+
+
Shares

कांग्रेस सांसद कँडेल भन्छन् : छोरीलाई समानता खोज्न नसिकाऔं, परिवार विघटन हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १७:०१

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सा‌ंसद देवेन्द्रराज कँडेलले छोरीलाई अधिकार खोज्न सिकाए परिवार विघटन हुने विवादास्पद अभिव्यक्ति दिएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले छोरी  बुहारीलाई कस्तो व्यवहार  गर्ने भन्ने कुरा सम्बन्धित परिवारमा भर पर्ने बताएका हुन् ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनले भने ‘चेलीबेटीलाई विवाह गरेर पठाएपछि उसलाई सम्झाएर आफ्नो सासुससुरालाई यसोयसो यो गर्नु, त्यहाँ जाने वित्तिकै आफ्नो समानताको हक खोज्नु, यदि तिमीले भुजा पकाउछौं भने श्रीमानलाई भाडा माझ्न लगाउनु, या सहकार्य गर्नु र पहिले आफ्नो हक/हिस्सा माग्नु भनेर समानताको कुरा सिकायो भने मलाई लाग्छ त्यो परिवार सुखमा रहन्न । सबै विघटन हुन्छ ।’

सां‌सद कँडेलले अगाडि थपे  ‘बुहारीलाई कसरी राख्ने भन्ने कुरा त्यो परिवारको शिक्षा दीक्षा र परम्पराको कुरा हो । यसलाई कानुनले बाँधेर बाँध्न सकिन्न । त्यो परम्परा र संस्कारलाई कानुनले डोर्‍याउने कुरा नगरौं ।’

समिति बैठकमा नेपाली महिला विवाह गरेर भारतमा गए नागरिकताका लागि ७ बर्ष कुर्नुपर्ने तर, विदेशी महिला विवाह गरेर नेपाल आउँदा तत्कालै नागरिकता दिने कि नदिने ? भन्ने विषयमा बहस केन्द्रित थियो ।

त्यस क्रममा उनले हालको व्यवस्था नै उचित रहेको तर्क गरे । समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव र नेकपाकै सांसद बृजेशकुमार गुप्ताले पनि कँडेलको भनाइलाई समर्थन गरे । तर, महिला सांसदहरुले समान अधिकारको विषय उठाए ।

कांग्रेसकी सांसद मीना पाण्डेले आफू महिला अधिकार र समानताका लागि लडेको र नागरिकता विधेयकमा पनि समानताको दृष्टिले विभेद नहोस् भन्ने चाहना रहेको उल्लेख गरिन् । कांग्रेसकै सांसद डिला संग्रौलाले पनि समानताको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा ख्याल गर्नुपर्ने बताइन् ।

त्यसपछि कांग्रेस सांसद कँडेलले बुहारीलाई कसरी राख्ने भन्ने विषय सम्बन्धित परिवारको संस्कारको विषय भएको बताएका हुन् । समान अधिकारका कुरा राजनीतिक र सामाजिक क्षेत्रमा मात्र जायज भएको उनले बताए ।

‘छोरी पक्षवालाको हात जहिले पनि तल हुन्छ, विवाह गरेर पठाउँदा चाहे विदेशमा होस् या मुलुकभित्र, समान अधिकार हुनुपर्छ भनेर बाहिर राजनीतिक सामाजिक क्षेत्रमा जायज हो । तर, परिवारभित्र स्वयं आफ्नो संस्कार संस्कृतले बाँधेको हुन्छ’ सा‌ंसद कँडेलले भने ।

‘कानुनले बाँध्यो भने सबै भताभुङ्ग हुन्छ । प्रत्येक ठाउँमा मुद्दा, डिभोर्सका घटनाहरु बढ्दै जान्छन् । त्यो विकृतिमा हामी नजाऔं । अधिकार सबै समान छ । तर, परिवारलाई कानुनले बाँध्न हुन्न भन्ने मेरो मान्यता हो’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?