५ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले २१ महिनामा सरकारका २१ असफलता भनी सार्वजनिक गरेको विवरणलाई उपनिर्वाचनमा जाल हालेको भन्दै सरकारका प्रवक्ताले उल्टै कांग्रेसमाथि प्रश्न वर्षाएका छन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेस जवानी सम्झेर धुरुधुरु रुन थालेको टिप्पणी गरे ।
‘कांग्रेसले आजसम्म आरोप लाउन पाएको थिएन । अहिले आरोप लाउने ठाउँमा पुगेको छ र आफ्नै जवानी सम्झेर सत्ता गएको पीडामा धुरुधरु रुनुपर्ने अवस्थामा पुगेको छ । आजसम्म कांग्रेसले के गर्यो ?’ उनले भने ‘प्रश्न उसैतिर जनताले गरेका छन् । यी आरोप भनेका उपनिर्वाचनमा जाल हाल्न सकिन्छ भनेर लगाएका हुन् ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दिनअघि उपनिर्वाचनको घोषणापत्र जारी गर्दै कम्युनिस्ट पार्टीको सरकारका २१ महिनाका २१ असफलताको सूची पेश गरेका थिए । मन्त्री बास्कोटाले कांग्रेसलाई २९ वर्षमा असफलताका २९ वटा आरोप लगाउन सकिने बताए ।
बास्कोटाले कांग्रेस इटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेका व्यक्तिलाई कारवाही गर्न डराएको टिप्पणी गरे ।
‘बालुवाटारको सरकारी जग्गा लोकतन्त्रका लागि योगदान गरेको भन्दै सुवर्ण शमसेरका परिवारको नाममा अंशबण्डा जसरी कसले दिएको हो ? ३३ किलो सुन कसको पालाको घटना हो र सुन तस्करीको जाला कसले तोड्यो ? आफ्नै बहुमतको सरकार ढालेर राजनीतिक अस्थिरताको शुरुवात नेकपाले गरेको हो ? सरकारी उद्योगधन्दा कसका पालामा खरानी बनाइयो ?’ मन्त्री बास्कोटाले सोधे ।
कांग्रेसले बहुदल आएपछिको सरकारमार्फत व्यक्तिको नाममा गरेको बालुवाटारको १५७ रोपनी जग्गा नेकपा सरकारले फिर्ता ल्याउने प्रक्रिया चलाइरहेको मन्त्री बास्कोटाले बताए । उनले लाउडा, धमिजा हुँदै वाइडबडी विमान घोटालासम्मका प्रकरणमा कांग्रेसनै संलग्न रहेको आरोपसमेत लगाए ।
मन्त्री बास्कोटाले २९ वर्षको अवधिमा अधिकांश समय सरकार चलाएको कांग्रेसले स्थापित गरेका बेथितीबाट मुलुकलाई मुक्त गर्न नेकपा सरकारलाई समय लागेको बताए ।
मन्त्री बास्कोटाले कांग्रेसको चरित्र आफ्नो हात माथि पर्दा तरबार बोक्ने र हात तल पर्दा म्याउँ गर्ने खालको रहेको टिप्पणी गरे ।
अन्तिममा प्रवक्ता बास्कोटाले कांग्रेस प्रवक्ता शर्मालाई आग्रह गरे ‘कांग्रेसका प्रवक्तालाई मेरो आग्रह छ, तपाई आलमबारे बोल्नुहोस् । अपराध गर्नेलाई अहिलेसम्म किन पार्टीबाट बर्खास्त गर्नुहुन्न ? नेकपाले आफ्ना मान्छे जोगाउन खोजेको छ ? छ भने भन्नुस् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4