२६ भदौ, पोखरा । १६ लाख रुपैयाँ ऋण लिएकोमा तिनकरोड बुझाइसक्दा चुक्ता हुँदैन । व्याज तिर्न केही दिन ढिला भयो कि ५० हजारदेखि एकलाख रुपैयाँसम्म थप तिर्नुपर्छ । टाटै पल्टिने अवस्था आएपछि रिणीले अब तिर्न नसक्ने बताउँछ ।
तर, साहुले जबरर्जस्ती तमसुक बनाउँछन् । त्यतिमात्रै होइन, अपहरण गरेर मरणासन्न हुने गरी कुटिन्छ । धन्न प्रहरी पुग्छ र ऋणीको ज्यान बच्छ । यो भुक्तमान पोखराका व्यवसायी रत्नबहादुर कार्कीले पाएका हुन् ।
यो घटनाले मिटर ब्याजले कसरी मान्छेलाई फसाउँछ र पोखरामा यो धन्दा कसरी चलिरहेको छ भन्ने देखाएको छ । पोखरा, जरेबलका कार्कीले आठवर्ष अघि नयाँ गाउँका गौतम थापाबाट १६ लाख रुपैयाँ लिएका थिए । उनले पहिला पनि उनै थापाबाट सातलाख रुपैयाँ लिएर ११ लाख तिरेका थिए । दोस्रो पटक उनी थापा समूहको अपहरणमा परे ।
कार्कीलाई नयाँबजारबाट शान्तिवनस्थित निर्माण व्यवसायी समितिको कम्पाउण्डमा लगेर कुटपिट गर्दागर्दै प्रहरी पुगेको थियो । उनले आफू अपहरणमा परेको बताएपछि प्रहरीले गौतम थापा, प्रेमबहादुर थापा, रोहित सुनार र वासुदेव पोखरेल पक्राउ गरेको छ । प्रहरीकाअनुसार उनीहरु पनि निर्माण व्यवसायी समितिका सदस्य हुन् ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार, पक्राउ परेकामध्ये प्रेमबहादुर थापा र वासुदेव पोखरेलले कार्कीलाई ग २ च २७४९ नम्बरको कारमा हालेर लगेका थिए भने गौतम थापा र रोहित सुनारले ग १२ प ९८५७ नम्बरको मोटरसाइकलबाट पछ्याएका थिए । ‘थापा समूहबाट खतरामा परेको पहिल्यै बताएकाले रत्नबहादुर हाम्रो निगरानी थिए’, एसपी कार्कीले भने, ‘त्यही कारण समयमा पुगेर उनको उद्दार गर्र्न प्रहरी टोली सफल भयो ।’
निर्माण व्यवसायीको आवरणमा ठगी धन्दा
रत्नबहादुर कार्की अपहरण प्रकरणमा प्रक्राउ परेका चारैजना पोखरामा लामो समयदेखि गुण्डागर्दी र मिटर ब्याजको धन्दामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘सबैले निर्माण व्यवसायी समितिको सदस्यता लिएको पाइयो, एक जनाको ग्रिल उद्योग पनि रहेछ’, एसपी कार्कीले भने, ‘मुख्य धन्दा चाही गुण्डागर्दी र मिटर ब्याज नै देखियो ।’
उनीहरुले सुरुमा आफूलाई योङ कम्युनिष्ट लिग (वाइसियल) को सदस्य भन्दै पोखरामा धन्दा थालेका थिए । यो समूहमा २६ जना रहेको उनीहरु ठेक्कापट्टामा प्रभाव जमाउन तनहुँ, स्याङ्जा, चितवनसम्म पुग्ने गरेको खुलेको एसपी कार्कीले बताए ।
यो समूहले रत्नबहादुर कार्कीलाई कहिले ग्रिल उद्योग लगेर कुट्ने, कहिले कहाँ बोलाएर कागज गर्ने गरेका थिए । १६ लाख रुपैयाँ ऋण दिँदा कसैलाई साक्षी बस्न नदिई तमसुक बनाएका थिए । जति पटक पैसा बुझाए पनि पहिलेको तमसुक नच्यातेको पीडित कार्की बताउँछन् । बैंकहरुको ऋणबाट मुक्त हुन उनले छोटो समयका लागि चर्को ब्याजको ऋण लिएका उनी लामो समय तनावसँगै ज्यानकै जोखिम भएपछि प्रहरी गुहार्न पुगे ।
तर, कार्यालयबाट बाहिरिँदै गर्दा फोन गरेर प्रहरीलाई भनेर केहि नहुने भन्दै धम्क्याएका थिए । ‘प्रहरीमा पनि हाम्रो सेटिङ छ भनेर धम्क्याउँथे, धेरै पटक कुटपिट गरे’, कार्की भन्छन्, ‘अब कहाँ जाऔं, कोसँग न्याय मागौं भन्ने हुन्थ्यो ।’
थापा समुहमा प्रहरीको संलग्नताबारे अनुसन्धान गर्ने एसपि कार्कीले बताए । त्यसो त जिल्ला प्रहरी कार्यालय कास्की भित्र व्यायम हल बनाउन गठन भएको समितिमा गौतम थापा उपाध्यक्ष रहेको थाह भएको छ । निर्माण समितिको अध्यक्ष यसअघिका एसपी ओम राना थिए । एसपी रानासँग गौतम थापाले निकै उठबस गरेको जिप्रका कास्कीमा कार्यरत एक प्रहरी बताउँछन् । उनका अनुसार, थापा समूहले वडा प्रहरी कार्यालय बैदाममा पनि ग्रिलको काम पाएको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4