Comments Add Comment

सुरक्षाको कारण देखाउँदै श्रीलंकाको क्रिकेट टोली पाकिस्तान जान अस्वीकार

Photo Credit : AFP

२४ भदौ, काठमाडौं । सुरक्षाको कारण देखाउँदै श्रीलंका क्रिकेट टिमका १० खेलाडीहरु पाकिस्तान जान इन्कार गरेका छन् ।

तीन वन-डे र तीन टी-२० खेलका लागि श्रीलंकाको टोली २७ सेप्टेम्बरमा पाकिस्तान जाने भनिएको थियो । श्रीलंकाले पाकिस्तानसँग दुई टेस्ट म्याच पनि खेल्ने भनिएको थियो । यद्यपि त्यसको मिति र स्थान सार्वजनिक भइसकेको थिएन । तर श्रीलंकाको टी-२० टिमका कप्तान लासिथ मालिंगा र वन-डे टिमका कप्तान डिमुथ करुणारत्ने सहितको टोलीका सदस्यले पाकिस्तान जान इन्कार गरेका हुन् ।

श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान जाने कि नजाने भन्ने विषयमा आफ्ना खेलाडीहरुसँग छलफल आयोजना गरेको थियो । उक्त विषयमा निर्णय गर्न स्वयं खेलाडीहरुलाई नै भनिएको थियो । त्यसपछि पाकिस्तान भ्रमणमा जाने टोलीका कप्तान थिसरा परेरासहितका १० खेलाडीहरुले पाकिस्तान नजाने निर्णय लिएको श्रीलंका क्रिकेट बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

श्रीलंकाका खेलमन्त्री हरिन फर्नान्डोले पाकिस्तानमा टेष्ट म्याच नखेल्ने बरु त्यसको सट्टा यूएईमा गएर खेल्न सकिने बताएका छन् । यूएईमा पाकिस्तानले धेरै टेस्ट म्याच खलिसकेको छ ।

सन् २००९ मा श्रीलंकाका खेलाडीहरुमाथि पाकिस्तानमा आक्रमण भएको थियो । त्यसपछि एक पटकमात्र श्रीलंकाको टोली पाकिस्तान गएको छ । सन् २००९ मा एक टेस्ट म्याचका लागि पाकिस्तान आएको श्रीलंकाको टोली सवार बसमा लाहोरमा आतंकवादी आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment