Comments Add Comment

‘बैंकिङ प्रविधि सुरक्षित छ, शंका गर्नु पर्दैन’

२४ भदौ, काठमाडौं । केही साताअघि काठमाडौंका विभिन्न स्थानका एटीएमबाट रकम चोरी गरेका चारजना चिनियाँ नागरिक पक्राउ परे । त्यसपछिको प्रहरी अनुसन्धानका क्रममा अर्का एक चिनियाँ र तीन नेपाली समातिए ।

यो समूहले बिभिन्न बैंकका अटोमेटेड टेलर मिसिन (एटीएम)को सिस्टम ह्याक गरेर तीन करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्यो, जसमध्ये एक करोड ७० लाख भारतका एटीएमबाट निकालिएको थियो । यो घटनाले नेपाली बैंकिङ प्रणालीको सुरक्षामा तड्कारो प्रश्न उठेको छ ।

यसै सन्दर्भमा अनलाइनखबरले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालसँग गरेको कुराकानीको सम्पादित अंशः

एटीएमबाट अनधिकृत रुपममा ठुलो रकम निकालिनुले नेपालको बैंकिङ प्रविधि असुरक्षित रहेको देखायो होइन ?

असुरक्षित होइन, केही चुनौती देखिएका हुन् । प्रविधि प्रयोग चुनौतीमुक्त छैन । चुनौतीको सामना गर्दै प्रविधि अपनाउने हो । नयाँ प्रविधि प्रयोग गर्दा देखिएका समस्याहरुमा सतर्कता अपनाउँदै अगाडि बढ्ने हो । थप सुरक्षा प्रणाली अपनाउँदै प्रविधिमा स्तरोन्नति गर्ने हो ।

एटीएम ह्याकिङबारे कतिबेला जानकारी पाउनुभयो ?

घटना सार्वजनिक भएपछि नै थाहा पाएका थियौं । त्यसपछि हाम्रोमा पनि केही भयो कि भनेर शंका गर्‍यौं‌ । केही नभएको थाह पाएपछि कसरी सतर्कता अपनाउने भन्ने भयो । भिसा कार्डबाट हुने कारोबारहरु संसार घुमेर आउँछ । कहाँ, कसरी, के भयो भन्नेबारे पुरै जानकारी आइसकेको छैन । यस विषयमा सबैले उच्च सतर्कता अपनाएका छन् ।

यस किसिमको ह्याकिङबाट जोगिन अपनाइने सावधानी चाहिँ के हो ?

नेपाली बैंकका लागि यो नयाँ किसिमको घटना हो । यसले नसोचेकै विषयमा पनि सतर्कता अपनाउनुपर्छ भन्ने महशुस गराएको छ ।

बैंकिङ प्रविधिमा स्तरोन्नती गर्ने बेला भएको हो ?

बैंकिङ क्षेत्रमा प्रयोग हुने कुनै पनि प्रविधिलाई पुरानो भन्न मिल्दैन । फेरि बैंकिङमा धेरै किसिमका प्रविधि प्रयोग हुन्छन् । अहिले नेपालका सबै बैंकले कोर बैंकिङ सोलुसन (सीबीएस) का लागि फिनाकल सफ्टवेयर चलाएका छन् ।

यो विश्वकै उत्कृष्ट र आफैं अपग्रेट हुने प्रविधिमा पर्छ । हाम्रो सनराइज बैंकमा सबभन्दा नयाँ सीबीएस १० प्रणाली छ । अब सफ्टवेयर अपग्रेटसँगै सेक्युरिटी फिचरहरुमा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।

समस्या परेपछि विदेशबाट विज्ञ झिकाउनु पर्ने अवस्था देखियो । नेपालमा साइबर सुरक्षासम्बन्धी विज्ञको अभाव हो ?

साइबर सेक्युरिटीसम्बन्धी कुरामा विकसित देशहरुका तुलनामा हामी पछाडि नै छौं । मैले ३२ वर्ष अघि बैंकिङ करिअर शुरु गर्दा एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता कुरा कल्पनामा पनि थिएन । काम गर्दै जाँदा यी सबै चिज आएर आधारभूत आवश्यकता बने । प्रविधि प्रयोग बढेसँगै यसका प्रयोगकर्ता, विज्ञको संख्या र सुरक्षा पनि बढ्दै जान्छ ।

यसमा बैंकहरुले साझा रणनीति बनाउन आवश्यक छैन ?

आवश्यक छ । सारा विश्व ‘डिजिटल मुभ’मा रहेको बेला नेपाली बैंकहरुको मात्र साझा रणनीति होइन, सरकारी तहबाट पनि डिजिटल इकोनोमी सम्बन्धी सुरक्षा नीति आउनपर्छ ।

अर्को कुरा बैंकहरुले सामूहिक हिसाबले केहि सोच्नुपर्छ भनेर (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम) नेप्सको स्थापना भएको हो । यसमा एउटा बैंकले करोडौं लगानी गर्न गाह्रो हुन्छ । त्यसैकारण १८ वटा बैंकले नेप्समा लगानी गरेका हुन् ।

यसअघि स्वीफ्ट ह्याकिङ प्रकरणबाट नेपालले के सिक्यो ?

हरेक घटनाले पाठ सिकाउँछ । स्वीफ्ट ह्याकिङले पनि नेपाललाई एउटा पाठ सिकाएको थियो । डिजिटल बन्दै जाँदा केकस्ता समस्या आउन सक्छन् भन्ने पाठ टड्कारो छ । अप्रिय घट्ना हुन नदिन कसरी अगाडि बढ्ने भन्ने कुरा महत्वपूर्ण हो । पछिल्लो घटनाले सिकाएको पाठ पनि त्यही हो ।

नेपालका बैंकहरुमा प्रयोग भएका प्रविधि कति सुरक्षित छन् ?

नेपालको बैंकिङ प्रविधि सुरक्षित छ, शंका गर्नु पर्ने छैन । अप्ठ्यारो परेको ठाउँमा सुरक्षा अपनाउँदै जाने हो ।

भनेपछि, प्रविधिमा आइपर्ने सुरक्षा चुनौती सामना गर्न समस्या छैन ?

प्रविधिमा विकासका कारण अहिले बैंकहरुका ब्रान्च र प्रोडक्ट धेरै छन् । प्रविधि प्रयोगमै पनि कम चुनौती छैन । चुनौती छ भन्दैमा प्रविधि प्रयोग नगर्ने कुरा भएन । नयाँ–नयाँ प्रविधि प्रयोग गर्ने हो, त्यसका चुनौतीहरु पनि हल गर्ने हो ।

नेपाली बैंकिङ क्षेत्रको समग्र अवस्था कस्तो छ ?

केहि वर्षदेखि निरन्तर रुपमा खेपिरहेको क्रेडिट क्रञ्चको समस्या पुरै निराकरण हुन सकेको छैन । एकदमै ‘टाइट’ अवस्था पनि होइन, तर बजारमा जुन किसिमको क्रेडिट डिमान्ड छ, त्यसअनुसार पुँजी भएको देखिँदैन ।

खासगरी पूर्वाधार क्षेत्रमा क्रेडिटको डिमान्ड धेरै छ । अहिले राष्ट्र बैंकले विदेशबाट रकम ल्याउन सक्ने प्रावधानलाई केहि सहज बनाएको छ । बैंकहरुले रकम ल्याउने कोशिस पनि गरिरहेका छन्, तर नेपालको क्रेडिट रेटिङ धेरै राम्रो नभएको कारण पनि ल्याउन सकिएको छैनन् ।

तपाईले त एक वर्ष अघि तरलता समस्याले अझै चार–पाँच वर्ष पिरोल्छ भन्नु भएको थियो नि ?

तीनवर्ष अघि नेपालका वाणीज्य बैंकहरुको क्रेडिट ल्याण्ड क्षमता कति थियो, अहिले कति छ भन्नेमा विचार गर्नुपर्छ । नेपालमा क्रेडिट ल्याण्ड गर्ने क्षमता ४० खर्ब रुपैयाँ हाराहारीमा छ, तर बैंकहरुको क्रेडिट क्रियसन २६ खर्ब हाराहारीमा गरेका छन् । क्रेडिट डिमाण्ड पूर्ति गर्न चुनौती छ । बैंकहरुले ३० खर्ब रुपैयाँ निक्षेप परिचालन गरेका होलान्, तर यतिले ४० खर्ब कर्जा लगानी गर्न सम्भव हुदैन ।

हाम्रो नियमनकारी निकायले (निक्षेप र कर्जाबीचको अनुपात) सीसीडी ८० प्रतिशत भनेको छ । निक्षेपमा राम्रो सुधार हुन अझै केहि समय लाग्छ । त्यसमा क्रेडिट डिमान्ड पनि बढिरहन्छ । अझै तीन–चार वर्ष यो समस्या रहन्छ ।

राष्ट्र बैंकले गरेको पुँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्नैपर्ने व्यवस्थाले तरलता सहज पार्छ त ?

बण्ड मार्केटको विकास हुनुपर्छ भनेर लिएको नीति हो भने यो एकदमै राम्रो हो । यही आर्थिक वर्षमा सबै बैंकले कोर क्यापिटलको २५ प्रतिशत डिबेञ्चर जारी गर्ने हो भने ७० अर्ब रुपैयाँ हुन आउँछ । त्यो रकम निस्कने त सिस्टमबाटै हो ।

बैंकहरुले डिबेञ्चर लिएको शतप्रतिशत रकम लगानी गर्न पाउँछन् । बैंकको क्रेडिट क्रियशन क्षमता बढ्दै जान्छ । तपाईंले १०० रुपैयाँ जम्मा गर्नुभयो भने बैंकले ८० रुपैयाँ लगानी गर्न पाउँछ । त्यो ८० रुपैयाँ फेरि बैंकिङ च्यानलमा निक्षेप भएर आउँदा ६४ रुपैयाँमात्रै बैंकले ऋण दिन पाउँछ । बाँकी बैंकले तरलता राख्छन् । यसरी बैंकको क्रेडिट क्रियशन क्षमता बढ्दै जान्छ । समग्रमा, यसबाट फेरि एक पटक संकुचन आउँछ जस्तो मलाई लाग्छ ।

भनेपछि दशैं–तिहार लगत्तै समस्या देखिन्छ ?

समस्या यथावत नै छ । यसपाली पनि विकास बजेट समयमै खर्च हुन नसक्ला । पहिलो त्रैमासिकमा हुनुपर्ने खर्च सोहि समयमा भए सहज हुन्छ । समयमा खर्च नभएपछि समस्या त हुने नै भयो । फेरि चाडपर्वको बेला सिस्टमबाट पैसा निस्कन्छ । हामी आयातमा निर्भर छौं । समस्या त आउँछ नै ।

अन्तमा, सनराइज र्बैंकको अवस्थाचाहिँ कस्तो छ ?

सूर्य सधैं उदाइरहन्छ । यता हामीले अस्तायो भनेको बेला अमेरिकामा उदाइरहेको हुन्छ । सनराइज यस्तै किसिमले अघि बढिरहेको बैंक हो । म आएको दुईमहिना पनि भएको छैन, तर बैंक धेरै हिसाबले एकदमै राम्रो अवस्थामा पाएको छु । सनराइज बैंक हरेक हिसाबले परफेक्ट छ । मलाई यहाँको सबैभन्दा राम्रो लाग्ने भनेको गुड कर्पोरेट गभर्नेन्स छ ।

यो पनि पढ्नुहोस ‘तरलता अभावले अझै ४-५ वर्ष पिरोल्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment