Comments Add Comment

अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको निर्देशन

१७ कात्तिक, काठमाडौँ । सरकारले चिकित्सा शास्त्र अध्ययनका लागि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय चिकित्सा शिक्षा आयोगले संयुक्त विज्ञप्ति जारी गरी सरकारले तोकेको शुल्क लिन र विगतमा गरेको सम्झौता अनुसार बढी उठाइएको शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सरकारले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि गत वर्ष ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले यो भन्दा बढी शुल्क लिएका थिए ।

विगत लामो समयदेखि शुल्क फिर्ताको माग लिएर वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल, चितवनको चितवन मेडिकल कलेज र पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको अवज्ञा गर्दै कलेजहरुले शुल्क फिर्ता गरेका छैनन् ।

सोही कारण विगतको निर्णय र मन्त्रालयको निर्देशन अवज्ञा भए कानुनी कारबाही अगाडि बढाइने उल्लेख गर्दै मन्त्रालय र आयोगले मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न निर्देशन दिएको हो । त्यस्तै विद्यार्थी तथा अभिभावकलाई कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिइएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्न पनि मन्त्रालय र आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment