Comments Add Comment

विदेशिने कामदारमा १.५ प्रतिशत मात्र दक्ष

२ असोज, काठमाडौं । हातमा सिप हुनेले विदेशमा राम्रो काम र सेवा सुविधा पाउँछन् भन्ने त कसलाई थाहा छैन होला ? तर अधिकांस नेपाली युवा सिपविहिन अवस्थामा विदेश जान्छन्, र सबैभन्दा तल्लो तहको श्रमिकका रुपमा काम गर्छन् ।

युवालाई गाउँमा गतिलो सिप सिक्ने अवस्था छैन भने शहर झरेर सिप सिक्न उनीहरुसँग चेतना र आर्थिक स्रोतको अभाव छ । यही कारण सीधै गाउँबाट दलालसँग म्यानपावर छिरेर अदक्ष काममा विदेशिने गर्छन् उनीहरु ।

यसको फलस्वरुप नेपाली कामदारले विदेशमा पुगेर धेरै दुःख र कडा खालको मिहिनेत त गर्नुपरेको छ नै, आम्दानी पनि कम छ । यस्ता अदक्ष काममा जाने गरेका कारण कामदारको संख्या अनुरुप रेमिट्यान्स पनि भित्रिन सकेको छैन ।

कति दक्ष/अदक्ष ?

वैदेशिक रोजगार विभागमा अनुसार गत आव २०७५/७६ मा करिब ५३ प्रतिशत विदेसिएका युवा पूर्णतः अदक्ष थिए । वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित अदक्ष कामदारले विदेशमा जोखिमपूर्ण र स्वास्थ्यमा असर पर्न सक्ने खालका काम गर्नुपर्ने बताउँछन् ।

‘सिप नभएपछि थ्री डी (डिफिकल्ट, डर्टी र डेन्जरस) काम गर्नैपर्छ,’ उनी भन्छन्, ‘यसरी विदेसिँदा आफ्नो उमेर त खेर जान्छ नै, भविष्यमा स्वास्थ्य सम्बन्धि गम्भिर समस्या निम्तिने खतरा पनि हुन्छ ।’

गत वर्ष ३५ प्रतिशत युवा सामान्य खालको सिप सिकेर विदेश गएका थिए । यसैगरी ८ प्रतिशत युवा अर्धदक्ष थिए । विज्ञता हासिल गरेका र उच्च दक्ष कामदारको संख्या अत्यन्तै न्यून छ ।

गत आर्थिक वर्षमा २ लाख ८५ हजार ४ सय ४५ जना अदक्ष कामदारहरु श्रम स्वीकृति लिएर विदेश पुगे । एक लाख ७९ हजार ६०१ जना दक्ष कामदारले पनि विदेशकै बाटो रोजे । दक्ष कामदारमा धेरैजसो एकपटक विदेश गएर फर्किएकाहरु छन् । कामदारहरुले सिप सिकेर फर्किएपछि फेरि सोही काममा फर्किँदा दक्षको सूचीमा समावेश हुन पाउँछन् ।

एक वर्षका बीचमा ४२ हजार ७८४ जना अर्धदक्ष कामदार विदेशमा पुगेको विभागको तथ्यांकले देखाउँछ । ७ सय ८७ जना प्रोफेसनल र २१० जना उच्च दक्षता भएका कामदार गत आवमा विभिन्न देशमा कामका लागि उडेका छन् ।

नेपालबाट वैदेशिक रोजगारीमा रहेकामध्ये तीन चौथाईभन्दा बढी अदक्ष रहेको युवा तथा खेलकुद मन्त्रालयको तथ्यांकले देखाउँछ । मन्त्रालयका अनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् ।

अहिले वैदेशिक रोजगारीमा दक्ष नेपाली युवा जम्मा १.५ प्रतिशत मात्र रहेको मन्त्रालयले तयार गरेको एक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै रोजगारीका लागि विदेश गएका नेपालीहरुमध्ये २३ प्रतिशत अर्धदक्ष छन् ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसाल पछिल्लो सयममा सिपयुक्त जनशक्ति विदेसिने क्रम बढेको बताउँछन् । सिप सिकेर विदेश जाँदा समस्यामा पर्ने जोखिम कम हुने कुरा कामदारले बुझ्दै गएको उनको भनाइ छ ।

अप्ठेरा काममा नेपाली

नेपालमै बसेर गरीखान गाह्रो भएपछि हतासमा परेका युवा हतारमै विदेश उड्ने परिपाटी संस्कारकै रुपमा विकास भएको छ । अझ पछिल्लो सयममा सिप सिक्नुपर्छ भन्ने चेतना फैलिए पनि सिप सिक्नका लागि तारतम्य मिलाउन नसक्दा पनि धेरैले अदक्ष कामदारकै भिसा लगाएर विदेशको यात्रा तय गर्ने गरेका छन् ।

विदेशमा पनि नेपाली युवाले आफ्नो रुचि, योग्यता र क्षमताअनुसारको काम पाइरहेका छैनन् । यसको मूल कारण भने हातमा सिप नभएर नै हो । आफ्नो शैक्षिक योग्यता अनुसारको सिप सिक्ने हो भने विदेशमै पनि राम्रो क्षेत्रमा काम पाउन सकिने म्यानपावर व्यवसायीहरु बताउँछन् ।

अहिले नेपाली कामदारहरु मलेसिया खाडीमा देशमा घर, सडक, पुल, रंगशाला, रेलमार्ग बनाउनेदेखि फ्याक्ट्री वर्कर, सेक्युरिटी गार्ड, होटेल मजदुर लगायतका रुपमा जाने गरेका छन् । विदशेमा धेरै नेपालीले हाउस किपिङ र क्लिनिङको काम गर्छन् । यस अन्तरगत घरको सरसफाइ, बाटोको सफाइ, औद्योगिक क्षेत्रभित्रको काम अनि एयरपोर्टमा समेत नेपालीहरुले सफाइ मजदुरको भूमिका निभाउँछन् । भवनमा विभिन्न भाग सफा गर्ने र घरायशी काम गर्नेमा नेपाली कामदारकै बाहुल्यता छ । यस्ता कामहरु ‘इन डोर’ र ‘आउट डोर’ गरी दुवै प्रकारका हुन्छन् । आउटडोरमा काम गर्नु अप्ठेरो र जोखिमपूर्ण पनि हुन्छ ।

विदशेमा कन्स्ट्रक्सनको काममा पनि नेपालीहरु प्रशस्त भेटिन्छन् । बाटोघाटो, पुल लगायतका निर्माण आयोजनामा काम गर्न सजिलो छैन । गाह् भएपनि यही काम गर्दा तलब भने कम हुन्छ । यस्तो काममा दुर्घटनामा परेर ज्यान जाने जोखिम पनि बढी हुन्छ ।

नयाँ घर तथा संरचनाको रंगरोगन, पुराना घरको रिपेयरिङ लगायतका काममा पनि नेपाली कामदार ठूलो संख्यामा पुग्छन् । यो काम पनि निकै चुनौतीपूर्ण मानिन्छ । स्काफोल्डिङ धेरै नेपाली कामदारहरुले गर्ने अर्को काम हो । धेरै नेपालीले यो काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

ट्रली ब्वाइका रुपमा कार्यरत नेपालीहरु पनि विदेशमा प्रशस्त भेटिन्छन् । सुपरमार्केट वा एयरपोर्टतिर आएका मानिसहरुको झोला वा ब्यागलाई ट्रलीमा हालेर उनीहरुको सवारी साधनसम्म पु‍¥याउने काममा पनि नेपाीलीको संख्या उच्च छ ।

सुरक्षा गार्डमा पनि धेरै नेपाली विदेश पुग्छन् । तर, धेरैजसोले तालिम लिएका हुँदैनन् । घर, सुपरमार्केट, होटल, एयरपोर्ट, कम्पनी लगायतमा चेकजाँच गर्ने कार्यमा उनीहरु खटिएका हुन्छन् । यो काम सुरक्षा चुनौती भएका क्षेत्रमा सहज हुँदैन ।

सिप अनिवार्य गर्ने योजना

सरकारले विभिन्न काममा जाने युवालाई सीप सिक्न अनिवार्य गर्ने तयारी पनि गरेको छ । वैदेशिक रोजगारीमा जाने युवाहरुको अनिवार्य सिप प्रमाणीकरणको व्यवस्था कहिले लागू हुन्छ भन्ने निश्चित भने भएको छैन । सरकारले उपत्यकाबाहिर पनि तालिम केन्द्रहरुलाई अनुमति दिएपछि मात्रै यो व्यवस्था लागू हुने बताएको छ ।

गत असारबाटै विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सिप जानेकै हुनुपर्ने प्रावधान सरकारले बनाएको थियो । पहिलो पटक तयारी नपुगेकाले नयाँ आर्थिक वर्षबाट सुरु गर्ने भनिएको थियो ।

तर, अहिले वैदेशिक रोजगार विभागले थप १०४ वटा तालिम केन्द्रलाई सूचीकृत गर्न लागेको छ । त्यसका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमा विभागले सूची पठाएको छ । अब विशेषज्ञसहितको टोलीले ती संस्थाको अनुगमन गरेपछि मात्रै अनुमति प्रदान गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक भुसालले जानकारी दिए ।

‘सम्भवतः असोज पहिलो साताबाट अनुगमन सुरु हुन्छ । योग्यता र पूर्वाधार पुगेका तालिम केन्द्रलाई सूचीकृत गरेपछि हामी विदेश जाँदा सिप अनिवार्य गर्न सुरु गर्छौं,’ उनले भने, ‘मोफसलमा पनि तालिम लिन पूर्वाधार तयार भएपछि कामदारलाई काठमाडौं आउनै पर्ने बाध्यता हुँदैन ।’

विभागले यसअघि सिपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत गरिसकेको छ । महानिर्देशक भुसालले सुरु भएपछि क्रमैसँग तोकिएका सबै सीपमा आधारित काममा जानेलाई प्रमाणपत्र अनिवार्य गर्दै लैजाने बताए ।

म्यानपावर व्यवसायी यस्तो व्यवस्था तत्कालै गर्न नहुने पक्षमा छन् । व्यवस्था लागू भएपछि सिपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नपाइने भएकाले उनीहरुले यसको विरोध गर्दै आएका छन् ।

सरकारले पहिलो चरणमा हाउस वाइरिङ÷इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ÷क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्ट÷टेलरिङ र प्लम्बिङको काम गर्न विदेश जाने कामदारले सिप सिकेको प्रमाणपत्र अनिवार्य गर्न लागेको छ । सुरुआत गरेपछि क्रमसँग अन्य क्षेत्रमा जाने कामदारको हकमा पनि यो नियम लागू गर्दै जाने योजना रहेको महानिर्देशक भुसाल बताउँछन् ।

सिप सिकेर मात्रै विदेश जाँदा कामदारको सेवा सुविधा पनि राम्रो हुने र कामदारको कार्य स्थलमा सुरक्षा पनि प्रत्याभूत हुने विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment