Comments Add Comment

पशुपतिमा थपिए ब्याट्रीबाट चल्ने दुईवटा गाडी

अशक्त र जेष्ठ नागरिकले निःशुल्क प्रयोग गर्न पाउने

इण्डियन वमन्स एसोसियसनकी अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई गाडीको साँचो हस्तान्तरण गर्दै ।

११ मंसिर, काठमाडौं । पशुपति मन्दिरको दर्शनार्थीको सेवाका लागि दुई वटा गाडी थपिएको छ । बुधबारबाट ६-६ सिट क्षमताका दुई वटा ‘इलेक्टि्रक भ्यान’ थपिएका हुन् ।

इण्डियन वमन्स एसोसियसनले ब्याट्रीबाट चल्ने दुईवटा गाडी बुधबार सहयोग गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

यसअघि कोषले ब्याट्रीबाट नै चल्ने दुई वटा गाडी प्रयोग गर्दै आएको थियो । ती गाडीहरु लक्ष्मी बैंकले सहयोग गरेको थियो । इण्डियन वमन्स एसोसियसनले पनि सहयोग गरेपछि पशुपति क्षेत्रमा ब्याट्रीबाट चल्ने गाडीहरुको संख्या अब चार पुगेको छ ।

इलेक्ट्रिक भ्यानहरु पशुपति दर्शन गर्न आउने अशक्त तथा जेष्ठ नागरिकहरुले निशुल्क प्रयोग गर्न पाउँछन् । ‘अशक्त र जेष्ठ नागरिकहरुले पार्किङस्थलदेखि पशुपति मन्दिरको दक्षिण गेटसम्म ती गाडीहरु निःशुल्क प्रयोग गर्न पाउँछन्,’ सदस्य सचिव डा. ढकालले भने ।

गाडी नहुँदासम्म अशक्त र जेष्ठ नागरिकहरुलाई ह्वीलचेयरको व्यवस्था थियो । तर, ह्वीलचेयरबाट मात्र सम्भव नभएपछि गाडी नै चलाउन थालिएको हो ।

ब्याट्रीबाट चल्ने साना गाडीहरु अरु पनि थप्ने योजना रहेको कोषका सदस्य सचिव ढकालले बताए । ‘यस्ता गाडीहरु अरु पनि थप्ने योजना छ । कोष आफैंले किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ,’ सदस्य सचिव ढकालले भने ।

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा ठूला गाडीहरु र मोटरसाइकल भने प्रवेश निषेध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment