Comments Add Comment

इलाम साहित्य महोत्सव सुरु

३ असोज, फिक्कल । इलाममा शुक्रबार दुई दिने इलाम साहित्य महोत्सव शुरु भएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञले विभिन्न विषयमा छलफल र बहस गरिरहेका छन् ।

इलाम साहित्य समाजले आयोजना गरेको महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाली काङ्ग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदीप गिरी, चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री स्वस्तिमा खड्का, कवि श्रवण मुकारुङ, भूपाल राई, आख्यानकार राजन मुकारुङसहित अन्य ख्याति प्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञलगायत ५०० बढी साहित्यकार इलाम भित्रिने जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन आलोचनात्मक चेत र लोकतन्त्रका बारे वक्ता प्रा. डा. सञ्जीव उप्रेती, सत्ता कि प्रतिपक्ष शीर्षकमा वक्ता श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील र सहजकर्तामा विमल वैद्य, ‘अ’ मा अल्झेको इलाम विषयमा वक्ता युद्यप्रसाद वैद्य, महेश बस्नेत, विष्णु निष्ठुरी र सहजकर्तामा केदार शर्मासहित छलफलमा जुटेका थिए ।

त्यस्तै, मानक माथि प्रश्न विषयमा मुख्य वक्ता राजन मुकारुङ, मिश्र वौजन्तीबीचको अन्तरसम्वाद उज्वल प्रसाईले सञ्चालन गरेका थिए ।

अधिकारको पेवा सन्दर्भ विचारमा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धरावासी र सहजकर्तामा समीरबाबु कट्टेलले छलफल गरे ।

त्यस्तै, किन बिक्न छोड्यो आख्यान विषयमा मुख्य वक्तामा भूपिन, प्रकाश बुढाथोकी, बीना थिङ र सहजकर्ता बालिका थपलियाको रहेको छ । पर्यटनको आयाम सम्बन्धमा मुख्य वक्ता हरिशचन्द्र राई, केशव धौराली र सहजकर्तामा धर्म गौतमको प्रस्तुति रहेको आयोजक इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिए । पछिल्लो समय साहित्यप्रति मानिसको मोह बढ्दै गएको पाइन्छ । इलाममा पनि सयौँ साहित्यप्रेमी भेला भएका छन् ।

जीवनलाई कसरी सुधार्ने, कसरी जीवन उपयोगी बनाउने भन्नेबारे पनि साहित्यले मानिसको चेत खोल्ने साहित्यकार उज्वल शर्माको भनाइ छ । शनिबार महोत्सवमा साहित्यको पछिल्ला आन्दोलनको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कवितालगायतका विषयमा मुनाराज शेर्माले बहस चलाउने र करोड क्लबसहित अफवाह शीर्षकमा सिनेमा विधामा मुख्य वक्तामा दयाहाङ राई, यज्ञस, ब्रजेशको साथै सहजकर्तामा अन्वेश थुलुङ राईको प्रस्तुति रहने बताइएको छ ।

नेपाली साहित्यमा मन्दुम विधामा मुख्य वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता हाङयुग अज्ञात रहनु हुनेछ भने गीतको दुःख विधामा मुख्य वक्तामा गणेश रसिक, कोमल निरौला, गुरुङ सुसान्त र सहजकर्तामा सुरेन्द्र राई रहने बताइएको छ । सिनेमा र सन्देश शीर्षकमा वक्तामा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तीमा खड्का साथै सहजकर्तामा सुरेन्द्र राई रहने जनाइएको छ ।

गणतन्त्र खतरामा राजनीति विधामा मुख्य वक्ता विश्व प्रकाश शर्मा, योगेश भट्टराई र सहजकर्तामा बसन्त बस्नेत रहनेछन् भने साहित्य र राजनीति विचारका मुख्य वक्ता विधामा प्रदीप गिरीको प्रस्तुति रहने कार्यक्रम तय भएको छ । पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रम सुस्ताइरहेको अवस्थामा पुनःजागरणसहित यस्तै कार्यक्रम भइरहेका छन् । यसअघि यस्तै किसिमको कार्यक्रम देउमाई नगरपालिकाको मङ्गलबारेमा समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment