Comments Add Comment

अनशन बस्न डा. केसीले किन रोजे डडेल्धुरा ?

१९ कात्तिक, काठमाडौं । ४ साउन २०७५, जुम्ला । प्रा. डा. गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो । स्वास्थ्य अवस्था चिन्ताजनक । सरकारले काठमाडौं ल्याउन खोजिरहे पनि उनी मानेका थिएनन् । उनी भनिरहेका थिए, ‘यही मर्छु, तर माग पूरा नगरिकन काठमाडौं जान्न ।’

उनलाई ल्याउन सरकारले पठाएको नेपाली सेनाको हेलिकप्टर बिहान साढे ९ बजे जुम्लामा ओर्लनासाथ तनाव हुन सुरु भयो । डा. केसी जुम्ला पुगेदेखि नै प्रहरीले गरेको धरपकडले गर्दा उनी मिडियामा छाइरहेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी तथा त्यहाँका स्थानीयले उनलाई साथ दिइरहेका थिए । हरेक दिन उनको पक्षमा र्‍याली निस्कन्थ्यो । अस्वस्थ केसीको जीवन रक्षाका लागि सरकारलाई कर्णालीबासीले दबाब दिइरहेका थिए ।

त्यो दिन समर्थकहरुलाई तितरबितर पारेर डा. केसीलाई काठमाडौं ल्याइयो । त्यसरी काठमाडौं ल्याइएको एक सातापछि अर्थात् अनशनको २७ दिनमा सरकारले उनीसँग सम्झौता गर्‍यो । त्यसको चारमहिनामा डा. केसी फेरि इलाम पुगेर अनशन बसे । दशौं दिनमा स्वास्थ्य निकै नाजुक भएपछि सरकारले उनलाई झापा हुँदै हेलिकप्टरमा काठमाडौं ल्याएर फेरि सम्झौता गर्‍यो ।

यो बिचमा डा. केसीले आफ्ना माग र सम्झौताहरुबारे सरकारको ध्यानाकर्षण गरिरहे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘माग पूरा हुन्छ, ढुक्क हुनुस्’ भन्दै आश्वास्त पारिरहे । तर, सरकारले घुमाईफिराई धोका दिएको अनुभव गरेका डा. केसी अनशनको विकल्प नदेखेर डडेल्धुरा पुगे ।

डा. केसी आफैं मुटुका रोगी छन् । चिकित्सकहरुले औषधि सेवनमा अनियमितता भए वा रोग प्रतिकुल हरकत बढे जुनसुकै बेला जे पनि हुनसक्ने चेतावनी पाएका उनी डडेल्धुरा पुगेर आमरण अनसनमा बसेका छन् ।

यस्तो अवस्थामा उनले किन रोजे डडेल्धुरा ?

सरकारले विगतमा डा. केसीसँग पाँच विकास क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्ने सम्झौता गरेको थियो । संघीयताको कारण सात प्रदेश भएकाले सातैवटा मेडिकल कलेज हुनुपर्ने मागमा पनि सरकार सहमत भएको थियो ।

डा. केसीको मागअनुसार सरकारले २०७५ पुसमा इलाम, पाँचथर, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन पनि गरेको थियो । तर, त्यसपछि काम अगाडि बढाएन । बर्दिबासमा भने मेडिकल कलेजको सम्भाव्यता अध्यन सकेर बाँकी काम अगाडि बढाएको छ । त्यस्तै, गण्डकी अञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिएको छ ।

७ र १ बाहेकका प्रदेशका जनतालाई मेडिकल कलेज र जिल्ला अस्पताल पुग्न तुलनात्मक रुपमा सहज बनेको छ । प्रदेश १ का पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमलाई धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान र प्रदेश ७ का बाजुरा, बझाङ, अछाम, बैतडी, डोटी लगायतका जिल्लाहरुको लागि धनगढीको गेटा मेडिकल कलेज सहज विकल्प हुन् ।

पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरामा एउटा मेडिकल कलेज होस् भन्ने डा. केसीको माग छ । यो माग स्थापित गराउनकै लागि आफूले अनसन स्थलका रुपमा डडेल्धुरालाई रोजेको डा. केसी बताउँछन् । केही समयअघि डडेल्धुरा पुग्दा जिल्ला अस्पतालको हालत स्वास्थ्य चौकीको जस्तो पाएको र उपक्षेत्रीय अस्पतालमा समेत डाक्टर नभेटिएको उनी बताउँछन् ।

त्यता आर्थिक अवस्था राम्रो भएका मानिसहरु उपचार गर्न भारत जान्छन्, पैसा नहुनेहरु रोग पालेर बस्न बाध्य छन् । ‘यो यथार्थ धेरैले थाहा पाउन् भनेर पनि अनशन बस्न डडेल्धुरा आएको हुँ’, डा. केसीले मंगलबार अपरान्ह अनलाइनखबरसँग भने, ‘बरु यही मर्छु, माग पूरा नगराई काठमाडौं जान्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment