Comments Add Comment

‘मेरा मित्र ओलीजी, चाँडै भेट्न आउँछु’

‘ओलीजीसँग चारपटक भेटघाट भयो, भेटघाटमा आपसी विश्वास पक्का भयो’

Photo Credit : कृष्ण पौड्याल

२४ भदौ, काठमाडौं । मंगलबार मध्यान्ह सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको ‘एक्शन रुम’ मा मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरुको बाक्लो चहल–पहल थियो । दक्षिण एशियामै काहीँ नभएको ‘क्रस बोर्डर पेट्रोलियम पाइपलाइन’ पहिलोचोटि सिंहदरबार र दिल्लीबाट एकसाथ उदघाटन हुँदै थियो ।

यता सिंहदरबारबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र उता नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच अन गरेर दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइनको उदघाटन गर्ने कार्यक्रम तय भएकाले मन्त्री र कर्मचारीहरुमा उत्साह देखिन्थ्यो । नेपाल आयल निगमका अधिकारीहरु पाइपबाट खसेको तेल बोतलमा थाप्न सोमबारै अमलेखगञ्ज पुगिसकेका थिए ।

भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको यो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । यो पाइपलाइनको क्षमता २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सक्ने रहेको छ । मंगलबार सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे । प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले बोतलमा तेल थापेर आदान–प्रदान गरे ।

पाइपलाइनको उदघाटनपछि प्रधानमन्त्री ओलीले छोटो मन्तव्य व्यक्त गर्दै भारतीय सहयोगको प्रशंसा गरे । भारतले गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोगको प्रतिवद्धताका लागि प्रधानमन्त्रीले भारतको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले विकास अभियानमा भारतसँग साथसाथै अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीको बोल्ने पायो आयो । उनले प्रधानमन्त्री ओलीको प्रशंसा गरे । उनको स्वास्थ्य र सक्रियताको प्रशंसा गरे । अनि आफ्ना मित्र प्रधानमन्त्री ओलीलाई भेट्न ईच्छुक रहेको बताउँदै चाँडै भेट्न आउने वचनसमेत दिए ।

नेपालमा जारी द्वीपक्षीय परियोजनाहरु राम्रोसँग अघि बढेको भन्दै मोदीले सन्तोष व्यक्त गरे । मोदीले पछिल्ला केही वर्षहरुमा भारत र नेपालवीच उच्च राजनीतिक तहमा ‘नजदिकी’ (निकटता) बढेको भन्दै प्रधानमन्त्री ओलीको मुक्तकण्ठले प्रशंसा गरे ।

पेट्रोलियम पाइपलाइनको उदघाटनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समा व्यक्त मन्तव्यको सारसंक्षेप –

मलाई खुशी लागेको छ कि हाम्रो संयुक्त प्रयासबाट हाम्रा दुईपक्षीय प्रजेक्टहरुले प्रगति गरिरहेका छन् र आज हामी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उदघाटनमा भाग लिइरहेका छौं ।

भारत र नेपालका वीचमा शदिऔं पुरानो पारिवारिक र सांस्कृतिक नाता छ । यो ‘पिपुल टु पिपुल रिलेसन’ हाम्रो दुईपक्षीय सम्बन्धको आधार हो ।

पछिल्ला केही वर्षमा हामीवीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटना आएको छ । र, नियमित सम्पर्क भइरहेको छ । पछिल्ला वर्षहरुमा मेरा भित्र प्रधानमन्त्री ओलीजी र मेरो चारपटक भेटघाट भइसकेको छ । यी भेटघाटमा आपसी विश्वास पक्का भएको छ । अब परस्पर हितका आधारमा हाम्रो साझेदारी मजबुद भएको छ । विकासका लागि हाम्रो साझेदारीलाई अरु सक्रिय बनाउने र नयाँ–नयाँ क्षेत्रमा सहयोग बढाउनका लागि हामीले नयाँ–नयाँ अवसरको लाभ पनि उठायौं ।

हाम्रो संयुक्त प्रयासको उद्देश्य हो कि हाम्रा जनतालाई लाभ प्राप्त होस् । उनीहरुको विकास होस् । परियोजनाहरु समयमा पूरा हुने हाम्रा दुबै सरकारका प्रथमिकता हुन् । पछिल्ला ५ वर्षमा हामीले महत्वपूर्ण द्वीपक्षीय परियोजनाहरु पूरा गरेका छौं । यो बहुत संतोषको विषय हो ।

दक्षिण एशियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइन समयमै पूरा भयो । नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट समयमै पूरा भयो ।

यो पाइपलाइनबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन क्लिन पेट्रोलियन प्रोडक्ट नेपालका सामान्य जनताले प्राप्त गर्नेछन् । मेरा लागि यो खुशीको कुरा हो कि आज यो पाइपलाइनको उदघाटनपछि आर्थिकरुपबाट बचत हुनेवाला छ । यहाँहरुले मूल्य घटाउने योजना पनि घोषित गरिदिनुभयो । एक प्रकारले यो काम नेपालको सामान्य नागरिकको भलाइका लागि भएको छ । नेपाली जनताको भलाइ हुने यस काममा हामीलाई पनि साक्षी बन्ने मौका मिल्यो । भागिदार बन्ने मौका मिल्यो ।

सन् २०१५ को विनासकारी भूकम्पपछि जब नेपालको पुनर्निर्माणको बेडा अघि बढेको थियो, तब भारतले छिमेकी तथा निकट मित्रका नाताले आफ्नो हात सहयोगका लागि अगाडि बढायो । मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ ।

हामीले आफ्नो साझेदारीलाई अरु बढाउनका लागि एउटा महत्वाकांक्षी एजेण्डा निर्धारित गरेका छौं । मलाई खुशी छ कि हामी आफ्नो सहयोगका सबै क्षेत्रमा सन्तोषजनकरुपले प्रगति गरिरहेका छौं । हाम्रा विदेशमन्त्रीले काठमाडौंमा आपसी सहयोगका सबै क्षेत्रमा कुारकानी गरेका छन् । मलाई उम्मीद छ कि साझेदारीलाई अरु व्यापक बढाउने र सहयोगका विविध क्षेत्रमा अगाडि बढ्नेछौं । विकासको साझेदारीका साथ अघि बढ्नका लागि म आज फेरि एकपटक आफ्नो प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु ।

यो महत्वपूर्ण कार्यक्रममा भिडियो लिंकबाट मसँग जोडिने यहाँले जुन समय निकाल्नुभयो, म धेरै खुशी भएँ । म हमेसा तपाईको उत्तम स्वास्थ्य, अभूतपूर्व सक्रियता र भारत–नेपाल सम्बन्धलाई जोड्नका लागि हरप्रकारले धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, म विल्कुल यहाँसमक्ष आउन मेरो इच्छा पनि छ । म धेरै चाँडो आउने प्रयास गर्नेछु । यहाँलाई धेरै धेरै धन्यवाद ।

यो पनि पढ्नुहोस ‘मोदीसँग हातेमालो गर्न तयार छु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment