Comments Add Comment

रानी भन्सारबाट ३७ प्रतिशतले घट्यो आयात

२० कात्तिक, विराटनगर । पूर्वी नेपालको रानी भन्सार नाकाबाट आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ३७ दशमलव २५ प्रतिशतले घटेको छ । यो अवधिमा निर्यात झण्डै १७ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ ।

गत वर्षको पहिलो त्रैमासिकमा ६५ अर्ब ६२ करोड रुपैयाँको आयात रानी भन्सार नाकाबाट भएको थियो । यस्तै, ६ अर्ब ३७ करोड रुपैयाँको मालबस्तु निकासी भएको थियो । यसरी ५९ अर्ब २५ करोड रुपैयाँ व्यापार घाटा भएको थियो ।

यसपटक ५२ अर्ब २५ करोड रुपैयाँको मात्रै आयात भएको छ । निर्यात ७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यस हिसाबले व्यापार घाटा ४४ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।

‘यो एकदमै सुखद खबर हो,’ रानी भन्सार कार्यालयका सुचना अधिकारी मनिराम पौडेलले भने, ‘बाँकी ९ महिनामा पनि यही ट्रेन्ड कायम रहेमा व्यापार–घाटामा राहत मिल्ने देखिन्छ ।’

भन्सार प्रमुख मिमांसु अधिकारीले सरकारले इनर्जी ड्रिंक्स, जंक फुड ल्याउन बन्द गरेकाले आयातमा प्रभाव परेको बताए । गत वर्षको तुलनामा सवारीसाधन र स्पेयर्स पार्ट्सहरूको आयातमा पनि कमी आएको उनले जानकारी दिए ।

भन्सार प्रमुख अधिकारीका अनुसार राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा गठित समितिले अध्ययन गरी आयात रोक्न सकिने सामग्रीहरूको सूची सिफारिस गरेको थियो । उक्त आधारमा मन्त्रिपरिषद्ले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक), प्लास्टिक, लाइटलगायत विभिन्न सामग्रीहरू आयातमा पूर्ण रूपमा बन्देज लगाएको छ ।

पहिलो तीन महिनाको अवधिमा रानी नाकाबाट पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्नलगायतको आयात उच्च छ । पहिलो नम्बरमा इन्धन आयात रहेको छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष विराटनगर नाका भएर नेपालका लागि ५२ प्रतिशत खाद्यान्न, ६९ प्रतिशत पेट्रोलिय पदार्थ, ४८ प्रतिशत नयाँ सवारी साधन र ३८ प्रतिशत औषधि आयात भएको थियो । पूर्वकै सबैभन्दा ठूलो सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्र पनि यही रहेको छ । जहाँ साना ठूला गरी करिव सात सयको संख्यामा उद्योगहरु रहेका छन् ।

बिराटनगर भन्सार कार्यालयका अनुसार गएको बर्ष भारतबाट २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट १७.४ प्रतिशतले आयात बढेको थियो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत पौडेलले अघिल्लो आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकबाट १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको जानकरी दिए । सोही अवधिमा १७ अर्ब ८९ करोड ७४ लाख रुपैयाँको वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको थियो ।

रानी भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य भने भेटाउन सकेको छैन। आर्थिक बर्षको पहिलो महिना साउनमा २ करोड ७१ लाख मात्र राजस्व संकलन भएको छ । भन्सार कार्यालयले साउन महिनामा ३ करोड ९८ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

त्यसैगरी भाद्र महिनामा ४ करोड ९७ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि ३ करोड २८ लाख रुपैया मात्र राजश्प संकलन भएको छ । कात्तिक महिनामा ४ करोड ९७ लाख राजस्व उठाउने लक्ष्य राखेको भन्सार कार्यालयले २ करोड ४७ लाखमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment