Comments Add Comment

सुदूरपश्चिममा सात वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै

४ कात्तिक, डोटी । मंसिर १४ गते हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशका चार जिल्लाका सात वडामा वडाध्यक्षका लागि निर्वाचन हुने भएको छ ।

बैतडीमा तीन, अछामका दुई, कञ्चनपुरमा एक, बाजुरामा एक र डोटीमा एक वडाका लागि उपनिर्वाचन हुने छ । बैतडीको पुर्चौंडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परी २०७६ साल असार पहिलो साता मृत्यु भएको थियो ।

यस्तै बैतडीकै सुर्नाया गाउँपालिका १ का कलशबहादुर चन्दको पनि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । गत साउन २ गते बैतडी सतबाँझ चौराहमा भएको दुर्घटनामा घाइते भएका चन्दलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो

बैतडीकै दोगडाकेदार गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मानवहादुर बिष्टको हृदयघातबाट मृत्यु भएके थियो । २०७५ सालमा विष्टको निधन भएपछि एक बर्ष भन्दा बढी समयदेखि वडाध्यक्षको पद रिक्त छ ।

डोटीको आदर्श गाउँपालिका २ का वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा मृत्यु भएको थियो । छोरीको उपचारका लागि सार्वजनिक जीपमा उपक्षेत्रीय अस्पताल डडेल्धुरा जाने क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा २०७५ साल जेठ १५ गते भएको दुर्घटनामा उनको मृत्यु भएको थियो ।

यस्तै अछामको मेल्लेख गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर बोहराको २०७४ साल साउनमै बाजुराको प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल “बडीमालिका” मेलामा जाने क्रममा लेक लागेर मृत्यु भएको थियो । स्थानीय तहको निर्वाचन भएको तीन महिनामै वडाध्यक्ष पद रिक्त भएको थियो ।

बाजुराको त्रिवेणी नगरपालिका १ काअध्यक्ष खम्म नेपालीको पनि जीप दुर्घटनामै मृत्यु भएको थियो । २०७५ साल असार १४ गते त्रिवेणी नगरपालिका–४, पिपलसैन भन्ने ठाउँमा भएको जीप दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

कञ्चनपुरको पुनर्बास नगरपालिका ३ मा पनि उप–निर्वाचन हुनेछ । वडा नं. ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुखमा चयन भएपछि उनको पद पनि रिक्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment