 
																			२५ भदौ, काठमाडौं । नेपाली सेनाले माथिल्लो दर्जाका कर्मचारीलाई सलाम नगर्ने ३० जनालाई कारबाहीको दायरामा ल्याएको छ । सैनिक अनुशासन विपरीत कार्य गरेको भन्दै सैनिक प्रहरी गणले उनीहरुलाई कारबाही गरेको हो ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले ३० जनालाई स्पष्टिकरण सोधिएको पुष्टि गरे । ‘स्पष्टिकरणसँगै ड्रिल खेलाएर आइन्दा मर्यादा विपरीत कार्य नगर्न सचेत गराइएको छ’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘यो १५ दिनभित्र गरिएको कारबाही विवरण हो ।’
कारबाहीमा पर्नेको अभिलेखसमेत राखेर पुनः कसूर दोहोरिए सैनिक ऐनअनुसार कारबाही गरिने बताइएको छ ।
सैनिक संलग्न अपराध अनुसन्धान र अनुशासन कायम गराउन क्रियाशील रहने सैनिक प्रहरी गणले अनुगमनका क्रममा कसूरदार देखिएकालाई कारबाहीको दायरामा ल्याएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरु गरेको त्रैमासिक रोलकलमा पनि सलामसम्बन्धी विषय उठ्ने गरेको थियो ।
केहीअघि जंगीअड्डाले नेपाली सेनामा अभिवादन गर्नुको आवश्यकता र अनुगमनसम्बन्धी कार्यविधि ल्याएपछि कारबाही थालिएको एक सैनिक अधिकृतले बताए । सेनाको जंगीअड्डाले देशैभरका युनिटमा कार्यविधिको अक्षरश: पालना गर्न निर्देशनसहित पत्राचार पनि गरिसकेको उनले बताए ।
ती अधिकृतका अनुसार वैशाखमा जारी भएको सैनिक आचार संहिता संग्रह–२०७६ को खण्ड २ मा पनि परम्परा तथा शिष्टाचारसम्बन्धी शीर्षकमा सलाम गर्ने विधि र प्रक्रियाबारे उल्लेख गरिएको थियो ।
‘सैनिक अभिवादन अन्तर्गत ओहदाको सम्मानस्वरुप सलाम फर्काउनु सबैको कर्तव्य हो भनिएको छ’, ती अधिकृतले भने, ‘दुई वा दुईभन्दा बढी हकदार भएको अवस्थामा ज्येष्ठ अधिकृतलाई मात्र गर्ने भनिएको छ ।’
घोडा, साइकल, मोटरसाइकल, कार वा अन्य कुनै पनि किसिमको सवारी साधन चलाइरहेको अवस्थामा ड्राइभरले चाहिँ सलाम गर्नु नपर्ने व्यवस्था छ । यद्यपि, सवारी साधन रोकिएको अवस्थामा दर्जाअनुसार अभिवादन गर्नुपर्ने भनिएको छ ।
पोशाकमा हुँदा र नहुँदा छुट्टाछुट्टै अभिवादन
सैनिक परम्परामा कसैले सलामीको हकदारप्रति कुनै किसिमको घातक अभिप्राय नभएको, कुनै पनि दुर्भावना नभएको र पूर्ण वफादारिता रहेको जनाउन सलामी महत्वपूर्ण भएको कार्यविधिमा भनिएको छ ।
जसमा सैनिक पोशाकमा हुँदा र नहुँदा वेग्लावेग्लै किसिमको अभिवादन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिकस्थलमा पोशाकमा भएका बेला मर्यादाक्रम अनुसार ज्येष्ठ सलामी हकदारलाई मात्र सलाम गर्ने कार्यविधिमा उल्लेख छ ।
गैरसैनिक पोशाकमा रहेका बेला टोपी नलगाउँदा ‘सलाम सर’ वा ‘गुड मर्निङ’ वा ‘गुड आफ्टरनुन’ वा ‘गुड इभिनिङ’को अभिवादन गर्नुपर्ने भनिएको छ । कार्यविधिमा विशिष्ट व्यक्तिको सुरक्षार्थ खटिँदा, सैनिक प्रहरी कार्य, फोटोग्राफर र विशेष प्रकारका कार्यमा खटिँदा सलाम गर्नु अनिवार्य नभएको भनिएको छ ।
दर्जाअनुसार अभिवादन नगर्दा सेनाको मर्यादा, अनुशासन तथा व्यवसायिकतामा असर पर्ने कार्यविधिमा भनिएको छ । ‘यो पालना नगर्दा सेनाभित्र आपसी भातृत्व, शिष्टाचार तथा रेजिमेन्टेसनमा ह्रास भई ज्येष्ठताको कदर र आदर एवं सम्मान गर्नुपर्ने भावनामा पनि कमी हुनसक्छ’, कार्यविधिमा भनिएको छ, ‘विशिष्ट ओहदाको राजनीतिक नेतृत्व र निजामती प्रशासनको समन्वयमा पनि ह्रास आउन सक्छ ।’
तीन सदस्यीय निरीक्षण समिति
कार्यविधिले उपत्यकामा सलाम गरिए वा नगरिएको निरीक्षण गर्न ३ सदस्यीय निरीक्षण समिति गठन गर्ने पनि व्यवस्था गरेको छ । समितिमा सैनिक संगठन निर्देशनालय, वेतन वृत्ति तथा समारोह निर्देशनालय र सैनिक प्रहरी गणबाट एक/एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।
उपत्यकाबाहिरका युनिटमा भने पृतना/बाहिनीले आकस्मिक रुपमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । अनुगमनपछि प्रतिवेदन तयार पारेर कार्यरथीको कार्यालयमा पेश गर्नुपर्ने भनिएको छ ।
यो अनुगमन कम्तीमा महिनामा एक पटक हुनुपर्ने भनिएको छ । सलामी र निरीक्षणबारे रोलकल र सम्मेलनहरुमा पनि प्राथमिकताका साथ निर्देशित गरेर सजग गराउनुपर्ने उल्लेख गरिएको छ ।
‘स्थलगत निरीक्षणमा पनि अभिवादनको महत्वबारे अवगत गराउनु पर्नेछ भने जंगीअड्डामा तीन महिनाको अन्तिम हप्ता शुक्रबार सभामण्डपमा कार्यरथीको कक्षा सञ्चालन हुनुपर्नेछ’, कार्यविधिमा भनिएको छ, ‘युनिट तहमा मासिक रुपमा कक्षा सञ्चालन गरिनुपर्नेछ भने नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीको मर्यादाक्रमबारे पनि कक्षामा जानकारी दिनुपर्नेछ ।’
कसैले कार्यविधिको पालना नगरे सिकायत पेटिकामा उजुरी पनि दिन सकिनेछ भने टेलिफोनमार्फत पनि जानकारी गराउन सकिने व्यवस्था गरिएको जनाइएको छ ।
 
                









 
                     
                                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4