Comments Add Comment

सी चिनफिङ अवतारमा मनोज गजुरेल कति सफल ?

प्रधानमन्त्रीलाई हँसाउन नसकेको स्वीकारोक्ति

१५ कात्तिक, काठमाडौं । आफ्ना प्रहसनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने हास्यव्यंग्यकर्मी मनोज गजुरेल पछिल्लोपटक चीनका राष्ट्रपति सी चिनफिङको हुलियामा प्रकट भए । सिस्नुपानी नेपालको हास्यव्यंग्यात्मक देउसी कार्यक्रममा उनको यो हुलिया पहिलोपटक सार्वजनिक भयो ।

अनुहारको जोडकोड हेर्दा सीभन्दा नितान्त भिन्न छन् गजुरेल । चिम्सा आँखा र थेप्चो नाक भएका मंगोलियनसँग बाहुनको छोराको अनुहार मिल्ने कुरा पनि भएन । त्यसैले यो भूमिकामा उनका लागि क्यारिकेचरभन्दा पनि अनुहारको रुपरंग मिलाउनु बढी चुनौतिपूर्ण थियो ।

गजुरेलले कसरी आफूलाई सीको रुपमा ढाले त ?

उनले भने, ‘सुरुमा त मैले अरु क्यारेक्टरमा जस्तै मेकअपकै बलमा सी बन्ने प्रयास गरेँ । तर, आँखा र नाकको फरकपनाले गर्दा त्यो सफल भएन । त्यसपछि मास्कको सहारा लिएँ ।’

सुरुमा उनले पूरै अनुहारमा मास्क लगाएर हेरे । तर, पटक्कै सुहाएन । त्यसपछि आँखा र नाक मात्रै छोप्ने गरी हाफ मास्क लगाएको गजुरेल बताउँछन् ।

‘आफ्नो अनुहार पुरै ढाकेपछि त गजुरेलले गर्नु र अरु कसैले गर्नुमा फरकै रहेन, त्यसैले हाफ मास्क मात्र प्रयोग गरेको हुँ,’ उनले भने ।

तर, मास्क तयार गर्न पनि सहज थिएन । यसमा उनलाई देवेन्द्र र अमृत भन्ने दुई कलाकारले सघाएका थिए । उनीहरुले गजुरेलको आँखा र नाकको नाप लिए र त्यसमा फिट हुने गरी सीको आँखा र नाकसँग मिल्ने मास्क तयार गरे ।

धेरैपटकको प्रयासमा यो मास्क बनाउन उनीहरु सफल भएका थिए ।

अनुहारको समस्या हल भएपछि भाषाको प्रयोगमा भने धेरै सकस नभएको गजुरेल बताउँछन् । आफूलाई पहिल्यै आउने करिब दुई दर्जन चाइनिज शब्दहरु उनले आफ्नो स्क्रिप्टमा प्रयोग गरेका छन् । तर, पनि नौलो पात्र भएकाले दर्शकलाई यसमा आकर्षण गर्न त चुनौति थियो नै ।

‘पञ्चलाइन’ कम

गजुरेलको प्रस्तुतिको विशेषता भनेको गेटअप र आवाजको हुबहु नक्कल मात्र होइन, गतिला पञ्चलाइन (हाँसो सिर्जना गर्ने चोटिला संवाद) पनि हुन् । हालै मात्र प्रदेश गाईजात्रामा सञ्चारमन्त्री गोकुल बास्कोटाको बेजोड क्यारिकेचर गरेका गजुरेलले सीको क्यारेक्टरमा चाहिँ पर्याप्त ‘पञ्चलाइन’ निकाल्न सकेका छैनन् ।

गजुरेल आफै पनि यो कुरा स्वीकार्छन् ।

उनले भने, ‘हो, यसमा पञ्चलाइन कम नै भयो । एक त क्यारेक्टर पनि नौलो थियो । अर्को चाहिँ समयको सीमा । हामीलाई सुरुमा १० मिनेट समय मात्र दिइएको थियो । तर, जति छोट्याउँदा पनि १८ मिनेट पुग्यो । थोरै समयमा धेरै कुरा अटाउन खोज्दा पन्चलाइन नपुगेको मलाई पनि महसुस भएको छ । आगामी प्रस्तुतिहरुमा अझै गृहकार्य गरेर अन्तर्राष्ट्रिय सन्दर्भहरु समेत समावेश गरी यो क्यारेक्टरलाई बलियो बनाउने छु ।’

सीको लवज आफूले ६० प्रतिशत मिलाएको गजुरेलले दाबी गरेका छन् । तथापि, चीनका राष्ट्रपतिलाई सकारात्मकरुपमै चित्रण गर्न खोजेकाले पनि हास्यको पाटो अलि खुकुलो भएको हुन सक्ने उनले बताए ।

‘चीनले नेपालका लागि नराम्रो केही गरेको छैन । दुई देशबीच सँगै सुमधुर सम्बन्ध रहेको छ । त्यसैले व्यंग्यमा उनीहरुलाई पेल्न खोजिएन,’ गजुरेल भन्छन् ।

यस प्रस्तुतिमार्फत आफूले छिमेकीसँग सँधै हात मात्रै थाप्ने प्रवृत्तिलाई व्यंग्य गर्दै विदेशीले देश बनाइदिँदैनन् भन्ने सन्देश दिन खोजेको उनले बताए ।

हाँसेनन् प्रधानमन्त्री

देउसी कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । आफैं सशक्त हास्यचेत भएका नेताका रुपमा चिनिन्छन् उनी । त्यसैले गजुरेलको प्रहसनले उनलाई कति हँसाउँला भन्ने कौतुहल थियो नै ।

तर, कार्यक्रम अवधिभरि प्रधानमन्त्री गम्भीर मुद्रामा पेश भए । गजुरेलको मात्र होइन, दुई घन्टाभन्दा लामो कार्यक्रममा कुनै पनि प्रस्तुतिमा उनी मुस्काएको सम्म देखिएन । अरुबेला खुलेर हाँस्ने प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य पनि ‘सिरियस’ नै देखिइन् ।

प्रधानमन्त्रीले हाँसो रोक्नुभएको हो कि तपाईंहरुले हँसाउन नसक्नुभएको ?

गजुरेललाई यो प्रश्न गर्दा उनले जवाफ दिए, ‘हामीले नै हँसाउन नसकेको भन्नुपर्छ । तर, शारीरिक अस्वस्थताका कारणले पनि प्रधानमन्त्री बढी गम्भीर देखिनुभएको पनि हुन सक्छ ।’

कार्यक्रममा प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीले ‘सिस्नुपानीलाई पनि बजारका हल्लाले प्रभावित बनाएको’ बताएका थिए । यद्यपि, उनले प्रस्तुतिको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओली अहिले स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । सिस्नुपानीको कार्यक्रममा जाँदा पनि उनी फ्रेस देखिएका थिएनन् ।

मिस भए शैलेन्द्र सिम्खडा

सिस्नुपानीको देउसीमा यसपालि हास्यकवि शैलेन्द्र सिम्खडा मिस भए । दुवै देउसीमा उनको प्रस्तुति दमदार थियो ।

सिम्खडाले ‘माथिको दबावमा’ आफूलाई कार्यक्रममा सहभागी नगराइएको गुनासो गर्दै आएका छन् । सत्ताधारीले आफ्नो कडा प्रहार सहन नसकेर सिस्नुपानीलाई दबाव दिएको उनको दाबी छ । यद्यपि, सिस्नुपानीले उनको यस्तो आरोपको खण्डन गरेको छ ।

चोटिला हास्यव्यंग्य कवितामार्फत लोकप्रियता कमाएका सिम्खडा यसअघि ०७३ र ०७४ सालका दुईवटा देउसीमा सहभागी थिए । यसपाली उनको अभाव कार्यक्रममा खट्कियो ।

त्यसो त अर्का हास्यकवि अर्जुन पराजुलीको कवितावाचन थियो । दोस्रो जनआन्दोलनका क्रममा खुबै चम्केका पराजुली पनि सशक्त व्यंग्यकवि हुन् । औसत प्रस्तुति दिएका उनले सिम्खडालाई बिर्साउन भने सकेनन् । उनको कवितावाचन छोटो पनि थियो ।

देउसी कति सन्तुलित ?
हरेक वर्षको तिहारमा एउटा परम्पराकै रुप लिइसक्यो सिस्नुपानीको देउसीले । सिस्नुपानी नेपालले आयोजना गर्ने यो हास्यव्यंग्यात्मक देउसी हेर्न शीर्ष तहका अधिकांश नेताहरु उपस्थित हुन्छन् । कलाकारहरुले आफैंमाथि गरेका कटु व्यंग्य सहजै पचाउने मात्र होइन, मरीमरी हाँस्छन् उनीहरु ।

सिस्नुपानीको देउसीमा प्रायः देशका जल्दाबल्दा विषयहरुमा व्यंग्य गरिएको हुन्छ । सत्ताधारी मात्र नभएर, प्रतिपक्षी दलहरु र समाजका विभिन्न अंगहरुलाई पनि ‘सिस्नुपानी लगाउने’ गरिएको छ । कहिलेकाहीँ यसरी व्यंग्य गर्दा सन्तुलन मिलाउन नसकेको आरोप पनि लाग्ने गर्छ ।

सिस्नुपानीको प्रमुख आक्रमण सधैं सत्ताधारीमाथि नै हुन्छ, जुन स्वभाविक पनि हो । यसपालिको देउसीमा उसलाई मसलाको कमी थिएन । महरा काण्ड र आलम काण्डले गर्दा सिस्नुपानीलाई सत्ताधारी र प्रतिपक्षीबीच सन्तुलन मिलाउन सजिलो भएको थियो ।

देउसीमा सबैभन्दा लोकप्रिय चाहिँ उही मनोज गजुरेलले क्वाइन गरेको ‘दुई तिहाई सरकारलाई हेप्नी ?’ भन्ने कुड्का नै रह्यो ।

सामाजिक सञ्जालमा भने देउसी कार्यक्रमको स्तर पहिलेभन्दा खस्केको प्रतिक्रिया पनि आइरहेको छ ।

कतिपयले चाहिँ सिस्नुपानीले तिहारमा यसरी गाईजात्रामा जस्तो हास्यव्यग्यांत्मक कार्यक्रम गर्नु संस्कृति अनुकुल हो कि होइन भन्ने बहस पनि निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment