+
+
Shares

राष्ट्रपतिले फिर्ता गरेको राहदानी विधेयक प्रतिनिधिसभामा पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते ७:५८

२६ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयक संसदमा पुनः पेश गरिँदै छ ।

राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबारको प्रतिनिधिसभा बैठकमा पेश गर्न लागेका हुन् । दिउँसो एक बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए । राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो।

त्यसैले राष्ट्रपति भण्डारीले गत जेठ २६ गते विधेयकलाई पुनर्विचारका लागि संसदमा फिर्ता पठाइदिएकी थिइन् । संविधानको धारा ११३ -२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ ।

राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ । दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?