Comments Add Comment

रकम अभावले गोकर्णेश्वर मन्दिरको छाना फेर्न ढिलाइ

१८ भदौ, काठमाडौं ।  कला र वास्तुकलाको भण्डार मानिने काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरको छानामा स्वर्ण लेपन लगाउने काम रकम अभावले ढिलाइ हुने भएको छ ।

बजेट अभाव भएपछि मन्दिरको तेस्रो तलाको छानामा स्वर्ण लेपनको काम ढिलाइ भइरहेको गोकर्णेश्वर सर्वाङ्ग समितिले जनाएको छ ।

मन्दिरको पहिलो तलामा यसअघि नै स्वर्णलेपन लगाइ सकिएको छ । दुई वटा तलामा झिँगटी हटाएर स्वर्ण लेपनको काम थालिएको हो । दोस्रो तलामा लेपन लगाउने काम सकिए पनि तेस्रो तलामा स्वर्ण लेपन लगाउन बाँकी छ ।

मन्दिर जीर्ण बन्दै जाँदा पानी चुहिएर काठ कुहिन थालेकाले छाना छाउन तामाको पातामा सुनको जलप लगाउन थालिएको समितिका सदस्य एवं मन्दिरका पुजारी जगदिश चन्द्र भट्टले बताए ।
‘मन्दिरको तेस्रो तलामा सुनको जलप लगाउन रकम अभाव भएको छ,’ उनले भने, ‘रकम अभाव भएपनि धेरथोर काम भइरहेको छ ।’

प्यागोडा शैलीमा बनेको यो मन्दिरमा अहिलेसम्म २ किलो ५ सय ग्राम सुन खर्च भइसकेको छ । लिछिविकालमा बनेको यो मन्दिरको छाना छाउन ६ किलो सुन लाग्ने अनुमान गरिको छ । यसअघि मन्दिरको छाना झिँगटीको थियो ।

५ महिनाअघि छानाको पुरानो टायल हटाउन सुरु गरिएको उक्त मन्दिरमा छाना छाउनको लागि ५ करोड रुपैयाँ खर्च भइसकेको भट्टले बताए ।

मन्दिरका लागि पुरातत्व विभागले १ करोड र गोकर्णेश्वर नगरपालिकालले १ करोड रकम विनियोजन गरेको छ । मन्दिरको छानामा स्र्वण लेपनका लागि १६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले मन्दिरमा छाना लगाउने काम अधुरो भए नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताए ।

‘यस आर्थिक वर्षमा मन्दिर परिसरभित्र बगैँचा लगायतका काम गर्न ३ करोड रकम नगरपालिकाले विनियोजन गरेको छ,’ उनले भने, ‘आवश्यक परे त्यो रकम पनि मन्दिरको छानाको लागि प्रयोग गर्न सकिन्छ ।’

मन्दिर धरासयी बन्दै गएपछि समितिले सप्ताह सञ्चालन गरेर ४ करोड रकम संकलन गरेको छ । मन्दिरको छाना लगाउन आवश्यक रकम जुटेमा अबको ४ महिनाभित्रमा काम सम्पन हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment