Comments Add Comment

प्रदेश प्रमुख प्रसाईले सम्हाले पदभार

२० कात्तिक, हेटौंडा । नवनियुक्त ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईले हेटौंडास्थित प्रदेश कार्यालयमा बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख प्रसाईलाई आन्तरिक मामिला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेल, आर्थिक मामीला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख सचिव लगायत प्रदेश सरकार र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए । उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।

कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख प्रसाईले संविधानले दिएको जिम्मेवारी निष्ठा पूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेशको विकासका लागि दलहरु र सबैको सुझाबबाट अघि बढ्ने बताए । मंगलबार राष्ट्रपतिबाट सपथ लिएका प्रदेश प्रमुख प्रसाई बुधबार कार्यकक्षमा उपस्थित भएका हुन् ।

परिचायत्मक कार्यक्रममा हाँसो-ठट्टा 

तीन नम्बर प्रदेश प्रमुख विष्णु प्रसाईले पदभार ग्रहण गरेसँगै उनी प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको पहिलो औपचारिक समारोहमा सहभागी भएका थिए । प्रदेश कार्यालयले आयोजना गरेको औपचारीक कार्यक्रमको सुरुवातपछि परिचयको क्रम सुरु भयो ।

सबैले आ-आफ्नो स्थानबाट उठेरै परिचय दिए । सबैको परिचयसँगै प्रदेश प्रमुखले आफ्नो परिचय दिएपछि बस्न खोजे । सोही समयमा प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्रीले तपाइँको पुर्ख्यौली घर कता पर्यो होला भनेर जिज्ञास राखे । प्रदेश प्रमुखले पुर्ख्यौली घर ताप्लेजुङ भएको बताए । आन्तरिक मामीला तथा योजना मन्त्री कैलाश ढुङ्गेल यतिमै रोकीएनन् । उनले त्यसअघिको पुर्ख्यौली घर भन्दै प्रदेश प्रमुख समक्षा प्रतिप्रश्न गरे । जवाफमा प्रदेश प्रमुखले रामेछाप भनेपछि सभाहल केही क्षण हाँसोले गुञ्जायमान भयो । पहिलो औपचारिक कार्यक्रममै प्रदेश प्रमुखसँग एकजना मन्त्रीको ठट्ट्यौली पाराको परिचायत्मक कार्यक्रम देखेपछि त्यहाँ सहभागी सञ्चारकर्मीहरु मुखामुख गरेका थिए । आफ्नै पार्टीको नेता प्रदेश प्रमुख भएकै कारण सहजरुपमा प्रदेश प्रमुखलाई ठट्टा गरिएको हो कि भन्ने भान कार्यक्रम स्थलमा स्पष्टै देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment