
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका थाइ कृषि मजदुर सोन्थाया ओक्खराश्रीको शव थाइल्यान्ड फिर्ता पठाइएको छ।
- इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत हमासले २० जीवित बन्धक र १५ मारिएका थाइ नागरिकलाई फिर्ता गरेको छ।
- थाइल्यान्ड सरकारले सोन्थायाको परिवारलाई ५४ हजार डलरसम्म क्षतिपूर्ति दिने र शवलाई बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि पठाउने जनाएको छ।
६ कात्तिक, बैङ्कक । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाई कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन्।
इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ ।
इजरायली अधिकारीहरूले सोन्थायाको शव प्राप्त यसै हप्ता प्राप्त गरेको र औपचारिक रूपमा उनको पहिचान भएको बताएका छन् ।
युद्धविराम सम्झौता अन्तर्गत हमासले अन्तिम २० जीवित बन्धकहरूलाई फिर्ता गरेको छ र अहिलेसम्म मारिएका अन्य २८ मध्ये १५ जनालाई रिहा गरेको छ।
थाइल्यान्डको श्रम मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार थाई नागरिक कृषि क्षेत्रमा काम गर्छन् ।
सोन्थाया ३० वर्षका थिए र उनी बेरी किबुत्जमा काम गर्थे । उनको सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा मृत्यु भएको थियो तर उनको लास आक्रमणकारी हमासले लगेका थिए ।
थाइल्यान्डका श्रम मन्त्री ट्रिनुच थिएन्थोङ र थाइल्यान्डका लागि इजरायलका राजदूत अलोना फिसर–कामले बिहीबार विमानस्थलमा सोन्थायाको पार्थिव शरीरलाई स्वदेश फर्काउन माल्यार्पण गरेका थिए ।
सोन्थायाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भनिन्, ‘छोराको मृत्युले मलाई स्तब्ध बनाएको छ । छोराको शव उत्तरी नोङ बुआ लाम्फू प्रान्तमा रहेको गृहनगर फर्काइएकाे छ । यसका लागि आभारी छु।’
उनको शवलाई बौद्ध परम्परा अनुसार अन्त्येष्टिका लागि पठाइने र थाई सरकारले उनको परिवारलाई ५४ हजार डलरसम्मको क्षतिपूर्ति प्रदान गर्ने स्थानीय अनलाइन पत्रिका थाइरथले जनाएको छ ।
थाई विदेश मन्त्रालयले बिहीबार एएफपीलाई दिएको जानकारीअनुसार दुई वर्षदेखि जारी द्वन्द्वमा ४७ थाई नागरिकको मृत्यु भएको छ ।
युद्ध सुरु भएयता गाजामा कम्तीमा ६८ हजार २ सय ३४ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासको सन् २०२३ को आक्रमणमा एक हजार २ सय २१ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए । एएफपी
प्रतिक्रिया 4