Comments Add Comment

देउवाको चेतावनी : धेरै दिनसम्म रोष्टम बन्द हुन्छ

२ असोज, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन विपक्षी दलका नेता शेरबहादुर देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने संकेत गरेका छन् ।

सरकारले प्रहरी प्रशासनमा त्रास र आतंकको अवस्था सृजना गरी कर्मचारीलाई पार्टी कार्यकर्ताको रुपमा काम गराउन चाहेको भन्दै उनले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिएका हुन् । ‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’

जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ ।

शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै सभापति देउवाले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए ।

संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार असफल

विपक्षी दलका नेता देउवाले संविधानलाई सर्वस्वीकार्य बनाउन, जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएको बताए । ‘त्यती मात्र होइन सरकार एकपछि अर्को संविधान विपरित कार्य गर्न उद्यत भएको छ’, उनले भने ।

सरकारले न्यायपालिकामा हस्तक्षेप गरेको र व्यवस्थापिकालाई खेलौना बनाएको र सरकारलाई निगरानी गर्ने संवैधानिक निकायलाई नियन्त्रणमा राख्न खोजेको उनको आरोप छ । संघ, प्रदेश र स्थानिय तहबीच अधिकारको बाँडफाँड गर्ने र संघीयताका आधारमा राज्यव्यवस्था संचालन गर्ने संविधानको भावना विवपरित सरकार अधिकारको केन्द्रीकरण गरी व्यक्तिलाई सर्वशक्तिमान बनाउने काममा लागेको समेत उनले बताए ।

इतिहासमै धेरै भ्रष्टाचार भयो

कांग्रेस सभापति देउवाले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी गरेका छन् । प्रधानमन्त्रीले भ्रस्टाचारमा शुन्य सहनशीलताको नारा दिएपनि नेपालको इतिहासमा सबैभन्दा बढी भ्रस्टाचारको घटना यो डेढ बर्षमा भएको भन्दै उनले भने, ‘वाइड बडी, न्यारो बडी जहाज प्रकरण, सुन प्रकरण, बालुवाटार जग्गा प्रकरण यसका उदाहरण हुन् ।’

उनले अघि भने, भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’

विवादास्पद र गैरसंवैधानिक विधेयकहरु ल्याएका कारण सरकारप्रति असन्तुष्टि बढेको भन्दै उनले यसलाई व्यवस्थाप्रतिकै असन्तुष्टिको रुपमा प्रचार नगर्न पनि उनले आग्रह गरे ।

प्रमलाई प्रश्नः बजार भाउबारे जानकारी छ ?

बजार मुल्य आकासिएको भन्दै देउवाले सरकारले जनतालाई राहत होइन, आहत मात्र दिएको बताए । जनताका आधारभुत आवश्यकताबारे सरकारले ध्यान नदिएको भन्दै उनले भने, म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु अहिलेको बजार भाउबारे यहाँलाई कुनै जानकारी छ ?’

आर्थिक सम्बृद्धिको नारा कारा नारा मात्र भएको, उद्योग संचालनको वातावरण नभएको तथा बेरोजगारी भयावह ढंगले बृद्धि भएको कांग्रेस सभापति देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment