Comments Add Comment

कास्की २ मा भोटको राजनीति : नेकपाले गर्‍यो खोलाको सीमा घटाउने लिखित सहमति

४ मंसिर, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्वतन्त्र उम्मेदवारलाई आफ्नो पक्षमा पार्न खोलाको सीमा नै घटाउने सहमति गरेको खुलासा भएको छ । यसमा पोखरा महानगरपालिकाले समेत साथ दिएको छ ।

कास्की २ को उपचुनावमा सुनीलबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सुनीलको घर, जग्गा तथा संरचना फिर्के खोलाको मापदण्डभित्र पर्छ । उनी मात्र होइन, त्यस क्षेत्रका २ सयभन्दा बढी घर खोलाको मापदण्डभित्र परेको छ । र, यसलाई हटाउन महानगरले ताकेता गर्दै आएको थियो ।

उपचुनावमा कोइरालाले मापदण्ड पीडितहरुको साझा उम्मेदवार भन्दै आफूलाई उभ्याए । उनी नेकपाकै समर्थक हुन् । तर खोलाको मापदण्डको विरोध गर्दै उम्मेदवार बनेका उनले त्यसक्षेत्रको भोट काट्ने देखेपछि नेकपाले उनलाई फकायो । नेकपाका नेता खगराज अधिकारीदेखि कास्की क्षेत्र नम्बर २ कि उम्मेदवार विद्या भट्टराईलाई जिताउने मोर्चाका कमाण्डर राजकाजी गुरुङको रोहबरमा खोलाको मापदण्ड घटाउने लिखित सहमति नै भएको छ ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीको सहजीकरणमा भएको वार्तामा पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, फिर्के खोला संरक्षण तथा मापदण्ड समिति, नागरिक समाजका प्रतिनिधिसहितले फिर्के खोलाको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सहमति नै गरेका छन् ।

अधिकारीले महानगरको कार्यपालिकाबाट निर्णय गराउने ग्यारेन्टी दिन नसक्ने बताएपछि कोइराला बिच्किएका थिए ।

तर वडा नम्बर ५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीको समन्वयमा मंगलबार फेरि बैठक भयो र ठाउँ हेरी १० मिटर र ६ मिटर रहेको फिर्के खोलाको मापदण्ड घटाएर १ मिटर कायम गर्न आगामी कार्यपालिका बैठकमै प्रस्ताव पेश गर्नेसहित सहमति भएको छ ।

सहमतिमा फिर्केको मापदण्ड १ मिटर कायम गर्न नेकपाले राजनीतिक हिसाबले र महानगरपालिकाले कार्यपालिकाबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउने, मापदण्डभित्र रहेको जग्गा धोतो राखेर ऋण निकाल्न महानगरले सिफारिस गर्ने, फिर्केलाई सौन्दर्यीकरण गर्ने र पुरानै लयमा हिँडाउने सहमति भएको छ ।

फिर्के खोलाको मापदण्ड घटाउन राजनीतिक तथा नीतिगत हिसाबले सहमत भएपछि आफू एक हिसाबले सफल भएको स्वतन्त्र उम्मेदवार सुनीलले बताए ।

‘मापदण्ड घटाउने ग्यारेन्टी नभएपछि मंगलबार फेरि बैठक बस्यौं । अधिवक्तासहित बसेको बैठकले मापदण्ड घटाउने प्रक्रिया थाल्नेलगायतका निर्णय गरेपछि म पछि हटें,’ स्वतन्त्र उम्मेदवार सुनीलले भने, ‘मेरो उम्मेदवारी उपलब्धीपूर्ण रह्यो । अब म प्रचार गरेर हिँड्दिन जति मत आउँछ, आउँछ ।’

यो त्यही फिर्के हो, जहाँ सौन्दर्यीकरण गर्न पोखरा महानगरले अभियान नै थालेको थियो । अभियानको उद्घाटनमा असाबधानीबस मेयरले डोजर चलाउँदा केही घाइते भएका थिए ।

पछि फिर्के खोलाको मापदण्डभित्र पर्ने सरोकारवालाले उच्च अदालत पोखरामा रिट हालेका थिए । त्यससँगै फिर्केको सौन्दर्यीकरणको काम रोकिएको थियो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बैठक र सहमतिमा आफू संलग्न नभएको बताउँदै त्यस्ता कुनै पनि निर्णय कार्यपालिकामा नजाने बताए । ‘मैले पनि थाहा पाएँ, त्यो होइन है भनिसकेका छौं,’ मेयर जिसीले भने ।

वरिष्ठ कानुन अधिकृत शर्मा सहमतिमा आफूले हस्ताक्षर गरेको तर मान्य नहुने तर्क गरे । ‘छलफलमा म पुगेको हुँ । हस्ताक्षर पनि गरें तर म कर्मचारी भएकाले यस्तो राजनीतिक कुरामा सहमत हुन नसक्ने पनि भनेको थिएँ,’ शर्माले भने, ‘सहमतिको जुन कागज बाहिर आएको छ । त्यसमा मेरो समर्थन छैन ।’

यसअघि पनि फिर्के खोलामाथि राजनीति चल्दै आएको छ । कहिले यसको मापदण्ड १० मिटर त कहिले ५ मिटर भनेर महानगरले योजना पनि ल्याएको थियो । फिर्के खोलाको मापदण्डमा ५ मिटर रेखांकन गरी फुटट््याक निर्माण गर्ने महानगरको योजना अहिले पनि योजनामै सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment