Comments Add Comment

अञ्जन चम्किँदा चाइनिज ताइपेविरुद्ध नेपालको शानदार जित

२४ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको छ ।

मंगलबार भएको खेलमा नेपालले ताइपेलाई उसकै घरेलु मैदानमा २-० गोल अन्तरले हराएको हो । ताइपे रंगशालामा भएको खेलमा नेपालका लागि दुबै गोल अञ्जन विष्टले गरेका हुन् ।

पाँच दिन अगाडि नेपाल, कुवेतसँग ७-० ले हार्दा विष्ट अधिकांश समय बेञ्चमा बसेका थिए । नेपालले पाँच गोल खाइसकेको अवस्थामा विमल घर्ती मगरको ठाउँमा उनी मैदान प्रवेश गरेका थिए ।

तर चाइनिज ताइपेईविरुद्ध उनी प्लेइङ ११ मा मात्र परेनन्, दुई गोल गरेर आफूलाई पुनः प्रमाणित गरेका छन् ।

विक्रम लामालाई बेञ्चमा राखेर उनलाई खेलाइएको थियो भने सुमन अर्याल र अजित भण्डारीको ठाउँमा रञ्जित धिमाल र दिनेश राजवंशीलाई खेलाइएको थियो । तीन खेलाडी परिर्वतन गरेपनि प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जस्तै १-४-५-१ को फम्यार्टमै खेलाएका थिए ।

नेपालले सुरुदेखि नैै आक्रमक खेल्यो । र, तेस्रो मिनेटमा नै घरेलु टोलाई स्तब्ध बनाउन सफल पनि भयो । डि-बक्सबाट केही बाहिरबाट सुजल श्रेष्ठले हानेको फि्रकिकमा अञ्जनले हेड गोल गरेका थिए ।

लगातार राम्रो मुभ बनाएको नेपालले पहिलो हाफमा अग्रता कायमै राख्यो । चाइनिज ताइपेले केही राम्रो मुभ बनाएपनि गोल गर्न सकेन । खेलको ६४ औं मिनेटमा अञ्जन फेरि चम्किए ।

रवि पासवानले प्रहार गरेको बलमा सुजलले हेडमार्फत पास मिलाइदिएपछि अनमार्क रहेका सुजलले गोल गरेका हुन् ।

खेलमा थप गोल हुन सकेन र विश्वकप छनोटको दोस्रो चरणमा महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment