Comments Add Comment

जुनारमा किरा लागेपछि रामेछापका किसान चिन्तित

१२ कात्तिक, रामेछाप । पाक्ने बेला जुनार झर्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । किरा लागेपछि पाक्ने बेलाको जुनार र्झन थालेको हो ।

यसअघि यहाँको जुनार सडक नपुगेका कारण बिक्री नभएर किसान चिन्तित थिए । सडक पुग्यो तर अहिले रोग देखा परेको छ ।

पछिल्लो समय बोट नै मर्ने, फलमा किरा लाग्ने रोग देखा परेको छ । जुनारको किरा नियन्त्रणको लागि प्रयास गरिरहेको भए पनि अझै पनि किरा पूर्णरुपमा नियन्त्रण हुन नसकेको कृषि प्राविधिकहरु बताउँछन् ।

जुनारमा ‘बेक्टोशेरा सिरामीन’ नामक झिँगाले फैलाएको व्याक्टेरीयाका कारण फलमा किरा लाग्ने र कुहिएर बोटमै नस्ट हुने गरेको उनीहरुको भनाइ छ ।

बेक्टोशेरा सिरामीन नामक एक प्रकारको झिँगाले जुनार फलमा फूल पार्ने र त्यो फूलबाट औंसा बिकसित भइ फलभित्र किरा लाग्ने गर्दछ ।

किरा लागेर पाक्ने बेला भएको जुनार बँगैचाभरी झरेको गोकुलगंगा गाउँपालिकाको नामाडीका कृषक एवम वडानम्ब ५ का वडाअध्यक्ष बलराम खड्का बताउँछन् । रुखमा भन्दा भुइँमा झरेका फल बढी भएको उनले बताए ।

यस वर्षबाट रामेछाप जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुर भएको छ । परियोजना अन्तर्गत जिल्लाका मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका केही क्षेत्रमा जुनार पकेट क्षेत्र घोषणा गरिएको छ ।

परियोजना सुरु भएपछि कृषकहरुमा केही उत्साह थपिएको भए पनि रोगको कारण बजार लैजाने बेलाको जुनार नष्ट भएपछि कृषकहरु चिन्तित भएका छन् ।

रामेछाप नगरपालिकाको रामेछाप, ओख्रेनी, सुकाजोर, मन्थली नगरपालिकाको सालु, देउराली, भलुवाजोर, खाडादेवी गाउँपापालिकाको खाँडादेवी, माकादुम, पकरबास, गोकुलगंगा गाउँपालिकाको फर्पू, नामाडी, सुपापतिको खनियापानी, हिलेदेवी, दिमीपोखरी दोरम्बाको दोरम्बा, लखनपुर, गुन्सीलगायतका स्थानमा व्यवसायिक रुपमा जुनारको खेती गरिएको छ ।

तत्कालीन राजा वीरेन्द्र शाह २०४० सालमा रामेछाप भ्रमण आउँदा रामेछापमा जुनार खेतीको राम्रो सम्भावना देखाउन रामेछाप बजारमा लटरम्मै फलेका जुनारका बोटहरु गाडिएको ओख्रेनीका जुनार किसान पदमबहादुर तामाङ बताउँछन् । त्यसैबाट प्रभावित भइ राजा वीरेन्द्रले रामेछापलाई जुनार क्षेत्र घोषणा गरेका थिए ।

रामेछाप जिल्लालाई जुनार क्षेत्र घोषणा गरेपछि सरकारले जुनार खेतीको लागि विशेष कार्यक्रम ल्याएको थियो । जुनार खेती गर्ने कृषकहरुलाई सस्तो ब्याजमा ऋण, अनुदानमा बिरुवा तथा रासयानिक मलसमेत उपलब्ध गराएको थियो ।

राज्यले नै जुनार खेतीमा सहयोग गरेपछि किसानहरुले व्यवसायिकरुपमा खेती गरेको तामाङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment