Comments Add Comment

खानेपानी मन्त्री विना मगरले फेरिन् मेलम्ची आयोजनाका प्रमुख

३० भदौ, काठमाडौं । मेलम्ची खानेपनी आयोजनाका प्रमुख फेरिएका छन् । हालका प्रमुख सूर्य कँडेलको स्थानमा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले तिरेशप्रसाद खत्रीलाई आयोजनाको प्रमुख बनाएकी छिन् ।

खत्री लामो समयदेखि मेलम्ची काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का प्रमुख थिए । पीआईडीले मेलम्चीका पाइप बिछ्याउने र ट्यांकीहरु बनाउने काम गर्ने गर्छ ।

उनलाई मलेम्ची खानेपानी आयोजनाबारे राम्रो ज्ञान छ । उनी लामो समयदेखि पीआईडीमा बसेर काम गरेका आयोजना प्रमुख हुन् ।

ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोसीको प्रमुख ठेकदार हो ।

सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभिजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाएको हो ।

सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाईड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाएको हो ।

कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आहृवान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।

हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल बि्रजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि यसमा छ ।

यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा ८ वटा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का लगाइएको थियो । हाईड्रो-इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाएका हुन् । सीएमसी आफैंले गरिरहेको जटिल प्राविधिक काम चाहिँ अब सिनोले नै अघि बढाउनेछ ।

सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बिछ्याउन पनि उपयोग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment