
४ कात्तिक, सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् ।
‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरको छैन् ।’
कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हो भने जनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोवल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।
कार्यवाहक सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाल्छना लगाउने, भ्रम सिर्जना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको आरोप लगाए ।
‘हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानवीन अनुसन्धानहरूमा खुल्ला छौं, ‘उनले भने, ‘तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सिर्जना गर्ने, अनेक लाल्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छ, यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने बताए ।
प्रतिक्रिया 4