Comments Add Comment

कर्णाली प्रदेशमा एक वर्षभरिमा एउटा मात्र उद्योग दर्ता

१३ कात्तिक, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ मा देशभर ४ सय ३६ वटा उद्योगहरु दर्ता भए । त्यसमध्ये कर्णाली प्रदेशमा भने यो आवमा केवल एउटा उद्योग दर्ता भएको छ ।

सुर्खेत वीरेन्द्रनगरको वडानम्बर ८ मा हिमालयन माउन्टेन कफी प्रोडक्सन प्रालि सञ्चालनमा आएको हो । यसले १५ जनालाई रोजगारी दिएको छ । यो उद्योगमा कुल ५० लाख पूँजी लगानी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आवमा सबैभन्दा धेरै उद्योग केन्द्रीय राजधानीसमेत रहेको प्रदेश ३ मा दर्ता भएका थिए । यस प्रदेशमा २ सय ६२ वटा उद्योग दर्ता भएका छन् । यस्तै प्रदेश १ मा ५६, प्रदेश २ मा ३०, गण्डकी प्रदेशमा ५५, प्रदेश ५ मा २५ र सुदूरपश्चिम प्रदेशमा ७ वटा उद्योग गत आर्थिक वर्षमा दर्ता भए् ।

प्रदेश १ मा ५६ उद्योग दर्ता हुँदा कुल ६३ अर्ब २१ करोड ९० लाख रुपैयाँभन्दा धेरै लगानी भएको देखिन्छ । यी उद्योगहरुले ३ हजार ६४२ जनालाई रोजगारी सिर्जना गर्ने विभागले जनाएको छ ।

प्रदेश २ मा ३० वटा उद्योग दर्ता हुँदा १० अर्ब ७९ करोड ५४ लाख कुल पूँजी लगानी भएको छ । ३ हजार ४ सय ६ जनालाई उद्योग सञ्चालनपछि रोजगारी मिल्ने विभागले जनाएको छ ।

यस्तै, प्रदेश ३ मा २ सय ६२ वटा उद्योग दर्ता हुँदा कुल १ खर्ब ८ अर्ब ३९ करोड ६ लाख रुपैयाँ कुल पूँजी कायम रहेको छ । प्रदेश ३ मा दर्ता भएका उद्योगहरुबाट १० हजार ५२ जनामा रोजगारी सिर्जना गर्ने विभागले जनाएको छ ।

गण्डकी प्रदेशमा उद्योग दर्ता संख्या कम देखिए पनि लगानी प्रतिबद्धता भने सबै प्रदेशभन्दा उच्च छ । कुल ५५ उद्योगका लागि यस प्रदेशमा ७० अर्ब ११ करोड २१ लाख रुपैयाँ पूँजी लगानी हुनेछ । कुल ३ हजार २४६ जनालाई दर्ता भएको उद्योगमा रोजगारी मिल्ने छ ।

प्रदश ५ मा २५ वटा उद्योग गत वर्ष दर्ता भएका छन् । १८ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल पुँजी लगानी हुने यी उद्योगमा २ हजार ८ जनालाई रोजगारी मिल्ने छ ।

सुदूरपश्चिम प्रदेशमा गत आवमा ७ वटा उद्योग दर्ता हुँदा तिनीहरुको कुल पुँजी ११ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ छ । यी उद्योग सञ्चालनमा आएपछि ५९३ जनाले रोजगारी पाउने बताइएको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार एक वर्षमा स्वदेशी लगानीका २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ कुल चुक्ता पुँजी उद्योग क्षेत्रमा भित्रिएको छ । यी उद्योगले २२ हजार ९ सय ६१ जनालाई रोजगारी प्रदान गर्ने आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment