो ।’ भवनमा बिजुलीदेखि प्लम्बिङसम्म सबै आफैं गर्नुपरेको उनको गुनासो छ । उनले बिजुली पनि महानगरले लामो समयपछिमात्रै जोडिदिएको दाबी गरे ।
प्रतिक्रिया 4