Comments Add Comment

भक्तपुरमा माओवादी र एमालेवीच झगडा

डीपी ढकाल भन्छन्– म बागी हैन, त्यागी उम्मेदवार हुँ

१९ कात्तिक, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाएका हुन् ।

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । जेलनेल भोगेका उनी वर्षमान पुन अर्थमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए । उनले विश्वको अर्थतन्त्रबारे पुस्तकसमेत लेखेका छन् ।

भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ ।

भक्तपुरमा ०७४ सालको चुनावमा माओवादीले पाएको टिकट तत्कालीन एमालेले जबर्जस्ती खोसेर लगेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । अहिले पनि त्यहाँ पूर्वमाओवादीलाई टिकट दिएकोमा पूर्वएमालेले नपचाएको गुनासो पूर्वमाओवादीका नेताहरुको छ ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरुको तर्क छ । तर, पूर्वमाओवादीका नेताहरु भने ०७४ को चुनावमा डीपी ढकाल बागी उम्मेदवार नभएर एमालेका हरिशरण लामिछाने चाहिँ बागी भएको बताउँछन् ।
गत निर्वाचनमा भक्तपुर क्षेत्रनम्बर १ (क) तत्कालीन एमाले र माओवादी गठबन्धनको तर्फबाट हरिशरण लामिछाने निर्वाचित भएका थिए । लामिछानेको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उम्मेदवारका लागि भक्तपुर जिल्ला कमिटीले डीपी ढकालसहित १८ जनाको नाम प्रदेश कमिटीमा पठाएको थियो । प्रदेश कमिटीले भने ढकाल, रमेश बुढाथोकी, मोहनबीर श्रेष्ठ र नारायण फुयाँलको केन्द्रमा पठाएको थियो ।

यीमध्येबाट केन्द्रले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैवीच उपनिर्वाचनका लागि टिकट पाएका उम्मेदवार डीपी ढकालले आफू ०७४ सालको बागी उम्मेदवार नभएर त्यागी उम्मेवार भएको बताए ।

डीपी ढकालको प्रतिक्रिया पढौं–

म बागी हैन, त्यागी उम्मेदवार हुँ : डीपी ढकाल

डीपी ढकाल

०७४ सालको चुनावमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा दुबै नेकपा एमालेलाई र १ नम्बर पुरै सेट माओवादीलाई दिने गरी विभाजन भएको थियो । एक नम्बरको संघमा नेमकिपाका प्रेम सुवालले जिते । २ नम्बरमा पूर्वएमालेबाट महेश बस्नेतले जिते । हामी (पूर्वमाओवादी) ले जित्ने सम्भावना भनेको प्रदेशको यही १ (क) मा मात्र थियो, त्यहाँ मेरो उम्मेवारी तय भएको थियो ।

त्यसपछाडि म, महेश बस्नेत, त्यसबेलाका भक्तपुर अध्यक्ष राजेन्द्र राजथला, त्यो बेलाका उपाध्यक्ष, अहिलेका अध्यक्ष बचन देउजा, हामी सबै भएर मेरो मनोनयन दर्ता गरेर महेश बस्नेतको मनोनय दर्ता गर्न गयौं ।

हामी महेश बस्नेतको उम्मेद्वारी मनोनयन दर्ता गर्न गएका बेला एक्स्ट्रा टिकटको दुरुपयोग गरेर उहाँहरुले हरिशरण लामिछानेको उम्मेवारी दर्ता गर्नुभएछ । यो काममा सोम मिश्रजीहरु लाग्नुभयो । अहिले चाँगुनारायणका मेयर रहनुभएका सोमजी त्यसबेला तत्कालीन एमालेको भक्तपुर जिल्ला ईञ्चार्ज नै हुनुहुन्थ्यो । वहाँ आफैं प्रस्थापक भएर हरिशरणको उम्मेद्वारी हाल्नुभो ।

किन यसरी हरिशरणजीको बागी उम्मेवारी हालेको भनेर पार्टीले सोध्दाखेरि अहिले जिल्लाका साथीहरु अलि असन्तुष्ट हुनुभएकाले साथीहरुलाई चित्त बुझाउनलाई मात्र हो, उम्मेवारी फिर्ता लिने बेलासम्ममा फिर्ता लिन्छौं भन्नुभयो । अनि अष्टलक्ष्मी शाक्य कामरेडले फिर्ता गराउन जीवनराम श्रेष्ठ कामरेड आउनुहुन्छ है भन्नुभयो ।

हामीले जीवनरामलाई कुरेर बस्यौं । तर, फिर्ता लिने दिन लास्ट आवरसम्म पनि जीवनराम आउनुभएन । अन्तिम घडीमा मैले फोन गर्दा ‘साथीहरु सम्पर्कमै आएनन्, मैले सकिनँ, हात उठाएँ’ भन्नुभो । अन्ततः हरिशरणजीले हालेको बागी उम्मेवारी पूर्वएमालेका साथीहरुले फिर्ता नलिएपछि भक्तपुर २ (क) प्रदेशसभामा नेकपाका दुईजनै उम्मेवार कायम भए । पार्टीले पूर्वमाओवादीलाई छाडेको सीटमा पूर्वएमालेले जबरजस्ती उम्मेदवार खडा गर्‍यो । त्यो दिन अध्यक्षहरु योगेश भट्टराईको चुनाव प्रचारमा पूर्व जानुभएको थियो, फोन लागेन ।

हामी दुबै उम्मेदवारले १० दिनसम्म आ–आफ्नो घरदैलो गरिराख्यौं । त्यसपछि ११ औं दिनका दिन मलाई बादल कामरेडले फोन गरेर के भन्नुभयो भने दुबैजना यसरी गएर जितिँदैन, एमालेका साथीहरुले मरिहत्ते गरे, अब तपाईले छाडिदिनोस् ।

त्यसपछि हामीले संयुक्त पत्रकार सम्मेलन गर्‍याैं र अब हाम्रा आधिकारिक उम्मेदवार हरिशरण लामिछानेजीलाई डीपी ढकालले छाडेको भनेर पत्रकार सम्मेलन गरियो । यसरी म आधिकारिक उम्मेवार हुँदाहुँदै पनि दुईटै लड्दा नजित्ने भएपछि अब डीपी ढकालले छाडिदिनुहुन्छ भनेर हाम्रा तत्कालीन इञ्चार्ज देवेन्द्र श्रेष्ठ, सोम मिश्र अनि महेश बस्नेत सबै भएर पत्रकार सम्मेलन गरेको अवस्थामा पनि मलाई अहिलेसम्म पूर्वएमालेका साथीहरुले ‘बागी’ भनेर प्रचार गरिरहनुभएको छ । वास्तवमा म त्यसबेलाको बागी उम्मेदवार होइन, त्यागी उम्मेदवार हुँ । बागी उम्मेदवार त पूर्वएमालेले खडा गरेको हो ।
यो पनि पढ्नुहोस नेकपाले छान्यो उम्मेदवार, भक्तपुरमा देवी, धरानमा प्रकाश

मैले वीचैमा हरिशरणजीलाई छाडेपछि पूर्वमाओवादीका साथीहरुमा ठुलै तरंग आउनु स्वाभाविकै थियो । दुईवटा वडाका साथीहरु त चित्त दुखाएर कांग्रेसमै प्रवेश गर्नुभयो, उहाँहरुलाई हामीले रोकथामै गर्न मलाई ६/७ दिन लाग्यो । वीचैमा छाडेपछि पैसा खाएर पो छाड्यो कि भन्ने आरोप पनि आफ्नै पार्टीभित्रबाट लाग्यो । तर, मैले चारवटा सभामा हरिशरणको पक्षमा भाषण गरें । केपी ओली आएको कार्यक्रममा पनि भाषण गरेको छु । महेश बस्नेत सहभागी भएको कार्यक्रममा पनि मैले भाषण गरेको छु । अनि कसरी म बागी भएँ ?

यसपालि पनि सोम मिश्रजीहरुले मलाई नदिएर रमेश बुढाथोकीजीलाई टिकट दिन खोज्नुभएको थियो । मैले के भनेको थिएँ भने प्रस्ताव ल्याउने भए पहिले नै ल्याउनोस्, ०७४ सालको जस्तो ल्याङ–ल्याङ नगर्नोस् है, म टिकटका लागि काहीँ पनि दौडिएको छैन । म पार्टीको भक्तपुर जिल्ला सचिव पनि हुँ, दैनिकरुपमा तपाईहरुसँगै छु ।

तर, मेरो नैतिक दाबी चाहिँ के रहने भो भने हिजो मैले त्याग गरेको हुनाले मलाई टिकट दिनुपर्छ भन्ने मेरो स्वाभाविक तर्क छ । मैले यसो भनिनँ भने हिजो त्याग गरेको कुरो पनि काहीँ न काहीँ आउँदैन । त्यसो भएको हुनाले यो अर्थमा मेरो दाबी छ भनेर मैले साथीहरुलाई भनें । त्यसपछि केन्द्रमा नाम पठाउँदा पनि चार जनामध्ये सबैभन्दा माथि मेरै नाम गएको छ । नाम सिफारिस गर्ने बेलामा पनि सोम मिश्र, बचन देउजा र भीष्म, चारै जनाको सहमतिमा पठाइएको हो ।

यसरी पठाएको नाममा नेकपा सचिवालयले यसपालिको उपनिर्वाचनमा मेरो नाम फाइनल गरेपछि सोमजीलाई अलिकति टेन्सन भएको छ । त्यसपछि मेयर सोम मिश्रजीकै श्रीमतीको नेतृत्वमा १०/१५ जना पूर्वएमालेका साथीहरु लगाएर भक्तपुर जिल्ला पार्टी कार्यालयमा हिजो तालाबन्दी गरिएको छ । ४/५ जनालाई चाहिँ बैठक छ भनेर बोलाइएको रहेछ, हामी झुक्किएर पुगेका हौं है भन्दै हुनुहुन्थ्यो उहाँहरुले ।

मेयर सोम मिश्रजी पार्टीको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उहाँ जिल्लाको सहईञ्चार्ज पनि हुनुहन्छ । पार्टी कार्यालयमा तालाबन्दीको नेतृत्व गर्ने उहाँकी श्रीमती मन्दरा मिश्र पनि पार्टीको जिल्ला सदस्य हुनुहन्छ । यसरी पार्टी कार्यालयमा श्रीमतीको नेतृत्वमा तालाबन्दी गराएपछि हिजो सोमजीलाई पूर्वएमालेकै कतिपय साथीहरुले गाली गर्नुभएछ– आफैंले एक नम्बरमा सिफारिस गरेका उम्मेदवार डीपी ढकालले टिकट पाउँदा तपाईहरुको यो केको नाटक हो ?

नेकपाको लफडाले कांग्रेसलाई फाइदा पुग्न सक्ने

भक्तपुर १ (क) प्रदेशसभाको चुनावमा ०७४ सालमा एमालेका तर्फबाट हरिशरण लामिछानेले १२ हजार ७८९ मत पाएका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत प्राप्त गरेका थिए । कांग्रेस र एमालेवीचको मतान्तर २ हजार ८१२ थियो ।

उम्मेदवारी फिर्ता लिने समय सकिएपछि हरिशरणलाई सघाएता पनि डीपी ढकालको चुनाव चिन्ह हँसिया हतौडामा समेत त्यसबेला ७८४ मत परेको थियो । नेकपामा यो मतलाई समेत जोड्ने हो भने कांग्रेस र नेकपावीचको मतान्तर ३ हजार ५९६ हुन जान्छ ।

यस निर्वाचन क्षेत्रमा गत चुनावमा नेमकिपा तेस्रो स्थानमा थियो । नेमकिपाका निरज लबजुले ७ हजार १९ मत पाएका थिए ।

त्यस्तै साझा विवेकशील पार्टीका कालीचरण कार्कीले ७८३ मत पाएका थिए भने राप्रपाका मुकुन्द कार्कीले ४८५ मत ल्याएका थिए । नयाँशक्ति पार्टीका उम्मेदवार सानुप्रसाद बनले ७८ मत पाएका थिए । तीनजना स्वतन्त्र उम्मेदवारहरु लक्ष्मण तिम्सिना, राजेन्द्र तिम्सिना र श्यामकृष्ण अवालले १० भन्दा कम मत पाएका थिए ।

विगतको गणितमा यसपटक केही मतदाताहरु पनि थपिएको हुनाले तलमाथि हुन सक्छ । तथापि भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपा तीनवटा दलवीच प्रतिस्पर्धा हुने देखिन्छ । तर, तीनवटै दलवीच मतान्तर फराकिलो छ । साझा पार्टी र राप्रपासमेत मैदानमा भएता पनि विगतको गणितका आधारमा हेर्दाखेरि उनीहरुको प्रभाव निकै नै कम देखिन्छ ।

भक्तपुरको कोर बजार क्षेत्रभन्दा बाहिरको वस्ती भएकाले यहाँ नेमकिपाको प्रभाव बजार क्षेत्रमा भन्दा अलि कमै छ । उता कांग्रेस र नेकपावीचको मतान्तर पनि केही फराकिलो देखिएता पनि हजार/पन्ध्र सय भोट यताउता भयो भने कांग्रेसले बाजी नमार्ला भन्न सकिने अवस्था छैन । विगतको चुनावमा कांग्रेसमा अन्तरघात भएजस्तै यसपालि नेकपाको विवादले अन्तरघात भयो भने त्यसको फाइदा विपक्षी कांग्रेसले उठाउन सक्ने देखिन्छ भक्तपुरमा । तर, कांग्रेसले यसका लागि बढी नै मिहेनत गर्नुपर्ने हुन सक्छ ।

त्यसो त भक्तपुरमा नेकपाको जनमत कस्तो बनेको छ भन्ने कुरो पनि कांग्रेस वा नेकपाका उम्मेदवारको नाफा घाटामा असर पार्न सक्छ । जस्तो नेमकिपाको मत पहिलेको भन्दा घट्यो भने त्यो मत वामपन्थीको बाकसमा खस्न सक्छ । तर, नेमकिपाले आफ्नो अवस्थामा सुधार गर्‍यो भने वामपन्थी मत बाँडिन गई कांग्रेसलाई फाइदा पुग्न सक्छ । अर्कोतर्फ साझा पार्टी र राप्रपाले आफूलाई सुधार गरे पनि त्यसले कांग्रेसको भोट काट्न सक्ने देखिन्छ ।

तर, भक्तपुरमा नेकपाभित्र अहिले बाहिरै देखिने गरी अहिले जुन प्रकारको खिचातानी सुरु भएको छ, यसले विपक्षीहरुलाई उत्साहित बनाउनु स्वाभाविकै हो । ०७४ को चुनावमा त पूर्वमाओवादीले त्याग गरेको थियो, तर यसपालि पूर्वएमालेले त्यही किसिमको त्याग देखाउलान् त ? नेकपाको हारजीतमा पूर्वएमालेहरु नै निर्णायक हुने पक्कापक्की छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment