Comments Add Comment

नयाँ प्रदेश प्रमुखको नालीबेली : पूर्वप्रधानपञ्चदेखि विप्लव छाडेकासम्म !

उपप्रधानमन्त्री र सांसद भइसकेका पुराना कम्युनिष्टलाई प्राथमिकता

१८ कात्तिक, काठमाडौं । नेकपा सचिवालय बैठकले गरेको निर्णयबमोजिम सरकारले सात प्रदेशका प्रमुख नियुक्तिका लागि सोमबार राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

राष्ट्रपति कार्यालयले सोमबार नै सातैजनालाई प्रदेश प्रमुखमा नियुक्त गरिसकेको छ । सम्भवतः उनीहरुको सपथ ग्रहण मंगलबार शीतलनिवासमा हुनेछ ।

नेकपाले प्रदेश प्रमुखमा कम्युनिष्ट पार्टीलाई योगदान गरेका राजनीतिक कार्यकर्ताहरुलाई प्राथमिकता दिएको छ । प्रायः यस्ता संवैधानिक नियुक्तिमा पूर्वप्रशासकहरुले मौका पाउने गरेकोमा यसपटक वामपन्थी राजनीतिकर्मीहरुलाई प्राथमिकता दिइएको छ ।

पार्टीभित्र माधव नेपाल पक्षले असहमति जनाए पनि ज–जसले नियुक्ति पाएका छन्, उनीहरु पुराना कम्युनिष्ट नेता–कार्यकर्ताहरु छन् । जो जुन प्रदेशको बासिन्दा हो, उसलाई अर्को प्रदेशको प्रमुख बनाउने निर्णय नेकपा सरकारले गरेको छ ।

सात प्रदेशका प्रमुखहरुको संक्षिप्त परिचय हेरौं ।

सोमनाथ प्यासी : राष्ट्रिय पञ्चायतदेखि प्रदेश प्रमुखसम्म

कास्कीका पुराना वाम नेता सोमनाथ प्यासी प्रदेश १ को प्रमुख बनेका छन् । उनले अब बिराटनगरमा बसेर प्रदेश १ को नेतृत्व गर्ने छन् । उनी पूर्वसांसद समेत हुन् ।

पञ्चायतभित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले त्यतिबेलाका चर्चित युवा सोमनाथ प्यासी अधिकारीलाई ०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो ।

सोमनाथ प्यासी, द्रोणाचार्य क्षेत्री, गोविन्दनाथ उप्रेतीहरु त्यतिबेलाको पार्टी नीतिअनुरुप चुनाव जितेर राष्ट्रिय पञ्चायतमै बहुदलको पक्षमा आवाज बुलन्द गर्थे । त्यही राप र तापले सोमनाथलाई ०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।

६९ वर्षीय अधिकारी ०२५ सालदेखि कम्युनिस्ट आन्दोलनमा निरन्तर छन् । उनी ०२७ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । केही समय म्याग्दीको दरवाङ र दोभामा शिक्षक बनेर पार्टी काम गरेका अधिकारीले ३ वर्ष जेल जीवन समेत बिताए । ०३७ सालमा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष बनेका प्यासी ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा अत्यधिक मतले निर्वाचित भएका थिए । उनी ०४६ सालको जनआन्दोलनको बेला वाममोर्चाको कास्की जिल्ला संयोजक थिए ।

०४८ मा कास्की ३ बाट सांसद जितेका उनी संसदीय दलको सचिवसम्म भए । एमालेको कास्की जिल्ला सचिव हुँदै अञ्चल कमिटी र केन्द्रीय कमिटीमा पुगेका प्यासी पछिल्लो समय एमालेको निर्वाचन आयोग अध्यक्ष तथा स्थायी कमिटीको पदेन सदस्य थिए । नेकपाको उनी आमन्त्रित स्थायी कमिटी सदस्य हुन् ।

तिलक परियार : विप्लव छाडेका पूर्वसभासद

प्रदेश २ को प्रमुख बनेका तिलक परियारको जन्म रोल्पा, लिवाङ्गको विपन्न परिवारमा भएको हो । यद्यपि उनले स्नातकसम्म अध्ययन गरे । अध्ययनका लागि भारत गए । भारतमै रहँदा राजनीतिमा सक्रिय बने र मशालको दिल्ली कमिटीको सचिवसमेत बने ।

भारतमा एसएलसी पास गरेपछि रोल्पा फर्किएका परियारले केही समय भूमि सुधार कार्यालयमा खरिदारको काम गरे । त्यसपछि स्थानीय विद्यालयमा पनि पढाए । त्योे जागिर छाडेर फेरि उच्च शिक्षा पढ्न भन्दै उनी भारत फर्किए । उनले भारतमै स्नातकसम्म अध्ययन पूरा गरे ।

भारत बसाइपछि उनी जन्मथलो त फर्किए । तर, सुगम क्षेत्र खोज्दै बाँकेको राप्ती सोनारी गाउँपालिकाको बिनौनामा बसाइँ सरे । ०५० सालतिर बिनौनाबाट फेरि कोहलपुर नगरपालिका १२ निबुवामा बस्न थाले ।

०२८ सालदेखि नै राजनीतिमा लागेका परियार माओवादी आन्दोलनमा समेत सक्रिए भए । माओवादी जनयुद्धको क्रममा उनी ‘हिम्मत’ उपनामले चिनिन्थे । सशस्त्र जनयुद्धको क्रममा ०५४ सालमा उनी पक्राउ समेत परे । यद्यपि ०५८ सालमा दाङको हापुरेमा माओवादी र सरकारी टोलीबीच वार्ता हुँदा परियार रिहा भए ।

पुराना कम्युनिष्ट नेताको पहिचान बनाएका उनी दलित आन्दोलनका अगुवा हुन् । उनी तत्कालीन माओवादीसम्वद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाको अध्यक्षसमेत बने । उनी माओवादीको सचिवालय सदस्य समेत भए र दुई पटक सांसदसमेत बने ।

अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भए । त्यसपछि उनी माओवादी पार्टीको सल्लाहकारसमेत बने ।

तर, माओवादी पार्टी विभाजनपछि उनी प्रचण्डको साथ छाडेर मोहन वैद्यतिर लागे । दोस्रो संविधानसभाताका वैद्य माओवादीमा रहेका उनी चुनाव बहिस्कारमा सक्रिय भएका थिए । वैद्य नेतृत्वको पार्टी विभाजनपछि उनले नेत्रविक्रम चन्द (विप्लव)को साथ रोजे । नेतृत्वसँग असहमति बढ्दै गएपछि उनले विप्लवको पनि साथ छाडे ।

त्यसपछि मोहन वैद्यसँग अलग्गिएका रामबहादुर थापा (बादल) समूहसँगै विप्लव समूहबाट अलग भएको तिलक परियारको समूह पनि प्रचण्डकै नेतृत्वको माओवादीमा फर्कियो ।

परियारको नियुक्तिले दलित आन्दोलनमाथि न्याय गरेको प्रतिक्रियाहरु आइरहेका छन् ।

विष्णु प्रसाई : प्रधानपञ्चमा विजयी, मेयरमा पराजित !

गत स्थानीय चुनावमा मेयरमा पराजित झापाली नेता विष्णु प्रसाईलाई ३ नम्बर प्रदेशको प्रमुख बनाइयो भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा उनको राजनीतिक पृष्ठभूमि र इतिहासलाई पनि बिर्सन नमिल्ने नेकपाका नेताहरुको तर्क छ ।

६६ वर्षीय प्रसाई ०२८ सालको झापा क्रान्तिसँगै कम्युनिस्ट राजनीतिमा लागेका हुन् । ०२७ सालमा अनारमनीमा भएको अनेरास्ववियूको कार्यक्रममा पहिलोपल्ट पक्राउ परी एक महिना राजबन्दी भएपछि प्रसाई पूर्णकालीन राजनीतिमा होमिए ।

वि.सं. ०३६ सालदेखि ०४५ सालसम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले विष्णु प्रसाईलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो । तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै वि.सं. ०४३ सालमा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चसमेत निर्वाचित भएका थिए प्रसाई ।

त्यसबेला झापामा जुझारु र कडा छविका कारण प्रसाईलाई झापाली टाइगर भनिन्थ्यो । प्रसाई ०५४ सालमा जिल्ला विकास समिति झापाको उपसभापति निर्वाचित भएका थिए । उपसभापति भएकै बेला उनी ०५६ सालको आम निर्वाचनमा झापा ३ बाट उम्मेदवार बने तर कांग्रेसका कृष्ण सिटौलासँग पराजित भए ।

झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किएका हुन् प्रसाई । यद्यपि उनले बुबा विरुद्ध बिद्रोह गरे । बुबाले मोहीहरुमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेको नेकपा नेताहरु सम्झन्छन् ।

वि.सं. ०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएपछि प्रसाईंले आफूमाथि अन्तर्घात गरेको भन्दै सांसद रविन कोइरालामाथि मतगणनास्थलमै झम्टिएका थिए । प्रसाईं केपी ओलीका निकटस्थ हुन् ।

अमिक शेरचन, अर्थात पूर्वउपप्रधानमन्त्री !

अमिक शेरचन गण्डकी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएपछि कतिपयले सामाजिक सञ्जालमा लेखे–राष्ट्रपति बनाउनुपर्ने मान्छे प्रदेश प्रमुख भए ।

उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् ।

नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो ।

नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फुटेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष भए । ०५१ सालमा उनी पराजित भए । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उनी जित्न सकेनन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा अमिक शेरचन एक नेता थिए । त्यो आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाए । उनी जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने ।

त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री थिए । ओली र शेरचनमध्ये को बरिष्ठ उपप्रधानमन्त्री बन्ने भनेर लामै समय विवाद पनि भयो । अन्ततः ओली नै पहिलो बरियतामा रहे । शेरचन ०६४ को संविधानसभामा चितवनबाट निर्वाचित भए ।

पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन एकता केन्द्रले माओवादी समर्थित रामराजाप्रसाद सिंहलाई समर्थन गरेको थियो । तर, सोही पार्टीका नेता शेरचनले भने पार्टी निर्णय अवज्ञा गर्दै रामवरण यादवलाई मत दिएका थिए ।

माओवादी र एकता केन्द्रको एकीकरणपछि शेरचन पार्टीको स्थायी कमिटी सदस्य रहे । पछिल्लो समय स्वास्थ्यका कारण पनि सक्रिय नभएका शेरचन पार्टीको आमन्त्रित स्थायी कमिटी सदस्य छन् ।

धर्मनाथ यादव : चुनाव पीडित ‘मास्टरजी’

प्रदेश ५ का प्रमुख तोकिएका धर्मनाथ यादव प्रदेश प्रमुख नियुक्त भएको खबरसँगै सिराहाका वाम समर्थकहरुबाट प्रतिक्रिया आयो– बल्ल यिनले न्याय पाएछन् । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् । सोमवार उनको नियुक्तिको खबरले सिराहाका कम्युनिस्ट नेता कार्यकर्तामा खुसी देखिन्थ्यो ।

पार्टीले ढिलो भए पनि धर्मनाथ यादवको योगदानको मूल्यांकन गरेको भन्दै नेकपा जिल्ला अध्यक्ष रामकुमार यादवले खुसी व्यक्त गरे ।

०४८ सालमा संसदीय निर्वाचन प्रतिस्पर्धा गरेका यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन् ।

धर्मनाथ पुराना शिक्षक हुन् । सिराहाको सुखीपुर नगरपालिका ६ खरही टोल निवासी ७० वर्षीय यादव ०४३ सालमा शिक्षण पेशा छाडेर तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा पूर्णकालीन भएका थिए ।

जिल्ला अध्यक्ष यादवका अनुसार धर्मनाथ विज्ञान विषयका प्रखर शिक्षक थिए । धर्मनाथ अहिले पनि गाउँमा ‘मास्टरजी’ भनेर परिचित छन् । ‘गाउँलेहरुले उनलाई नेताभन्दा मास्टरजी अहिले पनि भनिरहेका छन्’ रामकुमारले भने ।

०७३ साल फागुन गते झापाको बिर्तामोडमा बसेको तत्कालीन एमालेको स्थायी समिति बैठकले उनलाई पूर्ण केन्द्रीय सदस्य बनाएको थियो । यसअघि उनी ०४८ साल र ०५१ सालमा एमालेबाटै आम निर्वाचन लडेका थिए । तर, जित्न सकेका थिएनन् ।

हाल नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रहेका यादव साहित्यकार र गीतकार पनि हुन् । उनले मैथिली र नेपाली भाषामा साहित्य रचनाहरु गर्दै धेरै गीतहरु समेत लेखेका छन् ।

गोविन्द कलौनी : कलेज चलाउनेलाई प्रदेश चलाउने जिम्मा

कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनी सुदूरपश्चिममा तत्कालीन एमालेका जल्दाबल्दा नेता मानिन्छन् । डडेलुधरामा कम्युनिस्ट पार्टीका संस्थापक मानिने कलौनी शेरबहादुर देउवाका कुनैबेलाका चुनावी प्रतिस्पर्धी पनि हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाँणे निवासी कलौनी वि.स. २०१२ जेष्ठ २९ गते कलौनी वैतडीको दोगडा केदार गाउँपालिका–१ मा जन्मिएका हुन् । बैतडीमा जन्मिए पनि डडेल्धुरा, बैतडी र कञ्चनपुरलाई कार्यथलो बनाएका कलौनी शिक्षक पृष्ठभूमिका हुन् ।

वि.सं. २०३१ देखि ०४७ सालसम्म उनी प्राध्यापक पेशामा संलग्न भए । त्यसबेला उनी एमालेको शिक्षक संगठनमा आवद्ध थिए । ०४७ सालमा नेता मदन भण्डारी सुदूरपश्चिम भ्रमणमा थिए । त्यसैबेला भण्डारीको आग्रहमा उनी मूलधारको राजनीतिमा आएका हुन् ।

०४८ सालको संसदीय चुनावमा डडेल्धुराबाट कलौनी हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडे । तर, पराजित भए । कलौनी ०५६ सालमा राष्ट्रियसभाको चुनाव लडे । त्यसबेला उनी एमालेबाट अलगिएर मालेमा पुगिसकेका थिए । कांग्रेससँग मिलेर चुनाव लडे पनि उनी पराजित भए ।

कलौनीले चुनावी प्रतिस्पर्धालाई ०६४ सालसम्म निरन्तरता दिए । तर, सफल हुन सकेनन् । ०६४ मा उनी कञ्चनपुर–२ बाट एमालेको संविधान सभा सदस्यका उम्मेदवार थिए ।

प्राध्यापन पेशा छोडेर मूलधारको राजनीतिमा होमिएका कलौनी पछिल्लो समय पुनः शिक्षा क्षेत्रमै सक्रिए थिए । कञ्चनपुरमा उनले आफ्नै नेतृत्वमा क्याम्पसहरु सञ्चालनमा ल्याएका छन् । ६४ वर्षीय कलौनी कलौनीले ०४७ देखि ०५२ सम्म डडेलधुरा र बैतडीमा एमालेको जिल्ला नेतृत्व गरे ।

उनी पछिल्लो सयम नेकपा एमालेको निर्वाचन आयोग उपाध्यक्ष थिए । जसको अध्यक्ष सोमनाथ प्यासी पनि प्रदेश प्रमुख भएका छन् ।

शर्मिलाकुमारी पन्त : माले, माओवादी हुँदै प्रदेश प्रमुख

चितवनकी शर्मिलाकुमारी पन्त (त्रिपाठी) सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख बनेकी छन् । ०६० सालसम्म शर्मिलाको परिचय सामान्य घृहिणीको थियो । उनका पति ज्ञानेन्द्र त्रिपाठी तत्कालीन नेकपा मालेबाट विद्रोह गरी ०५८ तिरै माओवादी जनयुद्धमा लागेका थिए । ०६० असोज ९ गते सादा पोशाकका सुरक्षाकर्मीले पक्राउ गरेका त्रिपाठी त्यसपछि बेपत्ता पारिए ।

श्रीमान बेपत्ता भएपछि उनको दिनचर्या फेरियो । उनी पतिको खोजीमा लाग्दालाग्दै माओवादी जनयुद्ध सकियो । बेपत्ता परिवारहरुको संगठन बन्यो र उनी त्यसको अध्यक्ष बनिन् । पति बेपत्ता भएसँगै माओवादी पार्टीमा सक्रिय भएकी त्रिपाठीको घर चितवन हो ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा शर्मिला नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यसमेत भएकी थिइन् ।

यो पनि पढ्नुहोस प्रदेश प्रमुखको फेरबदल : संवैधानिक तर अराजनीतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment