Comments Add Comment

अर्थमन्त्री खतिवडालाई मुख्यमन्त्रीको आग्रह – ३ अर्ब थपिदिनोस्, रुग्ण आयोजनाबाट मुक्त गरिदिन्छु

प्रदेश ५ को आर्थिक वृद्धिदर ७.७ प्रतिशत पुग्यो

२६ भदौ, काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो साता काठमाडौं आएका बेला सिंहदरबारमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरे । भेटका क्रममा मुख्यमन्त्री पोखरेलले मन्त्री खतिवडालाई भने- ‘सशर्त अनुदानमा तीन अर्ब थपिदिनोस्, म केन्द्र सरकारलाई पुराना, रुग्ण आयोजनाको भारबाट मुक्त गरिदिन्छु ।’

अहिले संघलाई सबैभन्दा ठूलो समस्या नै पुराना तथा रुग्ण अवस्थामा रहेका आयोजना हुन् । तर, मुख्यमन्त्री पोखरेलले प्रदेश ५ लाई सशर्त अनुदानतर्फ थप ३ अर्ब रुपैयाँ मात्रै थपिदिने हो भने एक वर्षभित्रै आफ्नो प्रदेशभित्र पुराना आयोजनाहरुबाट संघीय सरकारको दायित्व मुक्त गराउने मन्त्री खतिवडालाई चुनौती दिए ।

आफूले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटेरै यो कुरा बताएको मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीहरुलाई बताए ।

काठमाडौं आएका बेला सञ्चारकर्मीहरुसँग अनौपचारिक छलफलमा सहभागी भएका मुख्यमन्त्री पोखरेलले स्थानीय तह र प्रदेशमा राम्रा काम भइरहे पनि काठमाडौंकेन्दि्रत मानसिकता फेर्न गाह्रो भएको बताएका थिए ।

यो पनि पढ्नुहोस ‘काठमाडौंको मानसिकता फेर्न गाह्रो रहेछ’

‘दोहोरो अंकको आर्थिक वृद्धि गरेर देखाइदिन्छु’

तल्लो तहले कामै गर्न सक्दैनन् भन्ने मानसिकता केन्द्रमा बस्नेहरुले त्याग्ने हो भने आफूले प्रदेश ५ मा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेर देखाउने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७.७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको मुख्यमन्त्री पोखरेलले बताए । प्रदेशले हासिल गरेको यो आर्थिक वृद्धि संघको भन्दा केही बढी हो । ‘संघको आर्थिक वृद्धिमा हाम्रो प्रदेशको पनि ठूलो योगदान रहेको छ,’ उनले भने ।

केन्द्रीय तथ्यांक विभागले प्रदेश नं ५ सरकारको आर्थिक वृद्धि ७.३७ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार आव ०७५/७६ मा ७.१ प्रतिशत आर्थिक वृद्धिको अनुमान छ । यस प्रदेशको अर्थतन्त्रको आकार ४ खर्ब ४२ अर्ब ७९ करोड रुपैयाँको रहेको छ । यो राष्ट्रिय अर्थतन्त्रको १४.३ प्रतिशत हिस्सा हो ।

प्रदेश नं ५ सरकारले अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । प्रदेश नं ५ ले २ अर्ब ४० करोड राजस्व संकलनको लक्ष्य राखेकोमा २ अर्ब ८० करोड राजस्व संकलन गरेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

प्रदेशमा १४७ कार्यालय, २ हजार कर्मचारी

कर्मचारी समायोजनपश्चात प्रदेश ५ मा कूल १४७ कार्यालय स्थापना भएका छन् । ती कार्यालयहरुमा २ हजार कर्मचारी समायोजन भएको पोखरेलको भनाइ छ ।

प्रदेश ५ मा १७ हजार ९ सय ९७ उद्योग दर्ता भएका छन् । यी उद्योगमा ७ करोड ६९ लाख लगानी रहेको र २ लाख १२ हजार रोजगारी सिर्जना भएको पोखरेलले जानकारी दिए । प्रदेशमा १६८७५ साना, २०७ घरेलु र ९१५ लघु उद्योग दर्ता भएका छन् ।

त्यसैगरी प्रदेश सरकार बनिसकेपछि २०३ किलोमिटर सडक कालोपत्रे भएको र ११६ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको पोखरेलले जानकारी दिए ।

त्यसैगरी ४५ किलोमिटर विद्युत प्रसारण लाइन तथा २ वटा ट्रान्सर्फमर यस अवधिमा जडान भएका छन् । जनता आवास कार्यक्रमतर्फ १८२६ वटा घर बनिसकेको र ११०८ वटा घर निर्माणाधीन अवस्थामा रहेको पोखरेलले बताए ।

गत आवमा मिल्क होलिडे न्यूनीकरण गर्न ५० हजार लिटर दूध प्रतिदिन संरक्षण गर्ने गरी २८ वटा चिलिङ उपकरण तथा १२ वटा ट्यांकर वितरण गरिएको मुख्यमन्त्रीले जानकारी दिए ।

यस अवधिमा २ वटा रंगशाला निर्माणको काम शुरु भएको, ७ वटा कभर्ड हल र ५ खेल मैदानको निर्माण सकिएको प्रदेश ५ सरकारले जनाएको छ ।

प्रदेश नं ५ ले यस वर्ष लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । पर्यटन पूर्वाधारमा २५ वटा आयोजनाको काम सम्पन्न भएको र ३ वटा आयोजना क्रमागत आयोजनाका रुपमा रहेको विवरणमा उल्लेख छ । १२ वटा आयोजनाको गुरुयोजना र डीपीआर बनिसकेको मुख्यमन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment