 
																			१३ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि नै निर्वाचन आचार संहिता लागू हुने घोषणा गरिसकेको छ । तर, गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुन लागेको महोत्तरीको पिपरा गाउँपालिकामा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममा दुईजना बहालवाला मन्त्रीले सहभागिता जनाएका छन् । मन्त्रीको सहभागितालाई लिएर निर्वाचन आचारसंहिता सम्बन्धी प्रश्न उठेको छ ।
पिपरा गाउँपालिमा नेकपाले बुधबार छठको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको थियो । स्थानीय तहको कार्यक्रममा नेकपाका केन्द्रीय नेतादेखि बहालवाला मन्त्रीसम्मको सहभागितामा सभा सम्पन्न भयो । सभामा सहभागी नेताहरुले गाउँपालिका अध्यक्षका लागि जनतासँग मतसमेत मागे । उनीहरुले स्थानीय सडक चाँडो बनाइदिने आश्वासन दिए । नेकपा अध्यक्ष प्रचण्डले त पिपराको सडक चाँडो नबने आफ्नै नेतृत्वविरुद्ध अनसन बस्नेसमेत ऐलान गरे ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पर्यटन मन्त्री योगेश भट्टराईले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा पार्टीका तर्फबाट नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल सहभागी थिए ।
गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा केन्द्रीय नेता र मन्त्रीहरुको सहभागिता आगामी चुनावलाई नै लक्षित गरेर गरिएको आरोप विपक्षीहरुले लगाएका छन् । छठको शुभकामना आदान प्रदान भनिए पनि सूर्यचिन्ह अंकित झण्डाहरु समेत फहराइएको कार्यक्रम हेर्दा पिपरामा चुनाव लागिसकेको झल्को मिल्थ्यो ।
नेकपाका नेताहरुले पिपराको सभा कुनै चुनावी प्रचार कार्यक्रम नभई छठको अवसरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान कार्यक्रम मात्र भएको बताएका छन् । तर, कार्यक्रममा बोल्ने नेताहरुले भोट दिन आग्रह गरेको र कार्यक्रमस्थलमा नेकपाको चुनावचिन्ह अंकित झण्डाहरु फहराइएकाले यो कार्यक्रम छठको बाहनामा गरिएको चुनावी कार्यक्रम नै भएको विपक्षी नेताहरुको आरोप छ ।
राजपाका नेता एवं सांसद राजकिशोर यादवले महोत्तरीको पिपरामा नेकपाले आचारसंहिताको बर्खिलाप गरेको बताए । यादवले अनलाइनखबरसँग भने, ‘यो उहाँले भोटै मागेको हो । यो आचार संहिताको बर्खिलाप हो ।’
उपचुनाव हुन लागेको पिपरामा मन्त्रीहरु उपस्थित हुनु आपत्तिजनक छ रहेको बताउँदै यादवले थपे, ‘मन्त्रीहरु देशको तमाम समस्यालाई छाडेर एउटा स्थानीय तहमा भएको निर्वाचनको प्रचारमा जसरी राज्यको स्रोत र साधन दुरुपयोग गरेर गएका छन्, त्यो आफैंमा संविधान, कानून र आचारसंहिता विपरीत हो ।
कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले सडक बनेन, अनसन बस्छु भन्दै आफ्नै सरकारविरुद्ध बोलेको यादवले बताए । उनले भने, ‘प्रचण्डको आफ्नै पार्टीको सरकार छ, सडक बनेन त्यसैले मधेसको विकासका लागि मैले अनसन बस्नुपर्छ भन्ने टाइपको अभिव्यक्ति जनतालाई उत्तेजित पार्ने अभिव्यक्ति हो ।’
उपचुनाव हुने गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा मन्त्रीको उपस्थितिबारे जिज्ञासा राख्दा पर्यटन मन्त्री भट्टराईका स्वकीय सचिवले मन्त्री भट्टराई जनकपुर आएका बेला सरकारी सवारी साधन प्रयोग नगरी पार्टीको कार्यक्रममा सहभागी हुन गएको बताए । विहीबार जनकपुरमा आयोजना गरिएको छठको शुभकामना आदान-प्रदान कार्यक्रममा भाग लिन मन्त्री भट्टराई जनकपुर पुगेका हुन् । यहीबेला पिपराको कार्यक्रममा सहभागिता जनाएको उनले बताए ।
त्यस्तै शिक्षामन्त्री पोखरेलको आफ्नै चुनाव क्षेत्र भएकाले उपस्थित भएको नेकपाका नेताले बताएका छन् ।
निर्वाचन आचार संहिताले के भन्छ ?
निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि लागू हुने घोषणा गरेको आचार संहिताको परिच्छेद ३ को दफा ६ मा भनिएको छ, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार-प्रसार गर्नुहुँदैन ।’
आचार संहिताको सोही दफा अनुसार निर्वाचनमा उम्मेदवार भएको मन्त्रीले भने आफ्नो निर्वाचन क्षेत्रमा प्रचार-प्रसार गर्न पाउँछन् ।
महोत्तरीको पिपरा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको चुनाव क्षेत्रभित्र पर्ने गाउँपालिका हो । तर, पर्यटन मन्त्री योगेश भट्टाराई महोत्तरीका सांसद होइनन् । तर, आफ्नै चुनाव क्षेत्र भए पनि आचार संहिता लागू भइसकेको अवस्थामा मन्त्री पोखरेलको उपस्थितिले आचार संहिता उल्लंघन भएको विपक्षीको तर्क छ ।
पिपरामा आयोजित कार्यक्रममा मन्त्रीद्वय पोखरेल र भट्टराईको उपस्थितिलाई आचार संहिता उल्लंघन मान्न सकिन्छ कि सकिँदैन ? यसबारे अनलाइनखबरले राखेको जिज्ञासामा निर्वाचन आयोगका एक अधिकारीले भने, ‘मन्त्रीहरुले उपनिर्वाचन हुने ठाउँमा मात्र होइन, देशैभरिका कुनै पनि ठाउँमा आचारसंहिता विपरीत प्रचार प्रसारमा सहभागी हुन पाइँदैन । उनले थपे, ‘संघ र प्रदेशमा मन्त्रीहरुले आचारसंहिता राम्रोसँग पढ्नुपर्यो ।’
स्रोतका अनुसार पर्यटनमन्त्री योगेश भट्टराईले कार्यक्रममा जानुपूर्व निर्वाचन आयोगका एक पदाधिकारीलाई फोन गरेर पिपराको कार्यक्रममा जान मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा राखेका थिए । निर्वाचन आयोगका ती पदाधिकारीले मन्त्री भट्टराईलाई आचारसंहिता र बाह्य परिस्थितिबारे विचार गर्न भनेका थिए ।
आयोगमा प्रधानमन्त्रीलाई बोलावट
यसैवीच निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी भइसकेको अवस्थामा यसबारे सजग गराउन प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई विहीबार दिउँसो छलफलका लागि निर्वाचन आयोगमा बोलाएको छ ।
आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कात्तिक ८ देखि आचारसंहिता लागू भएता पनि तिहारको विदा भएकाले कार्यक्रम गर्न भ्याइएको थिएन, भोलि -विहीबार) दिउँसो प्रधानमन्त्री, मन्त्री र दलका नेताहरुलाई बोलाएर यसबारे छलफल गर्ने आयोगको तयारी छ ।’
तर, आयोगले बोलाए पनि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने सम्भावना छैन । किनभने, स्वास्थ्यमा समस्या देखिएकाले प्रधानमन्त्री बुधबार ग्राण्डी अस्पतालमा भर्ना भएका छन् ।
पिपरामा राजपा नेकपावीच मुख्य प्रतिस्पर्धा
महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) ले जितेको थियो । ०७४ को चुनावमा राजपाका विनोद कुमार चौधरीले २७७५ मत ल्याएका थिए ।
दोस्रो स्थानमा एमालेका विक्रम चौधरीले १८७३ मत ल्याएका थिए भने माओवादी केन्द्रका रामजानकी यादवले १५७८ मत पाएर तेस्रो स्थान हासिल गरेका थिए । यसपालिको उपचुनावमा एमाले र माओवादीवीच एकता भएकाले नेकपाको पुरानो मत ३४५१ हुन जान्छ ।
त्यसो त पिपराको चुनावमा यसपालि राजपालाई उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टीले सघाएको खण्डमा उसको केही मत बढ्न सक्छ । ०७४ को चुनावमा संघीय समाजवादी फोरमका बृजेश मिश्रले ६९३ मत पाएका थिए । समाजवादी पार्टीले सघाएको अवस्थामा राजापासँग २८ हजारको हाराहारीमा मत रहनेछ ।
यस्तो गणितीय अवस्थामा राजापाले एकीकृत नेकपाको सामना गर्दै पुनः जीत निकाल्नु निकै चुनौतीपूर्ण देखिन्छ । ०७४ सालमा बेग्लाबेग्लै चुनाव लडेर हारेका कम्युनष्टिहरुले यसपालि एकीकरणको फाइदा उठाउँदै जित हात पार्ने रणनीति बनाएका छन् । र, यही रणनीतिअनुसार बुधबार पिरामा प्रचण्ड, विष्णु पौडेल र मन्त्रीहरुसमेत उत्रिएको सहजै बुझ्न सकिन्छ ।
गत स्थानीय चुनावको मताधारमा हेर्दा पिपरा गाउँपालिकामा नेपाली कांग्रेस चौथो स्थानमा देखिन्छ । ०७४ को चुनावमा पिपराको गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार राधा रमण मिश्रले १४६८ मत पाएका थिए । यसपालिको चुनावमा लोकतान्त्रिक फोरमको ३९१ मत पनि कांग्रेसलाई थपिने छ । तर, यतिमात्रै मतले राजपा र कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई कठिन छ ।
विगतको भन्दा अहिलेको चुनावमा केही मतदाताहरु थपिएका छन्, जसले विगतको गणितलाई असर पार्न सक्छ । यसका साथै केही स्वतन्त्र उम्मेदवारहरुले होल्ड गरेको मतले पनि पिपराको चुनावलाई तलमाथि पार्न सक्ने देखिन्छ । तर, मुख्य प्रतिस्पर्धा चाहिँ पूर्वविजयी राजपा र प्रमुख प्रतिद्वन्दी नेकपाकै वीचमा हुने देखिन्छ । पिपरामा चौथो स्थानको नेपाली कांग्रेस प्रतिस्पर्धामा आयो भने त्यसलाई करिश्मा माने हुन्छ ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4