Comments Add Comment

योजना नबन्दा पर्सामा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्न समस्या

३० असोज, वीरगञ्ज । पर्सा जिल्लामा विपद् व्यवस्थापन योजना तयार नहुँदा काम गर्न समस्या भएको छ । अन्तर्राष्ट्रिय विपद जोखिम न्युनिकरण दिवसको अवसरमा अयोजित साताव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार आयोजित कार्यक्रममा सरोकारवालाले त्यस्तो गुनासो गरेका हुन् ।

२०७१ सालमा बनाइएको पञ्चवर्षिय योजनाको म्याद सकिएको र अर्को योजना नबनिसकेकोले समस्या भएको सरोकारवालाले बताएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँगको सहकार्यमा दिवसको अवसरमा अन्तर्क्रिया राखेको थियो ।

पर्सामा बाढी, डुबान, आगलागी, शितलहर, हुरीबतास, चट्याङ, खडेरी, महामारी, कृषिबाली र पशुपंक्षीमा रोग, असिना जस्ता विपदको जोखिम छ । त्यति मात्रै नभएर जंगल क्षेत्रमा बाह्रै महिना जंगली जनावारको आतंकले जनजीवन प्रभावित हुनुको साथै अन्नबाली नष्ट हुने गरेको छ ।

दातृ निकायले पर्सा जिल्लामा विपद व्यवस्थापनको क्षेत्रमा काम गर्न खोज्दा बुझाउने योजना समेत नभएकोले काम गर्न समस्या भइरहेको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति विरेन्द्रराज कँडेलले बताए । ‘विपद व्यवस्थापनका लागि काम गर्न इच्छा देखाएर दातृ निकाय आउँछन्, उनीहरु जिल्ला विपद व्यवस्थापन योजना माग गर्छन्, हामीसँग त्यही छैन’ उनले भने ।

त्यसो त जिल्लामा योजना तयारीका लागि काम नभएको भने होइन । विपद व्यवस्थापन योजनाको काम आगाडि बढी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले केही स्थानीय तहले माग गरेको तथ्याङ्क नदिएकोले योजना तयार हुन नसकेको बताए ।

जिल्ला विपद व्यवस्थापन समिति पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले स्थानीय तहको योजना बनेपछि जिल्लाको योजना बनाउन खोज्दा ढिलाई भएको बताए । ‘ स्थानीय तहले पहिला योजना बनाईसकेपछि त्यसैलाई एकीकृत गरेर जिल्लाको योजना बनाउने सोच हामीले बनाएका थियौं । किनकी उनीहरुलाई स्थानीय स्तरको जानकारी बढी हुन्छ । तर स्थानीय तहले जुन सक्रियता देखाउनुपर्ने हो त्यस्तो पाएनौं,’ उनले भने ‘ त्यसैले जिल्लाको योजना पहिला बनाउँदैछौं ।’

विपदका कारणले कसैले ज्यान नगुमाउन भन्ने धारणा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले स्थानीय तहलाई समेत विपद व्यवस्थापनको जिम्मेवारी दिएको छ । अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकनिबाट जोगाऔं भन्ने नाराका साथ मनाईदै गरेको दिवसको अवसरमा पर्सामा पनि असोज २६ गतेदेखि कात्तिक २ गतेसम्मका लागि विभिन्न कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment