Comments Add Comment

मेडिकल कलेजको बढी शुल्क फिर्ता गराइदिन सीडीओसँग आग्रह

२ असोज, चितवन । मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत बिहीबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटेका उनीहरुले कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

विद्यार्थी प्रकाश चन्दले आफूहरु तीन हप्तादेखि आन्दोलनमा रहेको भन्दै कलेजले अवैधानिक रुपमा लिएको बढी शुल्क फिर्ता गराउन प्रशासनले पनि साथ दिनुपर्ने बताए । उनले जिल्ला प्रशासन कार्यालय र प्रहरीले शुल्क फिर्ताका लागि दबाब दिन आग्रह गरे ।

नेपाल सरकारले राजधानी काठमाडौं बाहिर एमबीबीएसको शुल्क ४२ लाख ४५ हजार तोके पनि कलेजले ६ देखि १२ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीको गुनासो छ ।
आन्दोलनरत विद्यार्थी मान्यता थापाका बुबा चिरञ्जीवि थापाले आफू श्रीमतीको उपचारमा दिल्ली भएको बेला कलेजले फोन गरेर तुरुन्त रकम जम्मा गर्नु भनेर दवाव दिएको बताए ।

विद्यार्थीहरुले मेडिकल कलेजमा मेडिकल शिक्षाका लागि हुनुपर्ने आवश्यक पूर्वाधारसमेत नभएको गुनासो सुनाए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले मेडिकल कलेजलाई पत्र नै लेखेर बढी शुल्क नलिन आग्रह गरेको तर नमानेको बताए । प्रजिअ बस्नेतले कानुनी कारबाहीका लागि सहयोग गर्न विद्यार्थीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment