Comments Add Comment

कास्की २ मा साझाले खोज्यो कांग्रेसको साथ

धनराजलाई टिकट दिने तयारी

१९ कात्तिक, काठमाडौं । साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई समर्थन गर्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । तर कांग्रेस पदाधिकारीहरुको बैठकले यो प्रस्तावलाई अस्वीकार गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकमा कास्की २ को चुनावी अंकगणित, पार्टीको आन्तरिक विवाद लगायतका विषयमा गम्भीर छलफल भएको एक नेताले बताए ।

बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले साझा पार्टीको प्रस्तावबारे जानकारी दिएका थिए । साझाका संयोजक रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले आफूलाई टेलिफोन गरी कास्की २ मा आफ्ना उम्मेदवार रजनी केसीलाई सघाए अन्यत्र कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेको उनको रिर्पोटिङ थियो ।

तर नेताहरुले अघिल्लो चुनावमा ८४३ भोट ल्याएको साझालाई १२/१४ हजार भोट ल्याएको कांग्रेसले कसरी सघाउने भन्ने प्रश्न गरेको स्रोतको दाबी छ । एक पदाधिकारीले भने, ‘हामी अरु पार्टीहरुसँग सहकार्यको सम्भावनालाई हामीले खुला नै राखेका छौं, तर कास्कीमा साझालाई छाड्न सकिन्न ।’

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पनि कास्की २ मा आफूहरुलाई समर्थन गर्न कांग्रेसलाई आग्रह गरेको स्वीकार गरे । राष्ट्रिय सभामा आफूहरुले सहयोग गरेको भन्दै उनले भने, ‘अहिले विपक्षीहरु एक ठाउँमा आएको सन्देश दिनु राम्रो भएकाले सद्भाव राखेर कास्की २ मा हामीलाई छाड्नुस् भनेका हौं ।’

यसका लागि कांग्रेस तयार भएमा थप छलफल गर्न आफूहरु तयार रहेको उनले बताए ।

तर कांग्रेस पदाधिकारी बैठकले कास्की २ मा पार्टीको जित सम्भव भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य धनराज गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि अन्तिम निर्णय भइनसकेकाले यसै भन्न नसकिने एक पदाधिकारीले बताए ।

कास्की २ मा उम्मेदवारका लागि गुरुङसँगै देवराज चालिसे र खेमराज पौडेल पनि दावेदार छन् ।

यस्तै भक्तपुर २ खमा कृष्ण भडेल, बाग्लुङ ३ खमा जीत शेरचनलाई उम्मेदवार बनाउने सम्भावना छ । यद्यपि यसबारे भोलि मात्र निर्णय हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment