Comments Add Comment

सिरियामा युद्धविराम गर्ने अमेरिकी प्रस्ताव टर्कीद्वारा अस्वीकार

२९ असोज, काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए । सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ टर्की जाने तयारी गरिरहेको बेला राष्ट्रपति एर्दोगानले युद्ध नरोकिने बताएका हुन् ।

बीबीसीका अनुसार, टर्कीका राष्ट्रपति एर्दोगानले कुर्द लडाकुहरूलाई सीमा क्षेत्रबाट हटाउन पश्चिमा विश्वसँगको आफ्नो सम्बन्धको जुनसुकै मूल्य चुकाउने बताएका छन् ।

टर्कीमाथि आर्थिक प्रतिबन्ध

उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने अमेरिकी निर्णयलगत्तै टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । सिरियाली कुर्द लडाकूविरुद्धको घातक आक्रमण गरेको भन्दै अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिवन्ध लगाएको छ । साथै स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो । टर्कीका राष्ट्रपति एर्दोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए ।

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

ट्रम्पको आलोचना

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ ।

राष्ट्रपति ट्रम्पका रिपब्लीकन सांसदहरूले समेत इस्लामिक स्टेट समूहबिरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुन सक्ने आशंका गरिएको छ । सिरियाली सेना मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment